सुरेन्द्र भण्डारी /झापा।

एम्बुलेन्स चलाएको दुई दशकभन्दा बढी भयो । तर, कोरोना संक्रमितलाई उपचारका लागि धरान लानु पर्दाको दिन जस्तो डर जीवनमा लागेको थिएन् । त्यो दिन म साँच्चै डराएँ ।
एम्बुलेन्स स्टार्ट गर्नुअघि १० पल्ट भगवानलाई पुकार्दै एम्बुलेन्सको स्टेयरिङमा ढोगेँ– एम्वुलेन्स चालक संघ प्रदेश नम्वर १का महासचिव जयबिन्द्र सिंहले भने– अहिले जस्तो सामान्य अबस्था भइदिएको भए म त्यो दिन त्यसरी डराउँदिन थिएँ ।
मरिन्छ भन्दा साँच्चै डरलाग्दो रहेछ, मलाई त्यही दिन थाह भयो– सिंहले भने– विश्वभर कोरोना संक्रमणका कारण हिजो यति मरेका थिए आज मर्नेको संख्या यति पुग्यो भन्ने बिहानबेलुकै समाचार सुनेर होला झापामा कोरोना संक्रमण देखियो भनेको सुन्दै म डराएको थिएँ । तर, डराएर पनि धर थिएन हामी एम्वुलेन्स चालकलाई जसरी पनि सेवामा खटिनै पर्ने थियो ।
असार १ वा २ गते हुनुपर्छ मेची अञ्चल अस्पतालको आइसीयूमा भर्ना भएका एक जना बिरामी सिरियस भएपछि उनलाई धरान लानुपर्ने भएछ– सिंहले भने – त्यो दिन मेरो ड्युटी थिएन, म बिराटनगर स्वाव पु¥याउन गएको थिएँ, अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सर (डा. पिताम्वर ठाकुर) आफैंले फोन गर्नुभयो र भन्नुभयो तपाईं जतिसक्दो चाँडो आउनु प¥यो । म झस्किएँ, सरले नभने पनि मलाई थाह भयो कि कोरोना संक्रमित बिरामीलाई मैले नै बोक्नुपर्ने भयो ।
फोन राख्ने बित्तिकै मेरो दिमाग हलचल भयो । विराटनगरबाट मनभरि कुरा खेलाउँदै झापा त आइपुगेँ, तर, अस्पताल जाने आँट आएन । शुरुमा कोठा गएँ, श्रीमतीलाई तातो पानी तताउन लगाएँ, चिया बनाउन लगाएर खाएँ– सिंहले भने– तातो चिया कतिछिटो पत्तै नपाइ खाएँछु, यादै भएन ।
तातोपानी तयार पार्दै गरेकी श्रीमतीले भन्दा पो म झस्किएँ, अनि भनेँ– हेरन आज एक जना कोरोना लागेको बिरामीलाई धरान लानु छ अस्पतालबाट फोन आएको छ, सर आफैंले फोन गर्नुभएको थियो– सिंहले भने– मैले घरमा त्यसो भनिनसक्दै उनी पनि डराइन्, नानीहरु पनि सानै छन् विचार गर्नु है मात्रै भन्दा मेरो होस् हवास उड्यो । श्रीमती र नानीहरु डराएको प्रष्ट थियो, तर आफ्नो ख्याल गर्नु है भन्दै श्रीमतीले आँट र हौसला प्रदान गर्दै अस्पताल पठाएको मलाई अहिले झैं लागिरहेको छ ।
डराउँदै एम्वुलेन्स लिएर अस्पताल पुगेँ– सिंहले भने– अस्पताल पुग्दा डाक्टरहरु नै पर–पर भए । मलाई त कोरोना लागेको थिएन नि सिंहले प्रतिप्रश्न गर्दै भने – बिरामी हुँदा बचाउने भगवान नै मलाई देख्दा तर्किएपछि मेरो हालत त्यो बेला कस्तो भयो होला ? विरामी निक्कै सिरियस रहेछन्, उनलाई छुने कोही भएन । घरबाटै पीपीई लगायतका आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री लगाएर गएकाले मैले नै बिरामीलाई एम्वुलेन्समा राख्नुपर्ने भयो– उनले भने– बिरामीका आफन्त र मैले नै बिरामीलाई एम्वुलेन्समा राखेर अक्सिजन लगाइदिँयौं । त्यो बेला जीवनमै धेरै डर लाग्यो । मेरो पनि बाँच्ने दिन सकिएछ झैं अनुभूति भयो ।
सँधैजसो बिरामी पु¥याउनु–ल्याउनु मेरो दैनिकी नै हो । तर, त्यो दिन त्यस्तो सिरियस बिरामी आफैंले धरान पु¥याउनु थियो, त्यो पनि कोरोना लागेको । मलाई एक्लै जाने आँट नै आएन– उनले भने– विरामीका आफन्त एक जनालाई संगै जाउँ भनेँ, शुरुमा मानेका थिएनन् पछि विरामी वीचमा लड्यो भने कस्ले उठाउँछ भन्दा बिरामीका एक जना भाइ जाने भए । बिरामी लाने सबै बन्दोबस्त मिलाएपछि एम्वुलेन्स लिएर अगाडि बढ्नु पर्ने भयो, गाडी स्टार्ट गर्ने आँट नै आएन– सिंह भन्छन्– दशपटक स्टेयरिङ ढोग्दै भगवान मलाई केही नहोस् भन्दै बिस्तारै गाडी स्टार्ट गरेर अगाडि बढाएँ ।
अस्पतालको मार्सल एम्वुलेन्स पुरानो छ एसी छैन– सिंहले भने– मनभरि डर त्यसमाथि पीपीई लगाएको छु । शरीरमा हावा कतैबाट छिर्दैन, खल्खली पसिना सरी भएर बिरामी लिएर धरान त पुगियो त्यहाँ पनि होल्ड गर्नुपर्ने भयो । झापाबाट कोरोना संक्रमित लिएर आएको भन्नासाथ सुरक्षाका लाग खटिएका प्रहरीहरु पनि परपर भागे । विरामीलाई छुने, समात्ने उनकै भाइ र म मात्रै भयौं । झण्डै २० मिनेटको होल्डपछि विरामीलाई अस्पतालमा पु¥याएको दिन सम्झँदा अहिले पनि आफैंले नयाँ जीवन पाएको जस्तो लाग्छ ।
बिरामीलाई अस्पताल छाडेपछि एक्लै घर फर्कनु पर्ने भयो, रातको झण्डै १२ वजेको हुँदो हो– सिंहले भने– जंगलको वाटो भए पनि सँधै वास्तै लाग्दैन थियो तर त्यो दिन म सबैभन्दा धेरै डराएको थिएँ । संयम र आँटले होला धन्न केही नभई घर आइपुगँे ।
घर आएलगत्तै मैले लगाएको पीपीई लगायत सबै सामग्री घर बाहिरै डीजेल छर्किएर जलाएँ । तातोपानीले नुहाएँ, तातोपानी मात्रै खाएँ । अहिले सम्झन्छु त्यो दिन मेरो लागि जीवनकै कठिन दिन भयो– सिंहले भने– मैले कोरोना संक्रमित बोकेको भन्दै सबैले छिछि र दुरदुर गर्दा कताकता पीर लाग्छ ।
यतिसम्मकी म कोरोना संक्रमित लिएर धरान गएर आएपछि आठ दिन होम क्वारेन्टाइनमा बसेँ । मेरो पीसीआर परीक्षण गरियो । कोरोना नेगेटिभ देखियो । त्यसपछि म बाहिर निस्किएँ तर पनि मलाई देख्ने वित्तिकै धेरै मानिस परपरै तर्किएर हिँडे । रुम नकिकैका साथी पनि तर्किएको देख्दा नरमाइलो हुँदोरहेछ– सिंहले भने ।
अहिले पनि म जस्तै धेरै जना एम्वुलेन्स चालकले डराई–डराई विरामी बाेिकरहेको अवस्था छ, तर, त्यस्तो साह्रो डराउनु नपर्ने रहेछ– उनले भने– आवश्यक स्वास्थ्य सुरक्षा सामग्री प्रयोग गरेर सचेत हुँदा यो रोग नसर्ने रहेछ ।
झापामा कोरोना संक्रमण भित्रिनुपूर्व नै एम्वुलेन्स चालक समिति जो प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहेको समिति हुन्छ त्यसले एक सय ५ वटा एम्वुलेन्सलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको थियो । निर्णय लगत्तै धेरै साथीले एम्वुलेन्स थन्क्याउनु पनि भयो केही एम्वुलेन्स चालकले त जागिर नै छाड्नु भयो– उनले भने– अहिले हाम्रो समाजमा कोरोना विस्तारै सामान्य बन्दै गएको छ । हिजो कोरोना संक्रमित लिएर हिँडेको एम्वुलेन्स चालक भन्दै मलाई जस्तै धेरै साथीहरुलाई समाजमा हेयका दृष्टिकोणले पनि हेरे । हामीलाई नराम्रो नजरले हेरेपछि प्रमुख जिल्ला अधिकारीलाई भनेर हामीले मुद्दाको तयारी पनि गरेका थियौं । तर, हाम्रो समाज हो सबैमा सबैखाले चेतना हुँदैन भन्दै चुप लागेर बस्यौं, अहिले अवस्था सामान्य बन्दै गएको छ ।
शुरुमा म जस्तै राजगढमा भेटिएको कोरोना संक्रमित बिरामी लिएर जानु भएका गरामनीका भक्तिप्रसाद भट्टराईले धरान पुगुञ्जेलमा तीन–चारपटक फोन गर्नुभयो, फोन गरे पटक उहाँ भन्नुहुन्थ्यो केही त हुँदैन नि । मलाई पनि त्यस्तै भएको थियो शुरुमा तर भन्ने कस्लाई ? म नै पहिलो पटक कोरोना संक्रमित विरामी लिएर धरान गएको थिएँ– सिंहले भने ।
अहिलेपनि यदाकदा हामी एम्वुलेन्स चालकलाई नराम्रो दृष्टिकोणले हेर्ने गरिन्छ त्यो गलत हो– उनले भने– हामी एम्वुलेन्स चालक सुरक्षित छौं । समय समयमा पीसीआर परीक्षण गरिरहेका हुन्छौं । आज हामीले विरामी नबोक्ने हो भने भोलि तपाई बिरामी पर्दा अस्पताल पु¥याउने मानिस को हुन्छ ? आफैं सोच्नुहोस् त । हामीलाई यो वेला हौसला चाहिएको छ । सबैको साथ र समर्थन भयो भने काम गर्ने ऊर्जा मिल्छ । म सबैलाई यही भन्न चाहन्छु कि– एम्वुलेन्स चालक कोरोना संक्रमित बिरामी बोकेकै कारण समाजमा उपेक्षित हुन नपरोस् ।
अहिलेमा मात्रै होइन बिर्तामोडमा तीन वटा र दमकमा तीनवटा एम्वुलेन्स तयारी अवस्थामा राखिएका छन् । त्यहाँ काम गर्ने चालक साथी हामी सबै सहकर्मी हौं । बीरता जेसीज, लक्ष्मी, कोसिहांङ प्राथमिक स्वास्थ्य केन्द्र धुलावारीको एम्वुलेन्स चालकसहित सबै चालकलाई म उच्च मनोवल राखेर आफ्नो ड्युटीमा खटिन र कुनै समस्या आए तत्काल सम्पर्क गर्न आग्रह गर्दछु । अझ पालिका स्तरमा पालिका आफैंले तयारी अवस्थामा राखिएका एम्वुलेन्स चालकले पनि महामारीको यो समयमा जोखिम मोलेर सेवा प्रदान गरिरहनु भएको छ, उहाँहरुलाई मनोवल उच्च राख्न आग्रह गर्दछु– सिंहले भने ।
म आफैंले पहिलोपटक त्यस्तो सिरियस अवस्थामा धरान पु¥याएका बिरामी कोरोना जितेर घर फर्कनुभयो– उनले भने– झापामा कोरोना संक्रमितमध्ये सबैजसो निको भएर घर फर्किरहनु भएको छ । कोरोना लाग्दैमा मरिहालिँदोरहेनछ तर सावधानी चाहिँ अपनाउनु पर्ने रहेछ । म सबैलाई सावधानी अपनाउन आग्रह गर्दछु ।






























