चाडपर्वमा विशेष सुरक्षा : आपराधिक क्रियाकलाप र तस्करी नियन्त्रणका लागि नेपाल–भारतका सुरक्षा निकाय सहमत

0
777

पार्थ मण्डल / भद्रपुर।

नजिकिँदै आएको दसै, तिहार र छठ चाडपर्व तथा भारतको किशनगञ्जमा हुने उप–निर्वाचन लाई  मध्यनजर गरी झापासँग  जोडिएको सीमावर्ती नाकामा सुरक्षा व्यवस्था कडा बनाउने विषयमा दुवै देशका सुरक्षा निकाय सहमत भएका छन् ।

भद्रपुर नाकासँग जोडिएको भारतको गलगलियास्थित भादगाउँ सशस्त्र प्रहरी बल (एसएसबी)को क्याम्पमा बसेको  नेपाल–भारत  सुरक्षा निकायको मासिक बैठकमा दुवै देशका सुरक्षा निकायका प्रमुखहरू सीमा सुरक्षाको  विषयमा सहमत  भएका हुन् ।

नेपाल भारतको खुल्ला सीमावर्ती नाकाबाट हुने आपराधिक क्रियाकलाप, अवैध हातहतियार, चोरी तस्करी, मानव बेचबिखन, लागु औषध, चौपाया नियन्त्रणको विषयमा चासो देखाउँदै बैठकमा दुवै देशका सुरक्षा प्रमुख सहमत भएको जनाइएको छ ।  सीमामा शान्ति सुरक्षालाई मजबुत बनाउन दुवै देशका सुरक्षाकर्मीहरु संयुक्त रूपमा सीमा गस्ती गर्ने अभियानलाई समेत निरन्तरता दिनेमा उनीहरूले सहमति जनाएका छन् ।

साथै भारतको विहार राज्य स्थित किशनगञ्ज जिल्लामा आउँदो अक्टोबर २१ तारिख अर्थात् कार्तिक ४ गते हुने विधानसभाको उपनिर्वाचनका लागि ४८ घण्टा बोर्डर सिल गर्न विषयमा समेत छलफल भएको थियो । बोर्डर सिल गरी निर्वाचन सुरक्षामा सहयोग पुर्‍याइदिन भारतीय सुरक्षा निकायका प्रमुखले नेपालका सुरक्षा प्रमुखसँग आग्रह गरेका थिए । निर्वाचनमा बोर्डर सिल गर्ने विषयमा नेपालका सुरक्षा निकायले सहमति जनाएको छ ।

सुरक्षा बैठकमा प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनाली, सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सु, वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठ, किशनगञ्ज पुलिसका एसपी कुमार आशिष्, एसएसबीका सर्किल अफिसर सुभाष नेगी, मितुल कुमार र जिसी पाँडेय, पश्चिम बङ्गाल दार्जिलिङ जिल्लाका कर्सियाग एसडिपीओ पिनाक, किशनगञ्जका पदाधिकारीहरू डां अखिलेश कुमार, ठाकुरगञ्जका सर्किल इन्स्पेक्टर अश्विनी कुमार, गलगलिया थाना अध्यक्ष तरुण तरुगेश लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here