विद्यालय सञ्चालनको माग गर्दै गाउँपालिकालाई ज्ञापन

0
1

झापा , नयाँ शैक्षिक सत्र सुरु हुन अझै केही दिन बाँकी रहँदा झापाको बाह्रदशी गाउँपालिकामा अभिभावक, विद्यालय सञ्चालक र स्थानीय सरकारबीच ‘विद्यालय खोल्ने कि नखोल्ने’ बहस चर्किएको छ ।

यो बहस केवल प्रशासनिक निर्णयको विषय मात्र नभई विद्यार्थीको सिकाइ निरन्तरता, व्यवहारिक विकास र मनोसामाजिक अवस्थासँग प्रत्यक्ष जोडिएसंगै बहस चर्किएको हो ।

संघीय सरकारको निर्णय अनुसार वैशाख १५ गतेबाट शैक्षिक सत्र सुरु हुने र वैशाख २१ गतेदेखि मात्र नियमित पठनपाठन सञ्चालन गर्ने तालिका तय गरिएको छ ।

मन्त्रिपरिषद्को गत चैत २२ गतेको निर्णयअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था सहित नयाँ शैक्षिक सत्रको ढाँचा परिमार्जन गरिएको थियो । सोही निर्णय कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका स्थानीय तह र विद्यालयलाई परिपत्र गर्दै निर्धारित मितिभन्दा अघि औपचारिक पठनपाठन नगर्न निर्देशन दिएको छ ।

केन्द्रले यसबीचको अवधिलाई विद्यालय व्यवस्थापनका लागि उपयोग गर्न सुझाएको छ–वार्षिक कार्यतालिका निर्माण, विद्यालय सुधार योजना अद्यावधिक, शिक्षकको पेशागत क्षमता विकास, तथा शैक्षिक गुणस्तर अभिवृद्धिका तयारी जस्ता गतिविधिमा केन्द्रित हुन आग्रह गरिएको छ ।

लामो समय विद्यालय बन्द रहँदा विद्यार्थीहरू घरमै सीमित भएका छन् । अभिभावकहरूका अनुसार यसले बालबालिकाको दैनिक जीवनशैलीमा नकारात्मक प्रभाव पार्न थालेको छ ।

मोबाइल, टेलिभिजन र अन्य डिजिटल उपकरणमा अत्यधिक समय बिताउने प्रवृत्ति बढ्दै गएको भन्दै अभिभावकले समेत चिन्ता व्यक्त गर्न थालेका छन् । बालबालिकामा पढाइप्रति रुचि घट्दै गएको देखिन्छ,” एक अभिभावकले गुनासो गरे ।

अभिभावको गुनासो आएसंगै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बाह्रदशीले वैशाख १० गतेदेखि विद्यालय सञ्चालन गर्न पाउनु पर्ने माग गर्दै गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ ।

प्याब्सनका प्रतिनिधिहरू बाह्रदशी अध्यक्ष निमेश ढुङ्गेल, झापा सचिव लक्ष्मीप्रसाद उप्रेती, एन–प्याब्सन कोशी प्रदेशका उपाध्यक्ष रामकुमार सिंह राजवंशीसहितको टोलीले गाउँपालिकाका कार्यवाहक अध्यक्ष शान्तादेवी शिवाकोटी खरेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण खरेल तथा शिक्षा शाखा प्रमुख गीता सुवेदीलाई उक्त पत्र हस्तान्तरण गरेको हो ।

प्याब्सन बाह्रदशीका अध्यक्ष निमेश ढुङ्गेलका अनुसार विद्यालय बन्द हुँदा सिकाइको निरन्तरता टुट्ने मात्र होइन, विद्यार्थीको समग्र विकासमा अवरोध पुग्ने जोखिम बढेको छ ।

“हामीले नियमित पठनपाठनको माग गरेका होइनौं,” उनले स्पष्ट पारे, “तर विद्यार्थीलाई विद्यालयमा ल्याएर उनीहरूको दिनचर्या व्यवस्थित गर्ने, नैतिक शिक्षा, योग, अतिरिक्त क्रियाकलापमार्फत उनीहरूलाई सक्रिय राख्ने प्रयास गर्न खोजेका हौं।”

ढुङ्गेलका अनुसार बाह्रदशी गाउँपालिका भारतीय सीमासँग जोडिएको क्षेत्र भएकाले यहाँका विद्यार्थीहरू भारततर्फ अध्ययनका लागि जाने प्रवृत्ति पनि देखिन्छ ।

“लामो समय विद्यालय बन्द हुँदा अभिभावकले विकल्प खोज्न थाल्छन् । यसले स्थानीय शिक्षा प्रणालीमै असर पार्न सक्छ,” उनले भने ।

एन–प्याब्सन कोशी प्रदेशका उपाध्यक्ष रामकुमार सिंह राजवंशीले पनि यही चिन्ता दोहो¥याए । उनका अनुसार फागुन र चैतमै धेरै विद्यालयले वार्षिक परीक्षा सम्पन्न गरिसकेका छन् । त्यसपछि वैशाखको दोस्रो सातासम्मको लामो अन्तरालले विद्यार्थीलाई ‘शैक्षिक शून्यता’मा धकेलेको छ। “यो खाली समय सबैका लागि चुनौतीपूर्ण बनेको छ। अभिभावकले पनि बच्चालाई कसरी व्यस्त राख्ने भन्नेमा समस्या भोगिरहेका छन्,” उनले भने।

प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले अहिलेको अवस्थालाई ‘सिकाइको निरन्तरता’को दृष्टिले हेर्नुपर्ने बताए । उनका अनुसार विद्यालय केवल पाठ्यपुस्तक पढाउने ठाउँ मात्र नभई सामाजिक र नैतिक विकासको केन्द्र पनि हो । “यो समयमा हामीले पाठ्यक्रमभन्दा बाहिरका कुरा सिकाउन सक्छौं– जस्तै अनुशासन, सहकार्य, योग, हस्तलेखन, संवाद सीप,” उनले भने, “यसले विद्यार्थीलाई विद्यालयसँग पुनः जोड्ने अवसर दिन्छ।”

प्याब्सन बाह्रदशीकी कोषाध्यक्ष स्मिता राजवंशीका अनुसार विद्यालय बन्द हुँदा विद्यार्थीहरू कुलतमा फस्ने जोखिम बढेको छ । “डिजिटल उपकरणमा अत्यधिक समय बिताउने, बाहिर अनियन्त्रित रूपमा घुम्ने, पढाइप्रति उदासीन हुने जस्ता समस्या देखिन थालेका छन्,” उनले भनिन्, “यही कारणले हामीले विद्यालय सञ्चालनको पहल गरेका हौं।”

तर, स्थानीय सरकार भने यस विषयमा सावधानी अपनाउँदै अघि बढ्न खोजिरहेको छ । बाह्रदशी गाउँपालिकाले संघीय सरकारको निर्णयलाई प्राथमिकता दिँदै प्याब्सनको प्रस्तावमाथि कार्यपालिकाको बैठकबाट मात्रै निर्णय गर्ने जनाएको छ।

शिक्षा शाखा प्रमुख गीता सुवेदीले विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने प्रस्ताव सकारात्मक भए पनि त्यसलाई औपचारिक अनुमति दिने विषयमा नीतिगत स्पष्टता आवश्यक रहेको बताइन्। “विद्यार्थीलाई घरमै राख्नुभन्दा विद्यालयमा ल्याएर सिर्जनात्मक गतिविधिमा संलग्न गराउनु राम्रो हो,” उनले भनिन्, “तर हामीले समग्र नीति र निर्देशनलाई पनि ध्यान दिनुपर्छ।”

कार्यक्रममा प्याव्सन झापाका सदस्य खगेन्द्र सुवेदी, प्याव्सन बाह्रदशी सचिव हरवहादुर राजवंशी, सदस्यहरु गंगाराम कडेल, ज्ञानज्योति माविका शिक्षक नारायण ढकाल, दिव्यज्योति माविका विशाल घिमिरे लगायत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here