झापा ।

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन १३ दिन मात्रै बाँकी रहँदा उम्मेदवारहरु मतदाताको चौतर्फी प्रश्नको घेरामा पर्न थालेका छन् ।
मतदाताहरुले आक्रोश ब्यक्त गर्दै किन मत दिने भनेर प्रश्न खडा गर्न थालेका छन् । यसैक्रममा बिहीबार झापाको क्षेत्र नम्बर–२ का उम्मेद्वारहरुमाथि मतदाताहरुले प्रश्नको वर्षा नै गरे । न्यूज २४ टेलिभिजनले आयोजना गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित झापा क्षेत्र नम्बर–२ को चुनावी बहस कार्यक्रममा मतदाताले किन मत दिने भन्दै उम्मेदवारलाई ¥याख¥याक्ती पारेका थिए ।
विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू एउटै मञ्चमा उभिएर आफ्ना एजेन्डा प्रस्तुत गर्दै बहसमा सहभागी भएका थिए । कार्यक्रममा नेकपा एमालेका उम्मेदवार पूर्व सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसकी उम्मेदवार पूर्व राज्यमन्त्री सरिता प्रसाईं, नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार संविधानसभा सदस्य धर्मशिला चापागाँईं, राप्रपाका उम्मेदवार अधिवक्ता स्वागत नेपाल, श्रम संस्कृति पार्टीका उम्मेदवार युवा अभियन्ता केशव भण्डारी, नेकपा माओवादीका उम्मेदवार अर्जुन पाण्डे, उज्यालो नेपालका उम्मेदवार क्याप्टेन सीके बेघा, जनता समाजवादी पार्टीका उम्मेदवार अभिषेक राई तथा स्वतन्त्र उम्मेदवार डा. युवराज संग्रौलाको सहभागिता थियो ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार तथा पूर्व उपसभामुख इन्दिरा राना मगर अनुपस्थित थिइन् । बहसका क्रममा राप्रपाका उम्मेदवार नेपालले पुराना दलहरूले गणतन्त्रको नाममा देश बेचेको आरोप लगाउँदै वर्तमान संविधान खारेज गरी राजतन्त्र पुनःस्थापना गर्नुपर्ने धारणा राखेपछि कार्यक्रमको माहोल तातेको थियो । तर, यस अघिको निर्वाचनमा स्वतन्त्र भएको र अहिले राजा बोकेर आएको भन्दै उनलाई मत किन दिने भन्दै मतदाताले प्रश्न गरेका थिए । उनले उन्नत लोकतन्त्र पार्टी के भयो, हिजो राजा नचाहिने अहिले राजा कसरी चाहियो भन्दै सहभागीले प्रश्न गरेका थिए ।
कार्यक्रममा पूर्व सभामुख घिमिरेले राजा र राजतन्त्रको बहस भए आफू कार्यक्रममै नबस्ने चेतावनी दिएपछि केही समय चर्काचर्की भएको थियो । यस क्रममा धर्मशिला चापागाँईं र सरिता प्रसाईंले घिमिरेको पक्ष लिएका थिए । कार्यक्रमस्थल बाहिर राजावादी र गणतन्त्रवादी समर्थकबीच समेत होहल्ला भएको थियो ।
पत्रकार विजय पौडेलले सञ्चालन गरेको कार्यक्रममा गिरीबन्धु टी–इस्टेट (बिर्तामोड नयाँ बसपार्क क्षेत्रको ५१ विगाह जमिन) को मुद्दा प्रवेश गरेसँगै बहस झन् चर्किएको थियो । वर्षौंदेखि स्थानीयले उपभोग गर्दै आएको तथा धनीपुर्जा समेत वितरण भइसकेको उक्त जग्गा अदालतले रोक्का गरेपछि त्यहाँका पीडितहरूले सबै राजनीतिक दल र उम्मेदवारहरूलाई प्रवेश निषेध गरेका छन् ।
पीडितहरूले समस्या समाधान नभएसम्म प्रवेश निषेध गर्ने भन्दै नाराबाजी गरेपछि उपस्थित उम्मेदवारहरूले उक्त विषयलाई आफ्नो चुनावी एजेन्डामा समेट्ने प्रतिबद्धता जनाए । श्रम संस्कृति पार्टीका उम्मेदवार भण्डारीले ५१ बिगाहका पीडितलाई न्याय नदिएसम्म सबै उम्मेदवारले चुनाव बहिष्कार गर्नुपर्ने तर्क प्रस्तुत गरे । बहसमा उम्मेदवारहरूले आफ्ना एजेन्डाभन्दा बढी समय एकअर्कामाथि आरोप–प्रत्यारोपमै खर्चिएका देखिन्थे ।
कार्यक्रममा सहभागी जेन–जी युवाहरूले भदौ २३ र २४ को घटनाको जिम्मेवारी एमाले र कांग्रेसले लिनुपर्ने भन्दै आक्रोश व्यक्त गरे । स्वतन्त्र उम्मेदवार डा. संग्रौला र विप्लव नेतृत्वको माओवादीका उम्मेदवारबाहेक अधिकांश उम्मेदवारले स्पष्ट एजेन्डा प्रस्तुत गर्न नसकेको गुनासो मतदाताको थियो ।
प्रत्यक्ष प्रश्नोत्तर सत्रमा मतदाताहरूले स्थानीय पूर्वाधार विकास, उद्योग स्थापना, रोजगारी तथा सामाजिक सुरक्षा सम्बन्धी प्रश्न उठाएका थिए । कार्यक्रममा सहभागीहरूले यस्ता खुला बहस कार्यक्रम झापा मात्र नभई देशव्यापी रूपमा नियमित हुनुपर्ने आवश्यकता औंल्याए ।































