झापा,

लकडाउनले ठप्प भएका झापाका सीटीसी चिया उद्योग वैशाख ७ गतेदेखि खुल्ने भएका छन्।
जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको बैठकमा विभिन्न बुँदामा निर्णय गर्दै जिल्लाका चिया उद्योग खुलाइने सहमति भएकाे हाे। झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको नेतृत्वमा बसेको बैठकमा चिया उद्यमी तथा मजदुर सङ्गठनका प्रतिनिधिहरूको उपस्थितिमा लकडाउन उल्लंघन नगर्ने सर्तमा पाँच बुँदे निर्णय गरिएको छ।
जिल्लाका चिया उद्योगहरू सञ्चालन, व्यवस्थापन तथा नियमनका लागि स्थानीय तहहरूसँग समन्वय गर्ने, सामाजिक दूरी कायम गरी चियाकाे पत्ती टिप्ने, कामदारहरूलाई हात धुने साबुन, स्यानिटाइजर, मास्क अनिवार्य व्यवस्था गरी प्रयोग गराउने, चिया ढुवानी गर्ने गाडीमा ब्यानर राख्ने र चिया बगानमा हरियो पत्ती तौल गर्दा भिडभाड हुन नदिने निर्णय भएको नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार मित्तलले जानकारी दिए।
साथै कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि तोकिएको मापदण्डबमोजिम चिया उद्योग सञ्चालन भएको वा नभएको बुझ्न अनुगमन समितिसमेत गठन गरिएको छ। समितिमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड कार्यालय बिर्तामोड, झापा उद्योग संघ, नेपाल चिया उत्पादक संघ र चिया मजदुर ट्रेड युनियनका प्रतिनिधि रहने निर्णय भएको चिया उत्पादक संघका सल्लाहकार जेपी शर्माले जानकारी दिए।
बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राई, नेपाल चिया उत्पादक संघ अध्यक्ष सुरेशकुमार मित्तल, झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकाल, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड बिर्तामोडका क्षेत्रीय प्रमुख रामसकवाल यादव, मजदुर संगठनका नेताहरू दीपक तामाङ, यज्ञप्रताप अधिकारी, सीता सापकोटा, सहीकुमार राई, भूपाल सापकोटा, चिया उद्योगीहरू आदित्य पराजुली, भक्ति अधिकारीलगायतको उपस्थिति थियो ।
जिल्लामा ३२ वटा निजी, चार वटा सहकारी, एउटा निगम गरी ३७ वटा सीटीसी चिया उद्योग छन्। चैत ११ देखि हालसम्मको लकडाउनले जिल्लामा करिब ३० देखि ३५ लाख तयारी सीटीसी चिया, डेढ करोड किलो हरियो चिया पत्ती नष्ट भएको चिया उत्पादक संघका अध्यक्ष अग्रवालले जानकारी दिए।
यस वर्षको सिजन नै चैतदेखि सुरु भएको उनले बताए। उनले भने, ‘लकडाउनले चिया उद्योग बढी प्रभावित बन्यो, बगानमा हरियो चिया पत्ती नष्ट भई काट्नु पर्यो लामो लकडाउनका कारण चिया मजदुरहरुले पनि उद्योग घेराउ गर्न थालिसकेका थिए। मजदुरहरूले काम देऊ वा ज्याला देऊ माग्न थालेपछि सल्लाहबमोजिम उद्योग सञ्चालन गर्न लागेकाे अग्रवालले बताए।






























