विमलकुमार दाहाल
माई ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) को ३३औं वार्षिक साधारणसभा सेवाकेन्द्रगत रूपमा सम्पन्न हुँदै छ। मेची क्षेत्रअन्तर्गतका विभिन्न सेवाकेन्द्रमा मंसिर ११ गतेदेखि सुरु भएको साधारणसभा चरणबद्ध रूपमा मंसिर १७ गतेसम्म चल्नेछ। साधारणसभाको अन्तिम माइन्युट प्रमाणीकरण भने मंसिर २० गते बिर्तामोडमा हुनेछ।
कार्यक्षूचीअनुसार मंसिर १२ मा इलाम, १३ मा बिर्ता–अर्जुन, १४ मा मोरङ, १५ मा कन्काई–रतुवा (क), १६ मा भद्रपुर–केचना र १७ मा कन्काई–रतुवा (ख) क्षेत्रका सेवाकेन्द्रमा वार्षिक साधारणसभा सम्पन्न गरिनेछ।
इलाम, मोरङ र झापाका ५९ सेवाकेन्द्रमार्फत सेवा सञ्चालन गर्दै आएको एनएमसीले दानाबारीसहित बिर्ता–अर्जुन क्षेत्रअन्तर्गतका केन्द्रमा शनिबार साधारणसभा सम्पन्न गरेको हो। दानाबारीमा सम्पन्न साधारणसभाले सञ्चालक समिति, लेखा सुपरीवेक्षण, वार्षिक तथा लेखापरीक्षण प्रतिवेदन, लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, विनियम संशोधन, २०८२/०८३ का लागि वार्षिक बजेट तथा कार्यक्रमलगायतका प्रस्ताव पारित गरेको छ।
मेचीनगर–६ काँकरभिट्टा मुख्य कार्यालय रहेको एनएमसीले वित्तीय सेवा, डेरी, एकीकृत कृषि फार्म, सहकारी पसल र चिया व्यवसाय सञ्चालन गरिरहेको छ।
माई–२ का वडाध्यक्ष उर्दबहादुर राईको प्रमुख आतिथ्यमा सम्पन्न दानाबारी साधारणसभामा संस्थाको २०५० सालदेखि अहिलेसम्मको विकासक्रम, सदस्य तथा सामुदायिक हितमा संस्थाले खेलेको भूमिकाबारे जानकारी गराइएको थियो। दानाबारी सेवाकेन्द्रमा एक हजार ३०० सदस्य छन् भने संस्थाको कुल सदस्य संख्या एक लाख ६६ हजार रहेको दानाबारी सेवाकेन्द्र प्रमुख निरोज कार्कीले बताए।
संस्थाको हालको वित्तीय विवरणअनुसार शेयर पुँजी १ अर्ब ४४ करोड ९० लाख ८० हजार रुपैयाँ छ। निक्षेप ११ अर्ब ४० करोड ९० लाख ९८ हजार, कर्जा लगानी ११ अर्ब १५ करोड ७१ लाख २५ हजार र उठ्न बाँकी व्याज १२ करोड ४० लाख ८१ हजार रुपैयाँ रहेको पनि साधारणसभामा जानकारी दिइयो।
‘असल संस्कार र समृद्धिका लागि एनएमसी’ भन्ने मूल मन्त्रसहित सम्पन्न साधारणसभा सेवाकेन्द्र संयोजक यदुनाथ दुलालको अध्यक्षतामा भएको थियो। स्वागत दानाबारी सेवाकेन्द्र प्रमुख निरोज कार्कीले गरेका थिए भने कार्यक्रम सञ्चालन कन्काई–रतुवा (ख) क्षेत्रीय प्रमुख कमल प्रसाद कट्टेलले गरेका थिए।
साधारणसभामा प्रमुख अतिथि राईसहित केन्द्रीय सञ्चालक समिति सचिव विकास प्रसाद उप्रेती, कुन्तादेवी खनाल, मानव संसाधन विभाग प्रमुखलगायतका अतिथीले सहकारीको भूमिका र आगामी योजना विषयमा धारणा राखेका थिए।
कार्यक्रममा समाजसेवी शिव भण्डारी, चक्रबहादुर कटुवाल, उर्वशी गौतम, साजन लिङ्देन, विमल दहाललगायतको उपस्थिति थियो। सहभागीहरू ठाकुरप्रसाद खाती, गोपाल कटुवाल र मनमाया तामाङले विषयवस्तुमाथि सुझाव एवं टिप्पणी गरेका थिए।
अन्तिम माइन्युट प्रमाणीकरणका लागि मंसिर २० गते बिर्तामोडमा हुने सभामा प्रतिनिधिका रूपमा राधा तामाङ, चक्रबहादुर कटुवाल र गीता ढुंगाना छनोट भएका छन्।





























