रेडक्रस झापाको सभाहल दाताले बनाइदिए

0
632

भद्रपुर।

नेपाल रेडक्रस सोसाइटी झापा शाखालाई समाजसेवी धनजुजु श्रेष्ठले सभाहल निर्माण गरी हस्तान्तरण गरेका छन् ।

आफ्ना पिता, रेडक्रस झापाका संस्थापक सभापति, दानवीर, सामाजिक व्यक्तित्व स्व. स्वयम्भूलाल श्रेष्ठको स्मृतिमा साढे १३ लाख रुपैयाँको लागतमा सभाहल निर्माण गरी हस्तान्तरण गरिएको निर्माणकर्ता श्रेष्ठले जानकारी दिए । रेडक्रस भवनको पहिलो तलामा सुविधायुक्त सभाहल निर्माण गरिएको छ ।

शनिबार एक समारोहकाबीच भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले सभाहलको उद्घाटन गरे । शाखा सभापति लोकराज ढकालको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा निर्माणकर्ता श्रेष्ठलाई सम्मानसहित रेडक्रस भद्रपुर उपशाखाको यशस्कर सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

रेडक्रस झापाका मन्त्री चन्द्रप्रसाद चुडालले सञ्चालन गरेको सो समारोहमा रेडक्रस उपशाखा भद्रपुरको यशस्कर सदस्य बनेका युवा व्यवसायी दीपेश ढकाल, डा. आनन्द श्रेष्ठ, विशिष्ट सदस्य बनेका निर्माण व्यवसायी गोपालबहादुर थापा, भद्रपुर ७ नं. वडाध्यक्ष बिनोदप्रसाद पोखरेललाई सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै भद्रपुर नगरपालिकालाई संस्थागत सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठले मानवीय सेवामा रेडक्रस झापाले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै विपद् व्यवस्थापन लगायतका सामाजिक सेवाकार्यमा रेडक्रसलाई नगरपालिकाले सँधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । समारोहमा भद्रपुर नगरउपप्रमुख चन्द्रा श्रेष्ठ, ८ नं. वडाध्यक्ष गौरव सुब्बा, उद्योगपति विश्वनाथ श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्दै निर्माणकर्ता श्रेष्ठको प्रशंसा गरेका थिए ।

नवनिर्मित सभाहल स्वयम्भूलाल श्रेष्ठ स्मृति सभाहलको नामबाट सञ्चालन हुने सभापति ढकालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here