ताप्लेजुङमा मुख्य दलहरुको उम्मेदवारको टुङ्गो लाग्यो,चुनावी माहोल तात्दै

0
463

सन्तोष पुर्कुटी
ताप्लेजुङ, असोज, १५ । ताप्लेजुङ जिल्लामा मुख्य दल सहित अन्य दलको आसन्न संविधानसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारको टुङ्गो लागेको छ ।

जिल्लादेखि सिफारिस भएका मध्येबाट सबै पार्टीको केन्द्रीय कार्यालयले टिकट
पाउनेका नाम चयन गरी सकेपछि उम्मेदवारको टुङ्गो लागेको हो । जसअनुसार एकीकृत नेकपा (माओवादी) को ताप्लेजुङ क्षेत्र नम्बर १ बाट सञ्चपाल मादेन उम्मेदवार बन्नुभएको छ । त्यस्तै क्षेत्र नम्बर २ का लागि टङ्क आङ्बुहाङ उम्मेदवार बन्नुभएको छ । मादेन अघिल्लो संविधानसभा ताका समानुपातिक कोटाबाट सभासद नै हुनुहुन्थ्यो भने आङ्बुहाङ पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ ।

यस्तै नेपाली काँग्रेस पार्टीको तर्फबाट क्षेत्र नम्बर १ का लागि लिला बोखिम उम्मेदवार बन्नुभएको छ भने क्षेत्र नम्बर २ बाट प्रतापप्रकाश हाङ्गाम उम्मेदवार बन्नुभएको छ । उम्मेदवारको टिकट पाउने बोखिम नयाँ अनुहार हुनुहुन्छ भने हाङ्गाम अघिल्लो निर्वाचनमा पनि उम्मेदवार नै हुनुहुन्थ्यो ।

यसैगरी नेकपा एमालेको क्षेत्र नम्बर १ बाट भूपेन्द्र थेबे उम्मेदवार बन्नुभएको छ । क्षेत्र नम्बर २ बाट डम्बरध्वोज तुम्बाहाम्फे उम्मेदवार बन्नुभएको छ । थेबे नयाँ अनुहारकोहुनुहुन्छ भने तुम्बाहाम्फे पूर्वसभासद हुनुहुन्छ ।

यता अन्य दलहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीले क्षेत्र नम्बर १ र २ बाट एकै व्यक्ति चन्द्र मादेनलाई उम्मेदवार बनाएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले क्षेत्र नम्बर १ बाट अमिर मादेन र क्षेत्र नम्बर २ बाट इन्द्र थापालाई उम्मेदवारको टिकट दिएको छ ।

यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीको क्षेत्र नम्बर १ बाट प्रकाश एङ्देन र क्षेत्र नम्बर २ बाट यामकुमार आङ्बुहाङ उम्मेदवार बन्नुभएको छ । यस्तै संघीय लिम्बुवान राज्य परिषद (सञ्जुहाङ पालुङ्वा) पक्षले क्षेत्र नम्बर १ मा कुमार साम्यो र क्षेत्र नम्बर २ मा गजेन्द्र आङ्बुहाङलाई उम्मेदवार बनाएको छ भने संघीय समाजवादी पार्टी नेपालले क्षेत्रनम्बर १ मा सुवास पालुङ्वा र २ मा योगराज वनेमलाई प्रत्यक्ष उम्मेदवार बनाएको छ ।

यसरी जिल्लामा सबै पार्टीको प्रत्यक्ष तर्फका उम्मेदवारको टुङ्गो लागेपछि निर्वाचनको माहोल थप तात्तिएको छ । खासगरी मुख्य दलहरु एमाओवादी, काँग्रेस र एमालेले आफ्नो जित सुनिश्चित गर्नलाई जिल्लाको सापेक्षतामा निर्वाचनको रणनीति बनाउँदैछन् । गत २०६४ सालको संविधानसभा निर्वाचनमा क्षेत्र नं. १ मा नेपाली काँग्रेस र क्षेत्र नं. २ नेकपा एमाले विजयी भएको थियो । यसपटक तीन वटै दलले आ–आफ्नो विजय सुनिश्चित हुने दावी गर्दै आएका छन् ।