गोठमा आगलागी हुँदा गर्भवती गाईको जलेर मृत्यु, आठ लाख बराबरको धनमाल नष्ट

0
39

झापा । झापा दमक नगरपालिका–१० सगरमाथा टोलमा आज आगलागी हुँदा एक गर्भवती गाईको मृत्यु भएको छ।
घर नजिकै खेतबारीमा धानको लारमा आगो लगाउने क्रममा आगो फैलिँदा गोठमा समेत सल्किएर ठूलो क्षति भएको प्रहरीले जनाएको छ।

घर नजिकै खेतमा पराल बाध्दै गरेका स्थानीय केशव भण्डारीले लारमा आगो लगाइदिएपछि तीव्र हावाका कारण आगो फैलिँदै नजिकैको परालको कुन्यु र गाईगोठमा आगो पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आगोले ईट्टाको गारो र टिन छाना भएको दुईवटा गाईगोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन्। गोठभित्र रहेको एउटा गर्भवती गाई जलेर मृत्यु भएको छ भने अर्को एक गाई घाइते भएको प्रहरीले जनाएको छ।

त्यसैगरी गोठमा राखिएका काठपात, भाडावर्तन, अन्नपात र गोठसम्बन्धी सामग्री जलेर नष्ट भएको छ। आगलागीबाट करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

आगलागी नेपाल प्रहरी, स्थानीयवासी, उर्लाबारी नगरपालिकाको दमकल र कमल गाउँपालिकाको दमकलको सहकार्यमा नियन्त्रणमा लिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here