कृष्ण ढकाल,
गाउँ ,घर, समाज र देशबाट टाढा हुदै रोजगारीको सिलसिलामा आज लाखौंको संख्यामा युवाहरु आफ्नो पसिना र श्रम बेच्न परदेशिएको तितो यथार्थ हामीमाझ छदैछ र यो एउटा नेपालीहरुको बाध्यता पनि बनिसक्यो ।
व्याप्त बेरोजगारबाट पिल्सिएर पारिवारिक खुसी समेट्ने उदेश्यले अरुको देशमा गई श्रमसंग पैसा साट्नु नै आजकल नेपालीको जिवनशैली बनिसक्यो । परदेशको यात्रामा निस्किएका युवाहरूलाई वैदेशिक रोजगारको सिलसिलामा ठाउँठाउँमा कठिनाईहरु नआएको त पक्कै थिएन अझ त्यसमाथि ती परिस्थितिहरु भन्दा अलि फरक र जटिल समस्याको रुपमा चिनबाट सुरवात भइ युरोप , अमेरिका हुदै अहिले संसारभर महामारीको रुपमा फैलिरहेको भाइरस ऋइख्क्ष्म् ज्ञढ ( कोरोना ) ले देश बाहिर रहेका नेपालीहरुलाई अझ धेरै त्रसित , आतंकित र असहज बनाइरहेको छ ।
देश , परिवार र आफन्तबाट टाढा रहेको पीडा त छदैछ अझ त्यसमाथि कोरोनासंग जुधिरहेको दैनिकी पनि छ । एकातिर लकडाउनमा बस्नुपर्ने बाध्यताका कारण उनीहरुले पाउने पारिश्रमिक नपाएपछि दैनिक उपभोग्य खाघ सामान खरिद गर्न नसकेर भोकै बस्नुपर्ने अवस्था छ भने अर्को्तिर खाघ सामाग्रीको समेत अभाव देखा पर्न थालेको छ ।
यस्तो अवस्था सिर्जना हुदै गर्दा परदेशमा नेपालीहरु कोरोना संक्रमणको सिकार भएको खण्डमा उनीहरुले राम्रो उपचार र कोरेन्टाइनको सुबिधा पाउने कुरामा पनि दुबिधा उत्पन्न हुनेछ किनकि नेपाली श्रमिकहरु जुनजुन देशमा गएर श्रम गरिरहेका छन् अधिकांश त्यही मुलुकहरुमा कोरोनाको संक्रमण ज्यादा फैलिरहेको बेला आफ्नै देशका नागरिकको सुरक्षामा चुनौती थपिएको यो समयमा तोस्रो मुलुकबाट श्रम गर्न आएका नेपालीहरु दोस्रो दर्जामा पर्नु कुनै नौलो कुरै भएन।
हाल मलेसिया , दुबै , अमेरिका लगाएतका अन्य देशहरुमा रहेका नेपालीहरुमा कोरोनाको संक्रमण देखा पर्न सुरु गरिसकेको छ उनीहरुलाई राम्रो उपचार र कोरेन्टाइनको असुबिधा भई अन्ततः कोरोना संक्रमणबाट मृत्यु भएको अवस्थामा परदेशमा रहेका नेपालीको शवले आफ्नो देशको एक मुठ्ठी माटो समेत नपाउदै परदेशमै आफ्नो जिवनलिला समाप्त गर्नुको बिकल्प रहने छैन।
देशको अर्थतन्त्रमा मेरुदण्डको रुपमा काम गरेर नेपाललाई ठुलो आर्थिक टेवा पुर्याइरहेको एउटा प्रमुख स्रोत हो ’ रेमिटेन्स “ ! जो वैदेशिक रोजगारमा गएका लाखौं युवाहरु मार्फत मिल्दछ । तिनै नेपाली युवाहरु यो महामारीको जोखिममा पर्नु भनेको देशको नागरिक संगसंगै अर्थतन्त्र पनि जोखिममा पर्नु हो ।
यो अवस्थामा सरकार संवेदनशील बनेर सम्बन्धित देशका नेपाली राजदुतावास मार्फत उक्त देशमा रहेका नेपाली नागरिकको संरक्षण गर्नु सरकारको जिम्मेवारी र दायित्व पनि हो । तर सिमाना जोडिएको देशहरूमै नेपालीहरु अलपत्र परेका खबरहरु दिनप्रतिदिन संचार माध्यम र सामाजिक संजालतिर देख्न र पढ्न पाइन्छ । यस्ता घटनाक्रमहरुले खाडी , युरोप र अन्य मुलुकहरुमा रहेका नेपालीहरुको आत्माबल कमजोर त बनाएको छ नै उनीहरुले देश र सरकारलाई हेर्ने दृष्टिकोणमा समेत फरक पर्दै गइरहेको छ ।
आफ्नो मात्रीभुमिका लागि पराई मुलुकमा आफ्नो उर्भर समयलाई रगत र पसिनासंग सिंचिएर आफ्नो दैनिकी गुजारिरहेका लाखौंको संख्यामा रहेका नेपालीहरुप्रति सरकार संवेदनशील बन्नुपर्छ। उनीहरुले सरकारबाट राखेका अपेक्षालाई देश भित्रका नागरिक भन्दा अझ माथि राखेर संवोधन गर्दै उनीहरुलाई सुरक्षित राख्न तुरुन्त नयाँ कदम चाल्नुपर्ने देखिन्छ । अलपत्र परेका नेपालीहरुलाई सकेसम्म स्वदेश फर्काउने र नसकेको खण्डमा सम्बन्धित देशमै सुरक्षित रुपमा राख्न पहल गर्नुपर्छ ।

























