सुरेन्द्र भण्डारी
झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशका १६५ निर्वाचन क्षेत्रमा दल तथा स्वतन्त्र उम्मेदारहरु चुनावी प्रतिष्पर्धामा छन् ।
निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा झापाको निर्वाचन क्षेत्र नम्वर ५, सर्लाहीको निर्वाचन क्षेत्र नम्वर ४ लगायतका निर्वाचन क्षेत्रलाई मुख्य चर्चाको रुपमा लिइने गरिएको छ ।
तर, यस्तै राष्ट्रिय चर्चा र चासोको निर्वाचन क्षेत्रको रुपमा झापा २ लाई समेत लिने गरिएको छ ।
यस निर्वाचन क्षेत्रमा अघिल्लोपटक संसदमा सभामुख र उपसभामुखको भूमिका निर्वाह गरिसकेका एमालेका देवराज घिमिरे र रास्वपाकी इन्दिरा रानामगर मात्र होइन राष्ट्रियसभाको भूमिका निर्वाह गरिसकेकी कांग्रेस नेतृ सरिता प्रसाई समेत यसै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएर घर दैलो अभियानमा रहेका छन् ।
२०६४ सालमा भएको निर्वाचनमा संघीय संसदको रुपमा नेतृत्व गरेर स्वास्थ्य राज्यमन्त्री समेत भएकी नेपाली कम्युनिष्ट पार्टीकी नेतृ धर्मशीला चापागाँई पनि यसै निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेकी छिन् ।
त्यस्तै अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर कडा टक्कर दिएका भद्रप्रसाद नेपाल ‘स्वागत’पनि यसपटक राप्रपाका तर्फबाट चुनावी मैदानमा उत्रिएका छन् । यस निर्वाचन क्षेत्रबाट १८ जना उम्मेद्वारहरु चुनावी प्रतिष्पर्धामा रहेका छन् ।
हरेक पटक मत परिर्वतन गर्दै आएको यस क्षेत्रले यस पटक के गर्ला भन्ने चासो सर्वत्र छाएको छ । राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्न सक्ने नेताहरु चुनावी मैदानमा उत्रिएपछि झापा २ को चुनावी प्रतिष्पर्धा निक्कै रोचक हुने अनुमान गरिएको छ ।
झापा–२ मा पूर्व सभामुख र उपसभामुख नै आमनेसामने हुनु, पूर्वमन्त्रीहरु तथा राष्ट्रियस्तरका नेताहरू प्रतिस्पर्धामा रहनु र बहुदलीय शक्ति सन्तुलन देखिनु यस क्षेत्रको विशेषता बनेको छ । यो निर्वाचन क्षेत्रमा हेभिवेट उम्मेदवार प्रतिष्पर्धामा रहेकाले राष्ट्रिय राजनीतिमा चर्चा हुने गरेको छ ।
साखको परीक्षा : निर्णायक दौडमा घिमिरे
लामो राजनीतिक यात्रापछि प्रत्यक्ष जनमतबाट स्थापित भएका नेता देवराज घिमिरे अहिले आफ्नो राजनीतिक हैसियत जोगाउने चुनौति सामु उभिएका छन् । एक समय संगठनका पर्दा पछाडिका रणनीतिकार मानिएका उनी अहिले झापा क्षेत्र नम्बर २को चुनावी केन्द्रबिन्दु बनेका छन् ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनले घिमिरेको राजनीतिक जीवनमा निर्णायक मोड ल्यायो । पार्टीभित्र लामो समय काम गरे पनि प्रत्यक्ष निर्वाचनको अवसर नपाएका उनलाई अन्तिम घडीमा टिकट दिइएको थियो । नेतृत्व तहको रणनीतिक निर्णयपछि चुनावी मैदानमा होमिएका घिमिरेले त्यो अवसरलाई जितमा परिणत गर्दै पहिलोपटक जनअनुमोदन प्राप्त गरेका थिए ।
पूर्वी नेपालको कम्युनिष्ट आन्दोलनसँगै राजनीतिक यात्रा शुरु गरेका घिमिरे बिद्यार्थी राजनीति हुँदै संगठन विस्तारको अभियानमा सक्रिय रहे । भूमिगतकालदेखि नै पार्टी निर्माणमा लागेका उनी तेह्रथुम, पाँचथर र इलाम क्षेत्रमा संगठन बिस्तार गर्ने जिम्मेवारी सम्हाल्दै अघि बढेका नेता मानिन्छन् ।
त्रिचन्द्र क्याम्पसमा अध्ययनरत् रहँदा शुरु भएको उनको राजनीतिक सक्रियता क्रमशः केन्द्रीय नेतृत्वसम्म पुग्यो । तत्कालीन माले र माक्र्सवादी धारको एकीकरणपछि बनेको नेकपा एमालेको महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने । करिब पाँच दशक लामो राजनीतिक यात्रापछि मात्रै प्रत्यक्ष चुनावमार्फत संसद प्रवेश गर्नु उनको राजनीतिक जीवनको उल्लेखनीय अध्याय बन्यो ।
अघिल्लो निर्वाचनमा घिमिरेले सहज देखिएको प्रतिस्पर्धामा थोरै मतान्तरसहित बिजय हात पारेका थिए । एमालेको संगठनात्मक पकड, स्थानीय संरचना र पार्टी कार्यकर्ताको परिचालन उनको जितको मुख्य आधार बनेको थियो ।
तर यसपटक समीकरण फरक देखिएको छ । पुराना प्रतिस्पर्धी मात्र होइन यहाँ नयाँ शक्ति र स्वतन्त्र धारका उम्मेदवारहरू चुनावी मैदानमा सक्रिय छन् । विशेषगरी शहरी क्षेत्रमा बढ्दो राजनीतिक विकल्पको खोजीले प्रतिस्पर्धा थप रोचक बनेको छ । युवा मतदाताको मनोबिज्ञान परिवर्तन हुँदै गएको संकेतले परम्परागत दलहरूलाई चुनौति थपिएको छ । सभामुखको जिम्मेवारी सम्हालेपछि घिमिरे राष्ट्रियस्तरमा चिनिएका नेता बने । संसदीय मर्यादा कायम राख्ने शैली, संयमित अभिव्यक्ति र संस्थागत भूमिकाका कारण उनको छवि तुलनात्मक रूपमा शालीन नेताका रूपमा लिइन्छ । यही पहिचानले पार्टीबाहिरका मतदातालाई आकर्षित गर्ने सम्भावना पनि देखिन्छ ।
झापा–२लाई एमालेको परम्परागत बलियो क्षेत्र मानिन्छ । स्थानीय तहको मतपरिणाम र संगठनात्मक संरचना अझै पनि घिमिरेका लागि अनुकूल आधार बनेको छ । विकास आयोजना, पूर्वाधार विस्तार र केन्द्रसँगको पहुँचलाई उनले चुनावी एजेन्डाको रूपमा प्रस्तुत गरिरहेका छन् ।
यद्यपि प्रतिस्पर्धा सहज छैन । नयाँ पुस्ताका मतदाता पुराना नेतृत्वप्रति आलोचनात्मक छन् । वैकल्पिक राजनीति र स्वतन्त्र उम्मेदवारहरूको सक्रियताले स्थापित दलहरूको मत विभाजन हुने स्पष्ट देखिएको छ ।
पार्टीभित्र टिकट वितरणसँग जोडिएका असन्तुष्ट स्वरहरू पनि व्यवस्थापन गर्नुपर्ने अवस्था घिमिरेका लागि अर्को चुनौति बनेको छ । संगठन मजबुत भए पनि मतदाताको मनोविज्ञान परिवर्तनशील रहेकाले परम्परागत ‘क्याडर भोट’ मात्रै पर्याप्त नहुन सक्ने आँकलन गरिन्छ । घिमिरेलाई संगठन निर्माणमा खटिने नेताका रूपमा चिनिन्छ । नेतृत्वभन्दा संरचना बलियो बनाउने राजनीतिमा उनी लामो समय सक्रिय रहे । पाँच दशकको राजनीतिमा सार्वजनिक चर्चाभन्दा संगठनात्मक भूमिकामा बढी देखिएका उनी सभामुख बनेपछि मात्रै राष्ट्रिय चर्चामा उक्लिए ।
इन्दिराका लागि‘पहिलो प्रत्यक्ष परीक्षा’
तीन दशकभन्दा बढी समय समाजसेवामा बिताएकी इन्दिरा रानामगर यतिबेला नयाँ राजनीतिक मोडमा उभिएकी छन् । समानुपातिक सांसद हुँदै प्रतिनिधिसभाको उपसभामुखसम्मको यात्रा तय गरेकी उनी अहिले पहिलोपटक प्रत्यक्ष निर्वाचनको प्रतिस्पर्धामा उत्रिएकी हुन् ।
झापाको अर्जुनधारामा सामान्य परिवारमा जन्मिएकी इन्दिराको जीवन प्रारम्भिक रूपमा संघर्षपूर्ण रह्यो । ढिलो उमेरमा विद्यालय शिक्षा शुरु गरेकी उनले समाजशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेकी छन् । बिद्यार्थी जीवनमै मानवअधिकार र सामाजिक न्यायप्रति आकर्षित भएकी उनको जीवनदिशा समाजसेवातर्फ मोडिएको थियो ।
काठमाडौंमा अध्ययनका क्रममा साहित्यकार पारिजातसँगको निकटता उनको जीवनको निर्णायक मोड बन्यो । मानवअधिकार सम्बन्धी गतिविधिमा स्वयम्सेवकका रूपमा संलग्न हुँदै कारागार भ्रमण गर्दा कैदीबन्दीका सन्तानहरूको दयनीय अवस्था देखेपछि उनले जीवनको लक्ष्य नै परिवर्तन गरिन् ।
राजनीतिमा आउनुअघि इन्दिराले ‘बन्दी सहायता नेपाल’ स्थापना गरेर जेल सजाय भोगिरहेका महिलाका सन्तानलाई संरक्षण, शिक्षा र सुरक्षित बाल्यकाल उपलब्ध गराउने अभियान शुरु गरिन् । सानो भाडाको घरबाट शुरू भएको प्रयास विस्तार हुँदै विभिन्न जिल्लामा बाल संरक्षणगृह सञ्चालनसम्म पुगेको छ ।
उनले तीन दशकको अवधिमा सयौं बालबालिकालाई संरक्षण र शिक्षाको अवसर दिलाएको दाबी गरिन्छ । बालअधिकार क्षेत्रमा गरेको कामले उनलाई अन्तर्राष्ट्रियस्तरमै चिनायो । विभिन्न अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरेपछि उनी सामाजिक क्षेत्रमा चिनिएको नाम बनिन् ।
कोभिड महामारीका बेला रोजगारी गुमाएका र भोकमरीको जोखिममा परेका नागरिकलाई राहत तथा भोजन वितरण अभियान सञ्चालन गरेर पनि उनी चर्चामा आएकी थिइन् ।
लामो समय कुनै दलसँग औपचारिक आबद्ध नरहेकी इन्दिरा नयाँ राजनीतिक शक्तिको उदयसँगै सक्रिय राजनीतिमा प्रवेश गरिन् । छोटो समयमै समानुपातिक सांसद बनेकी उनलाई प्रतिनिधिसभाको उपसभामुख पदको जिम्मेवारी समेत प्राप्त भयो ।
संसदीय नेतृत्वको अनुभवले उनलाई राष्ट्रिय राजनीतिक वृत्तमा स्थापित गराए पनि कार्यकाल विवादरहीत भने रहेन । बिदेशी कुटनीतिक नियोगसँग सम्बन्धित पत्राचार प्रकरण सार्वजनिक भएपछि पदीय मर्यादा र आचरणबारे प्रश्न उठ्यो । आलोचना भए पनि औपचारिक कारबाहीको प्रक्रिया अघि बढ्ने आधार र प्रमाणहरु जुट्न सकेन ।
इन्दिराको राजनीतिक छवि परम्परागत नेताभन्दा फरक मानिन्छ । सामाजिक आन्दोलनबाट आएको पृष्ठभूमिले उनलाई ‘ग्रासरुट’ समस्या बुझ्ने नेताका रूपमा चिनाएको छ । मनमा लागेको कुरा खुला रूपमा व्यक्त गर्ने शैलीले उनका समर्थक र आलोचक दुवै छन् ।
भावनात्मक प्रतिक्रिया दिने स्वभावका कारण कहिलेकाहीँ विवाद पनि निम्तिएको छ, तर यही कारण उनले जनतासँग प्रत्यक्ष सम्बन्ध कायम गरेको विश्लेषण गरिन्छ । उनको मूल जीवन दर्शन ‘सेवा नै धर्म’ भन्ने रहेको बताइन्छ ।
समानुपातिक प्रणालीमार्फत संसद पुगेकी इन्दिराका लागि यो निर्वाचन व्यक्तिगत र राजनीतिक दुवै हिसाबले महत्वपूर्ण परीक्षा मानिएको छ । समाजसेवाबाट कमाएको छवि मतमा रूपान्तरण गर्न सक्ने वा नसक्ने भन्ने प्रश्न अहिलेको मुख्य बहस बनेको छ ।
जीवनका पाँच दशक पार गरिसकेकी उनी सेवा अभियानबाट प्राप्त अनुभवलाई राजनीतिक नेतृत्वमा रूपान्तरण गर्ने दाबी गरिरहेकी छन् । अब मतदाताले समाजसेवी इन्दिरालाई राजनीतिक प्रतिनिधिका रूपमा स्वीकार गर्ने कि नगर्ने भन्ने निर्णय भने मतपेटिकाबाटै आउनेछ ।
पूर्वसभामुख–उपसभामुखलाई टक्कर दिँदै सरिता
लामो समय समानुपातिक राजनीतिमा सक्रिय रहेकी नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईं पहिलोपटक प्रत्यक्ष निर्वाचनको मैदानमा उत्रिएकी छन् । झापा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी प्रसाईंका लागि यो चुनाव व्यक्तिगत राजनीतिक यात्रा मात्रै होइन, पार्टीको उपस्थितिलाई पुनःस्थापित गर्ने चुनौति समेत बनेको छ ।
दुईपटक संसद प्रवेश गरिसकेकी उनी यसपटक प्रत्यक्ष मतबाट जनादेश खोज्दैछिन् । तर, उनको यात्रा भने सहज छैन । निर्वाचन क्षेत्रमा विघटित प्रतिनिधिसभाका सभामुख र उपसभामुख समेत प्रतिस्पर्धी बनेपछि झापा–२ राष्ट्रिय चासोको केन्द्र बनेको छ ।
वि.सं. २०२४ साउन १० गते जन्मिएकी प्रसाईं बिद्यार्थी राजनीतिबाटै सार्वजनिक जीवनमा प्रवेश गरेकी हुन् । पञ्चायतकालीन राजनीतिक वातावरणमै नेविसंघमार्फत सक्रिय राजनीति थालेकी उनले पछि तरुण दल हुँदै कांग्रेसको केन्द्रीय संरचनासम्मको यात्रा तय गरिन् ।
मेची बहुमुखी क्याम्पसकी पूर्वबिद्यार्थी प्रसाईंले स्नातक तहसम्म अध्ययन गरेकी छन् । संगठनात्मक राजनीतिमा सक्रियताकै आधारमा उनी २०६० सालमा तरुण दलको केन्द्रीय सदस्य बनेकी थिइन् । उनको संसदीय यात्रा दोस्रो संविधानसभा निर्वाचनबाट शुरु भएको थियो । त्यसयता राष्ट्रियसभा सदस्य, प्रमुख सचेतक तथा कृषि राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै उनले संघीय राजनीतिमा निरन्तर उपस्थिति जनाइन् ।
समानुपातिक सांसद बनेर प्रतिनिधिसभामा पुगेकी उनी पार्टीभित्र वैकल्पिक धारबाट अघि बढेकी नेतृका रूपमा चिनिन्छिन् । कांग्रेसको १३औँ र १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएपछि उनको राजनीतिक उचाइ थप बिस्तार भएको मानिन्छ ।
झापाको बुद्धशान्ति गाउँपालिकाकी स्थायी बासिन्दा प्रसाईं जिल्ला संरचनामा लामो समय नबसे पनि केन्द्रीय राजनीतिमा स्थापित हुन सफल नेतृका रूपमा हेरिन्छिन् । कूल १८ उम्मेदवार प्रतिस्पर्धामा रहेको यस क्षेत्रमा अघिल्लो निर्वाचनको मतपरिणाम हेर्दा एमाले अग्रस्थानमा देखिएको थियो ।
यही पृष्ठभूमिमा प्रसाईंको उम्मेदवारीलाई कांग्रेसले संगठन पुनर्जीवनको प्रयासका रूपमा पनि हेरेको छ । पार्टीका स्थानीय नेताहरूका अनुसार यसपटक कार्यकर्तापंक्ति एकताबद्ध भएर चुनावी अभियानमा जुटेको दावी गरिएको छ ।
चुनावी अभियानमा प्रसाईंले विकासको बहसलाई व्यवहारिक योजनासँग जोड्ने प्रयास गरिरहेकी छन् । खोक्रा नाराभन्दा परिणाममुखी नेतृत्व आवश्यक रहेको उनको भनाइ छ । उनले मतदातासँगको भेटघाटमा रोजगारी, युवाको अवसर, स्थानीय पूर्वाधार र सुशासनलाई प्राथमिक एजेन्डा बनाएकी छन् । नेतृत्व छनोट गर्दा नाम र हल्लाभन्दा काम गर्ने क्षमता र इमानदारी हेर्नुपर्छ– भन्ने उनको चुनावी सन्देश रहेको छ ।
पहिलो प्रत्यक्ष परीक्षा
समानुपातिक प्रणालीबाट संसद् पुगेकी प्रसाईंका लागि झापा–२को निर्वाचन राजनीतिक जीवनको नयाँ अध्याय बनेको छ ।
अनुभवी र चर्चित प्रतिस्पर्धीबीच उनी आफ्नो संसदीय अनुभवलाई प्रत्यक्ष जनमतमा रूपान्तरण गर्न सक्छिन् कि सक्दिनन् भन्ने चासो बढेको छ । अब प्रश्न एउटै छ– सांसदको अनुभव बोकेकी नेतृलाई मतदाताले प्रत्यक्ष प्रतिनिधिका रूपमा विश्वास गर्नेछन् कि शक्ति सन्तुलन पुरानै ध्रुवमै रहनेछ ?
जनयुद्धदेखि मन्त्री हुँदै चुनावी मैदानमा धर्मशीला
भूमिगत सशस्त्र आन्दोलनको कठोर राजनीतिक वातावरणबाट अघि बढ्दै संसदीय राजनीतिसम्म पुगेकी धर्मशीला चापागाँईं फेरि एकपटक प्रत्यक्ष निर्वाचनको मैदानमा उत्रिएकी छन् । संगठन, संघर्ष र संसदीय अनुभवको मिश्रण बोकेकी उनी यसपटक झापा क्षेत्र नम्बर–२बाट उम्मेदवार बनेर मतदातामाझ पुगेकी हुन् ।
पूर्वी नेपालमा माओवादी आन्दोलन सक्रिय रहेका समयमै राजनीतिमा होमिएकी चापागाँईंले प्रारम्भदेखि नै राजनीतिलाई व्यक्तिगत लाभभन्दा सामाजिक रूपान्तरणको माध्यमका रूपमा लिएको बताइन्छ । स्थानीय स्तरबाट संगठन निर्माण गर्दै अघि बढेकी उनी पार्टी संरचनाभित्रैबाट नेतृत्वमा स्थापित भएकी नेतृ मानिन्छिन् ।
उनको राजनीतिक यात्रा निर्णायक मोडमा पुगेको थियो २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा । तत्कालीन झापा–४ बाट उम्मेदवारी दिँदै नेपाली कांग्रेसका उम्मेद्वार तथा कोशी प्रदेश सरकारका पूर्व मुख्य मन्त्री उद्धव थापालाई हराउँदै उनी राष्ट्रिय राजनीतिक वृत्तमा चर्चित बनिन् ।
त्यसपछि पनि सक्रिय राजनीति निरन्तर जारी रह्यो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीमार्फत संघीय संसद् सदस्य बनेपछि उनले नीति निर्माण, सामाजिक न्याय, महिला अधिकार र सीमान्तकृत समुदायका सवालमा आवाज उठाउँदै संसदीय भूमिका निर्वाह गरिन् ।
संसदीय अनुभवसँगै २०७५ सालमा झापा जिल्ला समन्वय समितिको सदस्यका रूपमा काम गर्दै उनले संघीय संरचना र स्थानीय तहबीच समन्वयको जिम्मेवारी पनि सम्हालेकी थिइन् । धर्मशीलालाई संगठनमा हुर्किएको नेतृका रूपमा चिनिन्छ । लामो समय पार्टी संरचनामा काम गरेकाले कार्यकर्ता व्यवस्थापन, संगठन विस्तार र राजनीतिक सन्तुलन कायम गर्ने क्षमतामा उनी अब्बल रहेको निकटवर्तीहरूको बुझाइ छ ।
उनको राजनीतिक शैलीमा केही विशेषता देखिन्छन् । जसमा अनुशासित र संगठन केन्द्रित कार्यशैली, जनतासँग प्रत्यक्ष सम्पर्क कायम गर्ने प्रवृत्ति, मुद्दामा केन्द्रित र स्पष्ट अभिव्यक्ति, सरल जीवनशैली र सहज पहुँच । कार्यकारी पदभन्दा नीति निर्माण र संगठन सुदृढीकरणलाई प्राथमिकता दिने नेतृका रूपमा उनी परिचित छिन् ।
अनुभव, संगठन र आन्दोलनको पृष्ठभूमि बोकेकी चापागाँईका लागि यो निर्वाचन पुनः जनमत परीक्षणको अवसर बनेको विश्लेषण गरिन्छ । जनयुद्धकालीन संघर्षबाट खारिँदै संसद्सम्म पुगेकी धर्मशीला चापागाईंले लामो राजनीतिक यात्रामा संगठन र नीति राजनीतिलाई प्राथमिकता दिँदै आएकी छन् ।
तर, प्रश्न यतिबेला एउटै छ– संघर्ष र संगठनको अनुभवलाई मतदाताले पुनः अनुमोदन गर्छन् कि नयाँ राजनीतिक धारतर्फ झुक्छ ?
































