झापा, अर्जुनधारा नगरपालिका–११ स्थित क्षितिज महिला विकास सुधार केन्द्रमा राखिएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शिवसताक्षी नगरपालिका–१० माइधार बस्ने ३२ वर्षीया सुष्मा लिम्बु फागुन ३ गतेदेखि सुधार केन्द्रमा राखिएकी थिइन्। उनलाई मदिरा सेवनका कारण परिवारले सुधार केन्द्रमा राखेको बताइएको छ।
मंगलबार बिहान करिब ९ः१५ बजे अचानक पेट दुखेपछि उनलाई उपचारका लागि बी एण्ड सी अस्पताल लगिएको थियो। उनको उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको अस्पताल स्रोतले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनी बाट प्रहरी निरीक्षक रुपेश राईको कमाण्डमा टोली खटिएको थियो।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ। कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि गएराति नै प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।






























