झापामा शिक्षा सेवी टीकाराम रिजालको ‘सूक्ति सङ्कलन’ विमोचन

0
7

 

झापा, झापाको बाह्रदशी गाउँपालिका–३ स्थित राजगढ सामुदायिक अध्ययन केन्द्रको सभाहलमा शिक्षा सेवी टीकाराम रिजालद्वारा लिखित सूक्ति सङ्कलन कृतिको विमोचन गरिएको छ ।

नेपाली लेखक संघ जिल्ला कार्यसमिति झापाको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यकार तथा समालोचक विष्णुकुमार भट्टराईले कृतिको लोकार्पण गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले समाजलाई सही दिशा दिने विचार, प्रेरणा र ज्ञानका स्रोतलाई पुस्तकमार्फत संरक्षण गर्नु महत्तवपूर्ण काम भएको बताए । उनले रिजालको कृति केवल उद्धरणहरूको संग्रह मात्र नभई नयाँ पुस्तालाई नैतिकता, अनुशासन र जीवनबोध दिने सामग्रीका रूपमा रहेको उल्लेख गरे ।

नेपाली लेखक संघ जिल्ला कार्यसमिति झापाका अध्यक्ष दयानन्द गोश्वामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार कृष्ण वराल, बाह्रदशी गाउँपालिका–५ का वडा सदस्य जय तिम्सिना, वडा नं. ३ का सदस्य हेमलाल दाहाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाली लेखक संघका जिल्ला सदस्य तथा पशुपति माध्यमिक विद्यालयका शिक्षक गुणनीति लुइँटेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा कृतिको समीक्षा शिक्षा सेवी पुण्यप्रसाद पौडेलले गरेका थिए । उनले पुस्तकमा संकलित सूक्तिहरूले पाठकलाई जीवन दर्शन, अनुशासन र सकारात्मक सोचतर्फ प्रेरित गर्ने बताए ।

साहित्यकार तथा महारानीगञ्ज माध्यमिक विद्यालयका प्रधानाध्यापक अभागी थेगुवा (मनप्रसाद सुब्बा) ले पुस्तकबारे चर्चा गर्दै ज्ञान, नीति र संस्कृतिका विविध पक्षलाई एकै ठाउँमा समेटिएको उल्लेख गरे ।

कार्यक्रममा नेपाली लेखक संघका पूर्वअध्यक्ष कुमार भट्टराई, बाह्रदशी गाउँपालिका–२ का वडाध्यक्ष भीम कार्की, नेपाल रेडक्रस सोसाइटी कोशीका कोषाध्यक्ष ओमप्रकाश गौतम, राजगढ सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष रामदुलाल, राजगढ सहकारीका अध्यक्ष रामेश अधिकारी, सामाजिक अभियन्ता रविना ढकाल, शिक्षा सेवी धरणीधर रिजाल तथा स्थानीय अगुवा कृषक केशव बराललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाली लेखक संघका सचिव समिरबाबु कट्टेलले गरेका थिए ।

प्रकाशक गीता पौडेल रहेको उक्त १२० पृष्ठको पुस्तकमा विश्वप्रसिद्ध व्यक्तित्वहरूका १२४४ प्रेरणादायी भनाइ समेटिएका छन् । पुस्तकमा नीति, गीता, वेद, गुणरत्नमाला लगायतका धार्मिक तथा दार्शनिक स्रोतका सन्देश समावेश छन् । साथै विश्वविख्यात वैज्ञानिक, दार्शनिक, चिन्तक र प्रेरक व्यक्तिहरूका विचारहरू पनि संकलित छन् ।
पुस्तकमा भौगोलिक जानकारी, अष्टचिरञ्जीवी, रोचक प्रसंग, शास्त्रीय परम्परा, सप्तऋषि, सूर्य, चन्द्रमा तथा जीवसम्बन्धी अनौठा तथ्यहरू समेत समावेश गरिएको छ ।

शिक्षक जीवनबाट साहित्य यात्रासम्म

कृतिकार टीकाराम रिजालको जन्म २००४ माघ ५ गते पाँचथरको आड्सराङ, मेलबोटेमा भएको हो । सावित्रादेवी र गंगाराम रिजालका सुपुत्र रिजालले प्रारम्भिक शिक्षा श्री जयनारायण माध्यमिक विद्यालय मेलबोटेबाट प्राप्त गरेका थिए । सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका उनले अध्यापन पेशासँगै निजी अध्ययनमार्फत बीए, बीएड पूरा गरे भने एमएड अध्ययनसमेत गरेका थिए ।

उनले २०२५ सालदेखि श्री जयनारायण माध्यमिक विद्यालयबाट शिक्षक जीवन सुरु गरेका थिए । योग्यता र अनुभवका आधारमा क्रमशः पदोन्नति हुँदै माध्यमिक तहमा नेपाली विषय शिक्षक बनेका रिजाल २०४५ सालमा झापाको पशुपति माध्यमिक विद्यालय, राजगढमा सरुवा भएर आएका थिए ।

दीर्घ शैक्षिक सेवापछि उनले २०६४ माघ १५ गते अनिवार्य अवकाश पाएका थिए ।
रिजालको विवाह २०३१ वैशाखमा पाँचथर यासोक निवासी महेन्द्र पौडेल (स्वर्गीय) र धर्मकला पौडेलकी सुपुत्री गीता पौडेलसँग भएको थियो । उनका एक छोरा र तीन छोरी छन् । छोरा–बुहारी काठमाडौंमा कार्यरत छन् भने छोरीहरू आफ्नै परिवारमा व्यवस्थित रहेको जनाइएको छ

उमेरसँगै स्वास्थ्यमा समस्या देखिए पनि पत्नी गीता पौडेलको साथ, सहयोग र हेरचाहका कारण जीवन सहज रूपमा चलिरहेको परिवार स्रोतले जनाएको छ।
शिक्षण, समाजसेवा र अध्ययनशील जीवन बिताएका रिजालले वृद्धावस्थामा पनि ज्ञान र प्रेरणालाई पुस्तकमार्फत समाजमा बाँड्ने प्रयास गरेको भन्दै कार्यक्रममा सहभागीहरूले उनको प्रशंसा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here