झापा–१ : प्रतिनिधि सभा निर्वाचनमा काँग्रेसका युवा उम्मेदवार केशवराज पाण्डेको लक्ष्य – दिगो विकास र युवा स्वरोजगार

0
24

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि झापा क्षेत्र नं. १ मा १ लाख ३१ हजारभन्दा बढी मतदाता र ४५ वटा मतदान स्थल तयार गरिएको छ । यस क्षेत्रबाट नेपाली काँग्रेसले युवा नेता केशवराज पाण्डेलाई उम्मेदवार बनाएको छ । 
पाण्डे झापाको ज्यामिरगढी गाउँपालिका वडा नम्बर ८ मा जन्मिएका हुन् । उनले आफ्नो प्रारम्भिक शिक्षा अरनिको स्कूलबाट पाए र त्यसपछि कक्षा ४ देखि काँकरभिट्टा मावि र कनकाई क्याम्पस बिर्तामोडमा माध्यमिक शिक्षा पूरा गरे ।
पाण्डे मध्यमवर्गीय परिवारमा हुर्किएका हुन् र सानैदेखि राजनीतिमा सक्रिय रहे । २०४९ सालमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति बनेपछि राजनीति र सामाजिक क्षेत्रमा सक्रियता सुरु गरेका उनले ४६–४७ को जनआन्दोलनमा पनि सहभागिता जनाएका थिए ।
राजनीतिसँगै व्यवसायमा पनि सक्रिय रहेकाले पाण्डे २०५२ सालदेखि आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन् । नेपाली काँग्रेसको ११ औँ, १२ औँ महाधिवेशनमा प्रतिनिधि, १३ औँ महाधिवेशनमा महासमिति सदस्य र १४ औँ महाधिवेशनमा फेरि महासमिति सदस्य बनेका पाण्डे पार्टीमा विभिन्न जिम्मेवारीमा अनुभव हासिल गर्दै आएका छन् ।
पाण्डेले झापा क्षेत्र नं. १ को भौगोलिक र सामाजिक परिस्थितिबारे गहिरो बुझाइ राखेका छन् । उनका अनुसार क्षेत्रको मुख्य समस्या सुकुम्बासी समस्या, हात्तीको आक्रमण र मेची नदीको कटान हुन् । ‘यी समस्याहरू समाधान नगरी यहाँको विकास सम्भव छैन,’ पाण्डेले भने ।
सुकुम्बासीहरूको लालपूर्जा सुनिश्चित गर्नु, हात्तीको स्थायी समाधान निकाल्नु र नदीको तटबन्ध निर्माण गर्न सरकार र स्थानीय निकायसँग समन्वय आवश्यक रहेको उनको भनाइ छ ।
युवाहरूका लागि रोजगारी सिर्जना र उद्यमशीलताको विकासमा पनि पाण्डेले जोड दिएका छन् । उनले कृषि आधुनिकीकरण, साना र मझौला उद्योग प्रोत्साहन, ड्राइपोर्ट सञ्चालन र अन्तर्राष्ट्रिय व्यापार विस्तारमार्फत युवाहरूलाई रोजगारी उपलब्ध गराउने योजना अघि सारेका छन् ।
उनले आफ्नो चुनावी एजेण्डा दिगो विकास, सुकुम्बासी समस्या समाधान र युवा स्वरोजगारमा केन्द्रित रहेको स्पष्ट पारे । पाण्डे भन्छन्, ‘म यहाँको रैथाने मान्छे हुँ । यस क्षेत्रको माटो र समस्यामा मेरो अनुभव छ । म बोलेर नभई काम गरेर देखाउने व्यक्ति हु। ’
स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि पाण्डेले निःशुल्क शिक्षा र स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकतामा राखेका छन् । ‘जनताको उपचार अभावमा मृत्यु हुनु हुँदैन । शिक्षा र स्वास्थ्य सबैको पहुँचमा हुनुपर्छ,’ उनले भने ।
पाण्डेले मतदातालाई आफ्नो नीति, एजेन्डा र क्षेत्रको भौगोलिक–सामाजिक आवश्यकता बुझेर भोट दिन अपिल गर्दै भने, ‘सुकुम्बासी समस्या, उद्योग धन्दा विस्तार, कृषि उद्यमशीलता, लगानीमैत्री वातावरण र युवाहरूको अवसर सिर्जनामा केन्द्रित भएर जनताको विश्वास जित्ने लक्ष्य राखेको छु।’
झापा क्षेत्र नं. १ मा यो निर्वाचन युवा नेतृत्व र विकासमूलक एजेण्डाको भिडन्तको रूपमा देखिएको छ ।
पाण्डेको अभियानले क्षेत्रीय जनताको जीवनस्तर सुधार, आधारभूत पूर्वाधार विकास र युवाहरूमाझ रोजगारी सृजना गर्ने लक्ष्य राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here