सत्ता र शक्तिमा भएकालाई बलियो गरी प्रश्न गरः गाउँले

0
647

झापा।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुक्रबार पत्रकार महासंघ झापा शाखा र नारी सञ्चार गृहले काँकरभिट्टामा प्रभातफेरी तथा कोणसभा सम्पन्न गरेका छन् ।

प्रभातफेरीपछि कोणसभामा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँलेले पत्रकारितालाई राजनीतिले संकुचित बनाउन खोजेको र पत्रकारले समाचार लेख्दा र फोटो खिच्दा पनि अनुमति लिनुपर्ने सरकारको निर्णय आपत्तिजनक रहेको टिप्पणी गरे ।

उनले सार्वजनिक जीवन धारण गरेका व्यक्तिसँग सूचना माग्न अनुमति लिनुपर्ने, समाचारको मूल्याङ्कन प्रहरीले गर्ने र विज्ञापनका सन्दर्भमा मिडिया सञ्चालकलाई जेल पठाउने कानूनको विरोध गर्दै आएको बताए । उनले पत्रकारले गल्ती गर्दा संसारको अभ्यास अनुसार प्रेस काउन्सिल र न्यायालयले मात्र बुझ्न पाउने व्यवस्था राम्रो हुने बताए । इन्टरनेटको युगमा अल्छे पत्रकारको दिन सकिएको बताउँदै उनले पत्रकारलाई गोरेटो बदल्न आग्रह समेत गरे ।

महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी लगायतको आतिथ्य रहेको समारोहमा नागरिक अगुवा रामचन्द्र उप्रेती, मेचीनगर–६का वडाध्यक्ष ललित तामाङले बोलेका थिए । कार्यक्रम महासंघ अध्यक्ष तारामणि सापकोटाको अध्यक्षता, सचिव सन्तोष आचार्यको सञ्चालनमा भएको थियो । नारी सञ्चार गृहकी अध्यक्ष अम्विका भण्डारीले कार्यक्रममा स्वागत गरेकी थिइन् ।

यसैवीच नारी सञ्चार गृहले शुक्रबार नै आयोजना गरेको अन्तरक्रिया तथा पत्रकारीता तालिममा बोल्दै महासंघका पूर्वअध्यक्ष गाउँलेले प्रश्न गर्न सकिएन भने पत्रकारिता पेशा नै संकटमा पर्ने बताएका थिए ।

पत्रकारले सत्ता र शक्तिमा भएकालाई बलियो गरी प्रश्न सोध्न सक्नुपर्ने उनको भनाइ छ । कुम जोडिएकालाई प्रश्न गर्न नसक्ने र युग सुहाउँदो पत्रकारिता नगर्ने ब्यक्ति पत्रकार नरहने उनले बताए ।

नारी सञ्चार गृहले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोष बृद्धिका लागि बिर्तामोड–९की वडाध्यक्ष पवित्रा पाठकले १० हजार रुपैयाँ सहयोग प्रदान गरेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here