
नारायणप्रसाद पराजुली
हाल विश्व कोरोनाको कहरबाट गुज्रिरहेको छ । मानव सभ्यताको इतिहासमा एक्काइसौं शताब्दीको सबैभन्दा खतरनाक दुश्मनसँग विश्व मानव समुदाय लडिरहेको छ अहिले कोरोना भाइरस (COVID विरूद्धको युद्धमा । मानव अस्तित्वको लागि यो युद्ध जित्नुको विकल्प हामीसँग छैन । यो मतमा सैद्धान्तिक रूपमा विश्व मानव समुदाय एकमत छ तर प्रवृत्तिगत कुरा प्राकृतिक हुँदो रहेछ । मान्छेका विविध स्वार्थका कारणले प्रवृत्तिगत कुरामा देखिएको विविधता नै कोरोना विरूद्धको लडाइको प्रमुख कमजोरी बन्न सक्दछ ।
हामीले जीवहरूको जीवनचक्र पढेका छौं हेरेका छौं । एउटा जीवले अर्को जीवलाई आफ्नो अस्तित्वका लागि अर्थात आफू बाँच्नका लागि खान्छ । जसलाई खान्छ उसले अर्कोलाई खान्छ । यो प्राकृतिक जीवनचक्र(Ecosystem) निरन्तर चलिरहन्छ सबै जीवहरूको अस्तित्व रक्षाका लागि । एउटा सर्पको मुखमा परेको भ्यागुताले अर्को जिउँदो पुतलीलाई आफ्नो भोजनका लागि आफूतिर खिच्दै गरेको हामीले देखेका छौं । त्यो भ्यागुतो आफू सर्पबाट बाँच्नका लागि एकातिर संघर्ष गरिरहेको छ त्यसै समयमा आफ्नो भोजनका लागि अर्को प्राणीलाई आफूतिर खैंचदै छ यस्तो विरोधाभाषपूर्ण अवस्था प्राकृतिक रूपमा हामीले देखे पढेकै हो ।
मान्छे प्राणी त हो तर सर्वश्रेष्ठ प्राणी हो भलै उसलाई सर्वश्रेष्ठ भन्ने उपाधि अरू प्राणीले भनिदिएको नभएर उसले आफूले आफैंलाई दिएको उपाधि किन नहोस् । त्यसैले हामीले मान्छैलाई भ्यागुता वा सर्प वा चिल वा बाजसँग तुलना गर्न मिल्दैन । तथापि एउटा विडम्बना हामी मानिसमा त्यो भ्यागुते प्रवृत्ति हावी छ यो कुरालाई नकार्न पनि मिल्दैन ।
मानव सभ्यताको इतिहास हेर्दा यस्तो विपद मान्छे वा अरू प्राणिले पहिलो पटक भोगको होइन यस्ता विपद तथा प्राकृतिक प्रकोपका धेरै सृङ्खला पार गरेर आज हामी यहाँ छौं । हाम्रा कति सभ्यता नष्ट भए तर हामी फेरी केही विकसित रूपमा उठ्यौं होला । पृथ्वीमा भएको प्राकृतिक हलचल वा विनासले कति जीवको अस्तित्व समाप्त भयो तर हामीले आफ्नो अस्तित्व बचाएका छौं आजको मितिसम्म ।

अहिले विश्वभर फैलिएको कोरोना भाइरसका कारण संसारको जुनसुकै कुनामा रहेका मान्छेहरू ती जुन मुलुकका भए पनि बन्दाबन्दीको अवस्थामा छन् । हामीले पनि लकडाउनलाई सहर्ष स्वीकार गरेका छौं कोरोना संक्रमण विरूद्धको एकमात्र प्रभावशाली अस्त्र मानेर । तर‚ यस्तो अवस्थामा समाजमा फेरी उही इकोसिस्टमको भ्यागुते प्रवृत्तिको पुनरावृत्ति हावी भएको देखिदैछ ।
त्यसो त मानव समाज नै एउटा मालाकार रूपमा एक अर्को तह र वर्गका मान्छेप्रति निर्भर छ । एउटा तह वा वर्गका मान्छेले अर्को तह वा वर्गका मान्छेका लागि काम वा उत्पादन गर्ने र अर्कोले अर्को वर्गका लागि गर्ने यस्तो लामो सृङ्खला छ हाम्रो समाजमा पनि । यस्तोमा स्वाभाविक रूपमा कोही सर्पका रूपमा‚ कोही भ्यागुता र कोही पुतलीका रूपमा पात्र र प्रवृत्ति दुवै छन् हाम्रो परिवेशमा ।
हरेक विपत धेरैका लागि काल र केहीका लागि मालामालको रूपमा बुझ्ने र ब्याख्या गर्न सक्ने हुनु हुदैन । तर हाम्रोमा भुकम्प‚ बाढी पहिरो‚ अन्य व्याधि र महामारी जस्ता हरेक प्रकोप र विपतमा माथि उल्लेख गरिएको इकोसिस्टमको प्रवृत्ति हावी भएको छ र त्यसका केही पात्रहरू नाङ्गिएका पनि छन् त्रिपाल काण्ड‚ खाद्यान्न काण्ड जस्ता काण्डहरूमा ।
स्वाभाविक रूपमा यस्तो विपतको अवस्थामा सरकारले समानताका आधारमा होइन कि आवश्यकताका आधारमा तह र वर्ग निश्चित र निर्क्यौल गरेर आवश्यक रहेका नागरिकका लागि राहत र संरक्षणको प्याकेज तय गर्दछ र गर्नु पर्दछ । त्यस्तो राहत कोषको प्रयोग गर्ने र सरकारको राहत नीतिको कार्यान्वयनमा खटिने तथा अन्य सबै सर्वसाधारण जनता अहिले कोरोना भाइरसको उत्तिकै जोखिममा रहेका छन् । अझ यो महामारीको रोकथाममा अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी अझ प्रत्यक्ष जोखिममा रहेका छन् । यस्तो अवस्थामा सरकारको राहत र महामारी रोकथाम नीतिको पूर्ण पालना गरेर र सबैको समान प्रयत्नले मात्र हालको महामारीमाथि विजय प्राप्त गर्न सम्भव छ ।
यो असहज अवस्थामा सरकारले दैनिक कार्यका आधारमा जीविकोपार्जन गर्ने व्यक्तिहरूलाई लक्षित गरेर घरधनीहरूसँग यो महामारीको अवधिको घरभाडा छूट दिन अनुरोध गरेको छ । त्यसै गरी बैंक तथा वित्तिय संस्थाहरूले किस्ता र ब्याज बुझाउने अवधि पछि सारेका छन् र ब्याजमा केही छुट दिने भनेर केही संस्थाहरूले भनेका छन् । राहत कोषको स्थापना भएको छ । स्थानीय सरकारहरू र स्थानीय समाजसेवीहरूले आवश्यक समुदायमा राहत वितरण सुरू गरेका छन् । यी सबै सकारात्मक कुराहरूका बाबजुत केही नकारात्मक कुराहरूले पनि स्थान पाएका छन् ।
घरधनीहरूको रोइलो सुरू भएको छ‚ हामी बहाल छुट दिन सक्दैनौं भनेर । बहालमा बस्ने र घरधनीभन्दा बढी आम्दानीका स्रोत भएका बहालवालाहरूको रोइलो अर्कातिर छ हामी बहालवाला हौं‚ बहाल छुट पाउनु पर्छ भनेर । दिउसो राहतको ५ केजी चामल लिएर आएको मान्छेको घरमा वेलुका आगलागी हुन्छ । आगो निभाउने क्रममा २५ लाख रूपैयाँ नगद भेटिन्छ । यस्तो खालको प्रवृत्ति अहिले सतहमा छ ।
त्यसै गरी सरकारले विपतको अवस्थामा चाँडो स्वास्थ्य उपकरण र सामाग्री खरिद गर्नु परेकोले कानुनका सबै प्रक्रिया पूरा नगरी छोटो विधिबाट सामान खरिदको प्रक्रिया अगाडि बढाउँछ । जनताले पत्याउछन् । तर त्यही सामाग्री खरिदमा दरभाउ र गुणस्तरको प्रश्न उठ्छ । सरकारले आफ्नो मुलुकको प्रतिनिधि बनाएर पठाएका अर्वपति पात्रले विपतको यो अवस्थामा कालोबजारी गर्छन् ।
कोरोना भाइरस विरूद्ध हाम्रो सामूहिक संकल्प र लक्ष्य केन्द्रीत हस्तक्षेपको खाँचो रहेको छ त्यसको विकल्प छैन । यस्तो अवस्थामा सतहमा आएका माथि उलेखित घटनाहरूले हाम्रो लक्ष्यलाई अलमल्याएको अनुभूत हुन्छ । कोरोनाको संक्रमण रोक्न हामी सर्वथा विफल भयौं भने हाम्रो ज्यान नै रहदैन । मान्छेको जीवन विना उसको धन‚ मान। सम्मान प्रतिष्ठा स्वामित्वविहीन हुनजान्छ र त्यो अमूल्य चीज मूल्यहीन बन्न पुग्छ । तसर्थ अहिले कोरोना विरूद्ध सबैको सामुहिक संकल्पक‚ साथ सहयोग‚ क्रियाशीलता र अर्जुन दृष्टि आवश्यक छ । भ्यागुताले पुतली तानेको प्रवृत्ति दोहोर्याहएर हामीले कोरोनालाई पराजीत गर्न सक्दैनौं । (लेखक – अधिवत्ता हुन् )





























