जी २० शिखर सम्मेलनका लागि नेताहरु जापान आउनेक्रम शुरु

0
329

ओशाका,

चिनियाँ राष्ट्रपति सी चिनफिङ बीसवटा औद्योगिक राष्ट्रहरुको समूह (जी२०) को शिखर सम्मेलनमा सहभागी हुन बिहीबार जापानको ओशाका आइपुग्नुभएको छ ।  विश्वव्यापी व्यापारका सन्दर्भमा प्रमुख आद्योगिक राष्ट्रहरुबीच मतान्तर रहेकै समयमा हुन लागेको यस सम्मेलनको पूर्वसन्ध्यामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप करवृद्धि गर्ने चेतावनी दिनुभएको छ । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकहरु अमेरिका र चीनबीच जारी व्यापार युद्ध नै यसपटकको शिखर बैठकको मुख्य कार्यसूची रहने अनुमान गरिएको छ ।

जी२० को शिखर सम्मेलन यही शुक्रबार बस्दैछ ।  जापान प्रस्थान गर्नुअघि अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी समाचार टेलिभिजन फक्स बिजनेस नेटवर्कलाई दिनुभएको अन्तर्वार्तामा अमेरिकी बजार खुम्चिएसँगै चीनको अर्थतन्त्र निरन्तर ओरालो लागेको दाबी गर्नुभयो । चीनको व्यापारिक नीति आफ्ना लागि स्वीकार्य नरहेको बताउँदै राष्ट्रपति ट्रम्पले करिब २०० अर्ब डलर बराबरका चिनियाँ सामानमा २५ प्रतिशत करवृद्धि गर्नुभएको छ । उहाँले चीनले आफ्ना नीतिमा सामयिक सुधार नगरे अरु थप सामानमा करवृद्धि गर्ने घोषणा गर्नुभएको छ ।

उहाँले अन्तर्वार्ताका क्रममा भन्नुभयो, “मैले अझै पनि ३ खर्ब २५ अर्ब डलर बराबरका चिनियाँ सामानमा करवृद्धि गरेको छैन । यो वस्तुतथ्यलाई चीनले समयमै सम्बोधन नगरे करवृद्धि गर्नुको विकल्प छैन ।” विश्व बजारमा दुई मुलुक चीन र अमेरिकाले तत्कालै वार्ताद्वारा समस्या सुल्झाउने अपेक्षा गरेका छन् । विश्व अर्थतन्त्रमै करवृद्धिले नकारात्मक असर पर्न थालेको अनुमान गर्न थालिएको छ ।

अधिकांश विज्ञहरुले जी२० बैठकमा औपचारिक सम्झौता हुने सम्भावना क्षीण रहेको बताएका छन् । दुबै मुलुकबीच जारी व्यापार वार्ता समेत केही समयदेखि अबरुद्ध छ ।  जी२० बैठकमा व्यापारका अलावा इरान, भेनेजुएला र उत्तर कोरियाका विषय पनि प्रमुख कार्यसूचीमा रहेका छन् । साथै जलवायु परिवर्तन र बुढ्यौली जनसंख्याको व्यवस्थापन जस्ता विषयमा पनि बैठकमा छलफल हुने अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here