नरेन्द्र ढकाल, सुरेन्द्र भण्डारी
बिर्तामोड,
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वधममा ५४ वर्षपछि पहिलो पटक गेटमै ताल्चा लागेको छ ।

कोरोना भाइसरको संक्रमण बढ्दै गएपछि सरकारले गत चैत ११ गतेबाट मुलुकलाई लकडाउन गरेको छ । सरकारले गरेको लकडाउन एक महिना पुग्नै लाग्दा समेत अर्जुनधाराधाम सुनसान अवस्थामा नै रहेको छ । अर्जुनधारा जलेश्वरम सञ्चालक समितिका अध्यक्ष नविन गट्टानीले धामको स्थापनापछि पहिलो पटक गेटमै ताल्चा लगाउनुपर्ने अवस्था आएको बताए । उनले धाममा नियमित रुपमा हुने नित्य कर्म भने जारी राखेर र अन्य दर्शनहरु भ्ने बन्द गरिएको जानकारी दिए ।
अर्जुनधारा नगरपालिकामा पर्ने यो धाममा शिव मन्दिर, विष्णु मन्दिर र अन्य मन्दिरमा पूजाआजा गर्नेको जहिल्यै भीडभाड भइरहने गरेको थियो । दैनिक हजार जनाभन्दा धेरै भक्तजनले मन्दिरको दर्शन गर्ने गरेका थिए । खासगरी महाशिवरात्रि, बालाचतुर्दशी, कृष्णजन्माष्टमी, माघे सङ्क्रान्ति आदि अनेक पर्वमा अत्यन्त घुइँचो हुन्छ । जाँड रक्सी र धुम्रपान समेत निषेधित गरिएको अर्जुनधारा क्षेत्र परिसर भित्र अर्जुनले वाण हानी पानी निकालेको प्राचीन पोखरी रभ्ने यसको बीचमा अर्जुनले गाईलाई पानी ख्वाईरहेको मूर्ति स्थापित गरिएको छ ।
सातकुने उक्त पोखरीको दक्षिण तर्फ पञ्चधातुबाट निर्मित ५ वटा धाराहरू रहेका छन् । जसबाट निरन्तर चिसो पानी बगिरहन्छ भने पोखरीभित्र विभिन्न जातका रङ्गी विरङ्गी माछाहरू पाइन्छन् । २०५५ सालको हुलाक टिकटमा समेत चित्रांकित अर्जुनधारा क्षेत्रमा प्रत्येक वर्ष लाखौं स्वदेशी तथा भारतीय तीर्थ यात्रीहरूले भ्रमण गर्ने गरेको अध्यक्ष गट्टानीले बताए । यहाँ शिव, गणेश, नाग, हनुमान र सरस्वती आदि देवी देवताका मूर्तिहरूका अतिरिक्त विवाह, कर्मकाण्ड, यज्ञकक्ष, क्रियापुत्री कक्ष, धर्मिक कार्यक्रम वाचन तथा श्रोता कक्ष आदिको स्थापना गरिएको बताइएको छ ।

पूर्वीय दर्शनमा आधारित एवं संस्कृत शिक्षाबाट प्रभावित रहेको छ । यस स्थानमा संस्कृत मा.वि. र वेदविद्यापीठ समेत स्थापना गरीएको छ । कालिका स्थानको गार्गी विद्यापीठ भने गुरुकुल शिक्षा पद्धतिमा आधारित छ । अर्जुनधारा परिसरभित्र संचालित वेद विद्यापीठमा व्राम्हणका अतिरिक्त दलित जातका विधार्थीहरुलाई समेत पढाउने गरीएको छ । हाल लकडाउनका कारण अधिकांश विद्यार्थी घर गएका छन् । अर्जुनधारा नगरपालिकामा रहेको यो धाम पूर्वको पशुपतिनाथका नामले परिचित छ । विश्वभर कोरोना भाइसरका कारण महामारी फैलिएपछि सरकारले गरेको लकडाउनका कारण अर्जुनधारा धाम मात्रै होइन सबै देवालयहरु सुनसान जस्तै बनेका छन् ।
बिहान सबेरै बस्ने घन्टी,शंख तथा वैदिक मत्रोच्चरणले गुञ्जयामान हुने अर्जुनधारा परिसर अहिले सुनसान बनेको छ । महाभारतकालमा पाण्डवहरु गुप्तवास बसेको समयमा दूर्याेधन लगायतका कौरवहरुले सो स्थान पत्ता लगाई पाण्डवहरूको गुप्तवास भङ्ग गर्न विराट राजाका नौ लाख गाई हरण गरी लगेको गौ हरण यसको अपभ्रंश भई गोरुवा हुँदै गरुवा भएको बताइन्छ । जुन स्थान हाल इलाम जिल्लामा पर्छ ।
हरण गरेर लगेका गाईहरू कौरव पक्षले गौहटी (हाल आसाम राज्यको गुहाटी) पु¥याएको किम्वदन्ती छ । पाण्डव पक्षका वीर योद्धा बृहन्नला (जो नपुंसक थिए) को रूपमा लुकेर बसेका अर्जुनले लुटिएका गाईहरू कौरवहरूसँग युद्ध गरी फिर्ता ल्याउँदा अत्यन्तै तिर्खाएकाले जलदेवता भगवान शिवको आराधना गरी जमिनमा पर्जन्य अश्त्र (वाणको माध्यमले पानी निकाल्ने यन्त्र) ले पानी निकालेर गौमातालाई खुवाएको स्थानका रूपमा यस ठाउँलाई लिइन्छ ।
जुन स्थानमा अहिलेपनि निरन्तर धाराको रूपमा पानी बगिरहेको हुनाले यसलाई अर्जुनधारा धाम भनिएको हो । यस धाममा प्रत्येक वर्ष बालाचतुर्दशी र श्रावण महिनाभर मेला लाग्ने गर्दछ । अर्जुनधारासंगै लुकानी र पाण्डवपुर पनि महाभारतकालीन इतिहास बोकेका ठाउँ हुन् ।






























