राजकुमार पोखरेल,
प्रजातन्त्रवादी विचारक सिके प्रसाईं, भरत बाबुले हाम्रो समाजलाई अमूल्य बिचारहरु दिएर जानु भएको छ । उहाँका विचारहरु नेपाली राजनीतिलाई पथ प्रदर्शन गर्न अति उपयुक्त रहेको पाइन्छ । उहाँबाट व्यक्त एउटा विचारलाई चर्चा गरी हेरौं । उहाँ भन्नुहुन्छ कि– ‘यो संसारमा निरालोच्य व्यक्ति कोही हुँदैन । जो जति शक्तिशाली हुन्छ । ऊ उति आलोच्य हुन्छ । किनकि आलोचना पर कोही हुँदैन ।’ उहाँको विचारलाई हेर्दा ध्रुव सत्य झैं लाग्छ । यसका लागि हामी आफू बसेको गाउँ, टोल, समाज, देश हुँदै विश्वका चर्चित व्यक्तिहरुलाई हेरौं । आफ्नो पेट पाल्नलाई व्यस्त रहेको साधारण व्यक्तिदेखि समाजमा विभिन्न पेशा व्यवसायमा सक्रिय र मान–सम्मानले विभुषित व्यक्तिहरुलाई नियालौं । हरेकको आलोचना भएको पाउँछौं । आलोचना गर्ने र आलोचित हुने व्यक्तिको कुनै निश्चित वर्ण, लिङ्ग, जात, धर्म र हैसियत हुँदैन । व्यक्तिको कुरा परै छोडौं । आफैंले परापूर्वकालदेखि मानी आएका भगवान राम, कृष्ण लगायत थुप्रै देवी–देवताहरुको समेत आलोचना हुने गरेको हामीले सुनेका पढेका छौं । बिभिन्न धर्म, सम्प्रदायमा पनि उनीहरुले मानी आएको ईश्वर, उनका पुत्र र दूतहरुको पनि त्यसै सम्प्रदाय भित्रबाट आलोचना हुने गरेको हामीले पाएका छौं ।
विश्वका महान वैज्ञानिकहरु, साहित्यकारहरु, विद्वानहरु जसको आविष्कार र ज्ञानलाई आज हामी उपयोग गरिरहेका छौं । उहाँहरुको पनि आलोचना भएको हामीले पढेका छौं । सापेक्षवादको सिद्धान्त प्रतिपादन गरेर आजको भौतिक शास्त्रलाई मार्गनिर्देश गर्ने विश्व विख्यात वैज्ञानिक अल्बर्ट आईन्सटाईनले त आलोचना मात्र होइन ः आफ्नो जन्मभूमि छोड्नु पर्नेदेखि राज्यविहीनको अवस्था भोग्नुपरेको थियो भनेर पढेका छौं । त्यसमा पनि राजनीतिकर्मीहरुको आलोचना हुनुलाई स्वभाविक मान्नुपर्छ । जो सत्तामा पुगी सके उनीहरुको पनि आलोचना भएको थियो । अझ जो अहिले सरकारमा बहाल छन् । उनीहरु सर्वाधिक आलोच्य हुनु स्वभाविक हो । जति शक्तिशाली राजनीतिज्ञ र शासक ः त्यति नै बढी आलोचना हुनु सामान्य बिषय हो भनेर भरत बाबु भन्नुहुन्छ । उदाहरणको लागि हाम्रा वीर शहीदहरु दशरथ चन्द, गंगालाल, धर्मभक्त र शक्रराजलाई हेरौं । उहाँहरुको बारेमा पनि हामीले आलोचना सुनेका छौं । हामीले सम्मान दिएका हाम्रा अग्रज नेताहरु वीपी कोइराला, कृष्णप्रसाद भट्टराई, पुष्पलाल श्रेष्ठ, गणेशमान सिं , मनमोहन अधिकारी र मदन भण्डारी आदीलाई पनि हेरौं । उहाँहरुका बारेमा बेला–बेलामा आउने गरेको नकरात्मक टिका–टिप्पणीबाट हामी पूर्णरुपमा अवगत नै छौं ।
देश र जनताको समृद्धिका लागि आफ्नो अमूल्य जीवन, धन सम्पत्ति, परिवार सबै माया मारेर संघर्ष र क्रान्तिमा होमिएर कष्टकर जीवन भोगेका झापाली नेताहरु सिके प्रसाईं (भरत बाबु), रामबाबु प्रसाईं, तुर्सा हेमरम, भूविक्रम नेम्वाङ, पूर्णानन्द शर्मा, जीतबहादुर पुरी, अम्बिका रिजाल, रत्नकुमार कार्की, रामबहादुर डाँगी प्रजातन्त्रवादीहरुको, त्यसमा पनि नेपाली कांग्रेसको नेताको रुपमा समाजमा चिनिनु हुन्छ । वामपन्थी नेताहरु भनेर रामनाथ दाहाल, सीपी मैनाली, आरके मैनाली, केपी ओली, नरेश खरेल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ, द्रोणाचार्य क्षेत्री, मनकुमार गौतम आदि चिनिनु हुन्छ । क्रान्तिका लागि उहाँहरुले अङ्गिकार गरेको विचार अलग–अलग थियो । तर, उद्देश्य भने देश र बहुसंख्यक जनताको समृद्धि नै थियो । हाम्रा यी नेताहरु पनि आलोचना मुक्त हुनुहुन्न ।
अहिले विश्व नै कोभिड–१९ को महामारीबाट ग्रसित रहेको छ । कोभिड–१९ सँग लड्न पूर्व तयारीका अवस्थामा संसारका शक्तिशाली राष्ट्रहरु नै सफल देखिएनन् । त्यसैले हाम्रो जस्तो आर्थिक रुपमा कमजोर देशले यस्ता महामारीसँग जुध्न पूर्व तयारी गर्न नसक्नु स्वभाविक नै थियो । कोरोनाबाट नागरिकको जीवन रक्षा गर्न सरकारले बेलैमा बुद्धि पु¥याएर लकडाउन प्रक्रिया अवलम्वन ग¥यो । नागरिकले दुःख–कष्ट भोग्नु प¥यो होला । तर, पनि सरकारको यस कदमलाई नागरिकले अनुमोदन गरी दिए । अहिले कोरोना संक्रमण समुदायमा पुगेर संक्रमितहरुको संख्या बढिरहेको छ । रफ्तार बढ्दै गएमा अस्पताल र स्वास्थ्यकर्मीले धान्न नसक्ने भनेर स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जानकारी दिई सकेका छन् । यसैले नागरिकको जीवन जोखिममा छ ।

उपचार नपाएर अकालमा मर्ने सम्भावना बढेर गएको छ । स्थानीय सरकारहरुले संक्रमण रोक्न भनेर निशेधाज्ञा र लकडाउनको विधि अख्तियार गरि रहेका छन् । जनताको जीवन झन्–झन् कष्टकर बन्दैछ । यस्तो बेलामा के सत्ता पक्ष वा के विपक्ष सबै एकजुट भएर कोभिड–१९ बाट नागरिकको जीवन रक्षा गर्न तत्परता देखाउनुपर्ने हो । नागरिकको जीविका उपार्जन र देशको अर्थतन्त्र जोगाउन सबै क्षेत्रबाट चिन्तन र चिन्ता गर्नुपर्ने बेला थियो । तर, देश चौतर्फी रुपमा समस्याग्रस्त भएको बेला प्रधानमन्त्री केपी ओलीको आलोचना जोडतोडले भइरहेको छ । प्रधानमन्त्रीको कार्यकाल समाप्त भएपछिको आलोचना हुन्थ्यो भने स्वभाविक ठानिन्थ्यो । सरकारको मध्य कार्यकालमा भएको आलोचनालाई सामान्य रुपमा लिन मिल्दैन । अहिले चलेको आरोप÷प्रत्यारोप कुनै व्यक्ति वा दल बिशेषको सरोकारसँग मात्र गाँसिएको छैन । किनकि यस आन्तरिक द्वन्द्वको परिणामको मूल्य देश र जनताले चुकाउनुपर्ने हुन्छ । देशले ठूलै क्षति व्यहोर्नुपर्ने पनि हुन सक्छ । अहिले सामाजिक सञ्जालहरु, विद्वान बिश्लेषकहरु र सञ्चारमाध्यमहरु पनि पक्ष र विपक्षमा बिभक्त छन । कसैको आलोचना हुनु स्वभाविक भए पनि प्रधानमन्त्रीको आलोचनालाई भने स्वयम् प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनु पर्छ ।
सिके प्रसाईंका अनुसार संसारका धेरै क्रान्तिकारी नेताहरुले क्रान्तिलाई त सफलतापूर्वक सम्पन्न गर्नुभयो । जब शासनको बागडोर आफ्नो हातमा आयो । उहाँहरु असफल बन्नु भएको थियो । उदाहरणको रुपमा उहाँले इण्डोनेसियाका सुकार्नो र घानाको नेता एनक्रुमालाई लिनु भएको छ । क्रान्तिताका उहाँहरु आफ्ना देशका जनताका आँखामा ताराको रुपमा हुनुहुन्थ्यो । तर, क्रान्ति सम्पन्न भएपछि उहाँहरु सफल शासक होइन कि असल प्रशासक पनि बन्न सक्नु भएन । त्यसैले उहाँहरु जनताको नजरमा तगारो बन्न पुग्नु भयो । हाम्रो प्रधानमन्त्रीले पनि लामो र कठिन संघर्ष पछि यो उचाई हाँसिल गर्नु भएको हो । उहाँले सफलता प्राप्त गर्नु भनेको देश र जनताको सफलता हो । सुकार्नो र एनक्रुमा जस्तै थुप्रै असफल क्रान्तिकारीहरुले गरेका गल्ती कमी÷कमजोरी उहाँको लागि शिक्षाप्रद हुनेछ ।
घर, गृहस्थी चलाउँदा त कमी÷कमजोरी हुन्छ भने सरकार चलाउँदा कमी÷कमजोरी हुनु स्वभाविक हो । यसमा सरकारको नेतृत्व गर्ने व्यक्तिको आलोचन हुनु स्वभाविक हो । तर, नेतृत्वले आलोचना भयो भनेर भन्दा पनि कमजोरी कहाँ–कहाँ भयो भनेर सच्चिएर हिँड्न खोज्नु बुद्धिमानी देखिन्छ । संसारका सफल राजनीतिज्ञ र शासकहरु जो स्थापित र चर्चाको शिखरमा पुग्नु भएको थियो । उहाँको व्यक्तित्वलाई सम्झना गरेर हेरौं । हामीलाई लाग्छ कि उहाँहरुसँग ज्ञानको अपार भण्डार रहेको थियो । उहाँहरुको व्यक्तित्व असाधारण र बहुआयामिक थियो । यथार्थमा यस्तो संयोग बिरलै हुन्छ । निश्चितरुपमा सफल मानिसहरुसँग कुनै बिशेष गुण हुन्छ । जसले उसलाई अघि बढ्न सहयोग पु¥याएको हुन्छ । तर, असाधारण बहुआयामिक व्यक्तित्व निर्माण गर्न भने एक्लैले कठिन हुन्छ । यसमा पर्दा पछाडिबाट कसै न कसैको भूमिका रहेको इतिहासमा पढ्न पाइन्छ । सर्सती हेर्दा पनि एउटै व्यक्तिले राजनीति शास्त्र, अर्थशास्त्र, समाजशास्त्र, परराष्ट्र नीति, शिक्षा नीति, स्वास्थ्य नीति, कृषि नीति, जलश्रोत, यातायात, सडक र न्याय प्रणालीमा विज्ञता हाँसिल गर्न सक्दैन ।
ती बिषयहरुमा सामान्य ज्ञान हुनुलाई विज्ञ छु भनेर ठान्नु केवल घमण्डपन र मुर्खता नै हो । त्यसैले यस्तो सोचाईले बिनास नै निम्त्याउने गर्छ । रावण विद्वान थिए भन्नलाई उनको दशवटा टाउको थियो भनिएको हो । उनी धेरै बिषयहरुमा जानकार पनि थिए । तर, बिडम्बना यही ज्ञानको कारण उनीमा उन्माद र घमण्ड थियो । जसका कारण उनले विनास भोग्नु प¥यो भनेर हामीलाई रामायणको कथाले भन्छ । सिके प्रसाईंका अनुसार सफल राजनीतिज्ञ र सफल शासक बन्ने इच्छा शक्ति स्वयम् व्यक्तिमा हुनुपर्छ । जसले यस्तो बिचार राख्छ उसले सल्लाहकारबाट सुझाव र सूचना लिने गर्छ । उसले सल्लाहकारका रुपमा पहिले बिषय विज्ञलाई खोज्छ । त्यसमा आफ्नो विचार पनि मिले सुनमा सुगन्ध हुन्छ भनेर अनि उसलाई सल्लाहकार रोज्छ । किनकि सफलताको चाहना राख्नेले विज्ञहरुलाई कुनै विचार वा वादको साँघुरो घेराभित्र खोज्ने रोज्ने काम गर्दैनन् । हामीले योग्य सल्लाहकार राखेर सफलता प्राप्त गरेको र अयोग्य सल्लाहाकारको कारण राज्य सत्ता गुमेको, असफलता हात लागेको दुबै इतिहासमा पढ्न सक्छौं । सल्लाहकार त्यस्तो कुनै पद होइन, जहाँ आफ्ना नजिककालाई जागिर खुवाउन राखियोस् ।
त्यसैले प्रधानमन्त्री केपी ओलीको अहिले भइरहेको आलोचनामा उहाँ स्वयम्ले नै चिन्ता होइन चिन्तन गर्ने हो । गल्ती कमजोरी देखिए सच्चिने हिम्मत गर्नुपर्ने समय हो यो । उहाँको विगतको त्याग र संघर्षको सम्मान बनाई राख्ने भूमिका उहाँ कै हो । नेपालमा विधिको शासन र लोकतन्त्रको मूल्य–मान्यताको अवमूल्यन र उपहास हुनबाट बचाउने दायित्व पनि उहाँ मै रहन्छ । किनकि नेपाली जनता उहाँ सफल भएको हेर्न चाहन्छन् । प्रधानमन्त्रीज्यू यो संसारमा निरालोच्य कोही हुँदैन । तपाईं पनि हुनुहुन्न । त्यसैले चिन्ता गर्ने होइन, बिलम्ब नगरी चिन्तन गर्नुहोस् । सफलता तपाईलाई चुम्न आतुर छ ।


























