अबको नेपाली श्रम बजार कस्तो रहला ?

२७ श्रावण २०७७, मंगलवार ११:१५ मा प्रकाशित
  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

udaya

Advertisement

पृष्ठभूमि
कोरोना भाइरसको प्रकोपबाट चाँडै छुटकारा मिल्ने छाँटकाँट देखिएको छैन । यो विषमताको घडीमा कति पनि धैर्यता नगुमाई लकडाउनको पूर्ण कार्यान्वयनमा साथ दिने नेपाली जनताको धैर्यताको जति प्रशंसा गरे पनि कम हुन्छ । तथापि लकडाउन र बन्दाबन्दीले पर्न गएको आम प्रभाव र असरप्रति गम्भीर रुपमा चर्चा र विमर्श नहुनु दुःखद् विषय हुन पुगेको छ । लकडाउनले पारेका बहुआयमिक असरहरुको मन्थन गर्ने क्रममा रोजगारी र आर्थिक क्षेत्रमा बढी केन्द्रित रहेर विश्लेषण गर्ने जमर्को गरेको छु ।

रोजगारीको अवस्था :

नेपालसँग काम गर्न सक्ने सक्षम जनशक्ति करिब २० मिलियन रहेको तथ्यांक श्रम शक्ति सर्वेक्षण २०१७÷०१८ मा देखाइएको छ । जसमध्ये करिब आठ मिलियन कुनै न कुनै रोजगारीमा छन् भने करिब ११.४ प्रतिशत योग्य जनशक्ति वेरोजगार रहेका छन् । जुन विश्वकै ३८औँ ठूलो जनशक्ति हो । नेपालको मुख्य रोजगारीको क्षेत्र कृषि नै हो, यसले कूल गार्हस्थ उत्पादनको २८ प्रतिशत हिस्सा मात्र ओगटेको छ । तर पनि रोजगारीको दुई तिहाईभन्दा बढी कामदारहरुलाई रोजगारी दिइरहेको छ । लाखौँ युवा जनशक्ति विज्ञताको अभावमा अकुशल श्रमिकका रुपमा विदेशमा काम गर्न बाध्य छन् भने यता गाउँघरमा भएको जमिन बाँझो छ, बालबच्चा, महिला र बृद्धबृद्धा जस्ता आश्रित जनसंख्याले गाउँघर भरिएको अवस्था छ ।

अधिकांश कामकाजी महिलाहरु कृषि मै निर्भर छन् । तर, तिनीहरुको आधिकारिक तथ्यांक कसैले राखेको छैन । औपचारिक क्षेत्रमा काम गर्ने महिलाहरुले भेदभावपूर्ण असमान तलब भत्ताको सामना गर्नु परिरहेको अवस्था छ । बालबालिका आधा संख्या मात्र आर्थिक रुपमा सक्रिय छ भने आधा बालबालिकाको एक चौथाई अझै पनि बाल मजदुरको रुपमा काम गरिरहेका छन् । बौद्धिक श्रमिकको क्षमता र आवश्यकता अनुरुपको काम र दाम नहुनाले बर्षेनि लाखौँ बौद्धिक श्रम कामको खोजीमा विदेशी श्रम बजारतर्फ आकर्षित भएका छन् ।

नेपाल एक विकाशसील राष्ट्र भएकाले यहाँ कुशल जनशक्तिको कमी हुनु स्वभाविक हो । त्यसैले यहाँको वेरोजगारी दर उच्च छ । भएका अदक्ष र अर्ध दक्ष जनशक्ति पनि विदेश पलायन छ । खासगरी मलेसिया, खाडी राष्ट्रहरुमा श्रम बेचिरहेका छन् । अर्कातिर भएका दक्ष र कुशल जनशक्ति अमेरिका, युरोप, अष्ट्रेलिया जस्ता विकसित देशमा बसाइँ सरेका छन् । श्रम शक्ति सर्वेक्षण २०१७÷०१८ अनुसार ६२.३ प्रतिशत जनशक्ति अनौपचारिक क्षेत्रमा कार्यरत छन् ।


अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले भर्खरै सार्वजनिक गरेको एक प्रतिवेदनले सन् २०२० को मध्यसम्ममा कोरोनाको कारण संसारभर नै धेरैको रोजगारी गुम्ने अवस्था रहे पनि सबैभन्दा धेरै खाडीका क्षेत्रमा आठ दशमलव एक प्रतिशत अर्थात् ५० लाख जनाको पूर्णकालीन रोजगारी गुम्ने देखाएको छ । उक्त प्रतिवेदनमा खाडीपछि यूरोपमा सात दशमलव आठ प्रतिशत अर्थात् एक करोड २० लाख, एशिया तथा प्यासेफिक क्षेत्रमा सात दशमलव दुई प्रतिशत अर्थात् एक अर्ब २५ करोड जनाको पूर्णकालीन रोजगारी गुम्ने अवस्था छ ।

नेपालमा पनि निजी क्षेत्रसहित आंकलन गर्दा छ देखि सात लाख नेपालीको रोजगारी गुम्ने सम्भावना रहेको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपध्यक्ष माधव ढुंगेलले बताए । करिब २० लाख युवाको व्यवस्थापन गर्नुपर्ने दायित्व सरकारसँग रहेको उनले बताए । साथै, विदेशबाट नेपाली फर्किरहँदा नेपालको जिडिबीमा ठूलो परिवर्तन आउने राष्ट्रिय युवा परिषद् कार्यकारी उपध्यक्ष माधव ढुंगेलको भनाई छ । सरकारले कोभिड–१९ का कारण रोजगारी गुमेर विदेशमा अलपत्र परेका नेपालीको उद्धार गरिरहेको छ ।

यता, विदेशबाट उद्धार गरेर ल्याएका नेपालीहरुका लागि सरकारले विभिन्न बैंकहरुबाट, स्वरोजगार कोषहरुबाट अथवा विभिन्न सहकारी अथवा वित्तीय संस्थाहरुबाट लगानी गर्ने खालको नीति ल्याएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरे बताउँछन् । प्रमुख गन्तव्य मुलुकका रुपमा रहेको खाडी र मलेसिया गरेर हाल करिब १५ लाख नागरिक त्यहाँ कार्यरत रहेको र आप्रवास संगठनको आँकडा अनुसार २३ लाख मानिस अहिले विदेशमा कार्यरत रहेको अनुमान गरिएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेका अनुसार विदेशबाट यति नै नागरिक व्यरोजगार भएर आउन सक्ने आँकडा दुतावासले संकलन गरिरहेको छ ।

कोरोना महामारीले श्रमिक कटौती हुने र रोजगारी घुम्ने अवस्थाले सन् २००८÷२००९ को आर्थिक मन्दीले भन्दा बढी असर गर्ने र यसले मध्यम आय भएका देशलाई सबैभन्दा धेरै असर गर्ने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले अनुमान गरेको बेला सरकारले विदेशबाट फर्किएका र स्वदेशमै वेरोजगार रहेका युवालाई स्वदेशमै स्वरोजगार बनाउनका निम्ति समयमै आवश्यक कदम चाल्न जरुरी छ ।

नेपाली श्रमिकलाई पहिलो रोजगारीमा प्राथमिकता :

श्रम स्वीकृती नलिई काम गर्ने विदेशीको संख्या दिनानुदिन बढ्दो छ । सरकारसँग अवैध तरिकाले काम गर्ने विदेशीको तथ्यांक छैन । तर, विभिन्न अध्ययनले नेपालमा श्रम स्वीकृती नलिई काम गर्ने विदेशीको संख्या १० देखि १५ हजार रहेको छ । यी मध्ये कोही लुकीछिपी काम गरिरहेको छन् भने कोही कुटनीतिक दबावमा बिना श्रम स्वीकृती काम गर्दैछन् ।
यस्तो अवस्थाबाट पार पाउन विदेशी अध्यागमनले सिँधै भिषा दिने प्रचलन अन्त्य गरेर श्रम स्वीकृती दिने व्यवस्था मिलाउनु जरुरी छ । अझ भारतीय कामदारको लेखाजोखा छैन जो जति खेर मन लाग्यो काम गर्न थाल्दछन् । यस्तो हुनुमा नेपाली उद्योगी व्यवसायी पनि दोषी छन् । जसले सरकारको बिना इजाजत भारतीय कामदार भित्र्याएर काममा लगाउने गर्दछन् । यसबाट देशका वेरोजगारहरु अन्यायमा परेका छन् भने लाखौँ करोडौँ राजश्व पनि डुबिरहेको छ । अब नेपालको श्रम बजारलाई व्यवस्थित र मर्यादित बनाउने सुनौलो मौका आएको छ । कोरोना महामारीले गर्दा देश बाहिर गएर काम गर्ने अवस्था छैन भने भारत लगायत अन्य देशबाट कामदार ल्याएर काम लगाउने अवस्था छैन । यो अवस्थाको फाइदा उठाउन नेपाली श्रमिकलाई प्रयोग गर्नुको विकल्प छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here