भारतबाट तरकारी बोकेर आएका ट्रक नाकामा अलपत्र, विषादी जाँच्न कर्मचारी अभाव

0
1214

काठमाण्डौ,

भारतबाट तरकारी र फलफूल बोकेर नेपाल आउँदै गरेका एक सयभन्दा धेरै ट्रक नाकामा रोकिएका छन् । विषादी परीक्षण नगरेका तरकारी र फलफूल आयातमा रोक लगाउने सरकारले निर्णय गरेपछि ट्रक नेपाल भित्रिन नपाएका हुन् । भैरहवा, काँकडभिट्टा, वीरगञ्ज, कैलाली र विराटनगर नाकामा आइपुगेका ट्रक विषादी परीक्षण नभएपछि नेपाल भित्रिन नसकेका व्यापारीले बताएका छन् ।

फलफूल र तरकारी बोकेर आएका गाडीको भन्सार पास भैसके पनि विषादी परीक्षण नभएकाले नाकामै रोकिएका हुन् । सरकारले पूर्वतयारीविनै विषादी परीक्षण गरेर मात्र तरकारी आयात गर्ने निर्णय गर्दा आफूहरु मर्कामा परेको व्यवसायीले गुनासो गरेका छन् । गर्मीको बेला धेरै दिनसम्म तरकारी र फलफूल ट्रकमै खाँदिएपछि आधाभन्दा बढी कुहिएको उनीहरुको भनाइ छ ।

विषादी परीक्षणमा ढिलाई हुँदा केही तरकारी र फलफूल भारततिरै फर्काइएको छ । धेरै चाहिँ अझै नाकामै राखिएको छ ।

कर्मचारी र प्रविधि थप गर्दैछौं – सरकार

सरकारले तरकारी र फलफूलको विषादी परीक्षणका लागि कर्मचारी र प्रविधि थप गर्ने तयारी भैरहेको जनाएको छ । तरकारी र फलफूल भित्रिने सबै नाकामा विषादी परीक्षण गर्नेगरी कर्मचारी पठाउन लागिएको केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख कञ्चनराज पाण्डेले बताउनुभयो ।

नाकामा लामो समय रोकिएको भन्दा पनि राम्रो प्याकिङ नहुँदा र गर्मीका कारण फलफूल र तरकारी कुहिएको उहाँको भनाइ छ ।

काठमाण्डौको कालिमाटी, बिर्तामोेड, नवलपुर, सर्लाही, पोखरा, बुटवल, नेपालगञ्ज, अत्तरिया लगायत ठाउँबाट अहिले विषादी परीक्षण भैरहेको उहाँले बताउनुभयो । ‘अब नाकामै परीक्षण सुरु गर्न धेरै समय लाग्दैन’ उहाँले उज्यालोसँग भन्नुभयो ।

प्रयोगशाला भन्दा पनि कर्मचारीको अभाव मुख्य समस्या भएको उहाँले बताउनुभयो । एउटा विषादी परीक्षण केन्द्रमा एक दुई जना मात्र कर्मचारी हुने भएकाले कठिनाई भएको उहाँको भनाइ छ । भारतबाटै विषादी परीक्षणको प्रमाणपत्र ल्याएका गाडीलाई भने नाकामा नरोकी नेपाल आउन दिइएको छ ।-उज्यालोबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here