बाँकेमा कोरोनासँगै बाढीको कहर

0
676

राँझा,

कोरोनाको जोखिम कम नहुँदै बाँकेमा बाढीको कहर शुरु भएको छ । राप्ती नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा डुबानको खतरा बढेको छ ।

पहाडी भेगमा लगातार भइरहेको वर्षाका कारण नदीमा पानीको सतह बढेपछि यहाँको राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको नदी नजीकका बस्ती डुबानको जोखिममा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत गौरी बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नदीमा बाढी आउनसक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । शनिवार रातिसम्म नदीमा पानीको सतहले खतराको तह पार गरे पनि अहिले घटेको छ । यद्यपि वर्षा नरोकिएकाले राप्ती नदीको बाढी गाउँमा पस्न सक्ने जोखिम बढेको छ ।

बाढीको सूचना प्रवाह गर्न राप्तीसोनारी गाउँपालिकाको बाढी मापन गर्ने गरिएको छ । कुसुमबाट राप्ती नदीको बाढी तल्लो तटीय क्षेत्रमा आइपुग्न करीब ४ देखि ५ घण्टा समय लाग्ने भएकाले कुसुममा पानीको सतह पाँच मिटर पुग्ने बित्तिकै खतरास्वरुप नदी छेउछाउमा साइरन बजाइन्छ ।

नदीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुग्ने बित्तिकै राप्ती नदी आसपासका दर्जनौँ गाउँ डुब्ने गर्छन् । भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रुपले बग्न नपाउँदा नेपाली भूभाग डुबानमा पर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here