दीपक सुवेदीका अति उपयोगी पुस्तकहरु

1
4234

  प्रस्तुतिः   भुवन तामाङ

दीपक सुवेदी एक कुशल लेखक तथा स्रष्टाका रुपमा चिनिन्छन् । उनका कलम साहित्य क्षेत्रमा त चल्छ नै । त्यसका अलावा पाठ्य पुस्तक, सन्दर्भ पुस्तकहरु लेखनका क्षेत्रमा पनि उनका कलम उत्तिकै उत्साहजनक रुपमा चलेको पाइन्छ । जसबाट पाठक गण, विद्यालय तथा क्याम्पस शिक्षण सेवामा समर्पित रही शिक्षाको उज्यालो छरिरहेका गुरु–गुरुमा, विद्यार्थी र स्वअध्ययनशील पाठकवर्गलाई निकै लाभ पुग्ने देखिन्छ ।
पहिलो रचनाको रुपमा ‘आमा’ कथा संग्रह वि.सं. २०५५ सालमा प्रकाशन गरेपश्चात निरन्तर लेखन कर्ममा लागेका दीपक सुवेदीका नयाँ चारवटा पुस्तकहरु सँगसँगैजसो भर्खरै प्रकाशन भएका छन् । यी मध्ये तीन पुस्तकहरु विद्यालय तथा क्याम्पस क्षेत्रमा अति उपयोगी रहेका छन् । एउटा पुस्तक भने साहित्यिक कृतिको रुपमा रहेको छ । पुस्तकहरुबारे छोटो चर्चा पाठकहरु माझ प्रस्तुत छ ।

(१) सजिलो नेपाली वर्णविन्यास
यो पुस्तक नेपाली भाषा शुद्धसँग लेख्न चाहनेहरुलाई सजिलो होस भन्ने उद्देश्यले तयार पारिएको हो । यसमा व्याकरणका जटिल नियमहरुलाई पनि एकदमै सरल ढंगले प्रस्तुत गरिएको छ । पछिल्ला केही वर्षयता भाषिक शुद्धताका नाममा शरु भएको ब्याकरणगत अन्योलको निराकरण गर्ने कोसिस पनि हो यो पुस्तक । विद्यालय तथा क्याम्पस तहमा अध्ययन गरिरहेका विद्यार्थीहरु एवम् नेपाली भाषामा चासो राख्नेहरुलाई यो पुस्तक उपयोगी हुने विश्वास लेखक तथा प्रकाशकको रहेको छ ।

 

(२) मञ्जरी निबन्ध माला
यो पुस्तक कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थीहरुका लागि लेखिएको हो । यसभित्र निबन्धको परिभाषा, तत्व, विकास प्रक्रिया, वर्गीकरण, वस्तुपरकता, शिल्प, उपविधा, निबन्ध लेख्ने तरिका, लेखकमा हुनुपर्ने गुणहरु, परीक्षणका लागि मूल्याङ्कनका आधारहरु, शिक्षण, प्रक्रिया, शिक्षण क्रम आदिका बारेमा लेखिएको छ । पुस्तकको सिर्जना खण्डमा चारदर्जन नमूना निबन्धहरु समावेश गरिएका छन् । यी निबन्धहरुले माध्यमिक तह शिक्षण र अध्ययनमा सजिलोपन तथा उत्कृष्ता ल्याउने छ ।

 

(३) मञ्जरी बाल निबन्धमाला
यो पुस्तक आधारभूत तहका विद्यार्थीहरुका लागि तयार पारिएको हो । निबन्ध लेख्दा विद्यार्थीहरुले जान्नैपर्ने सैद्धान्तिक पक्षहरु जस्तो, विषयवस्तु, उद्देश्य, भाषाशैली, दृष्टिविन्दु आदिका बारेका जानकारीहरु एकदमै सरल भाषामा प्रस्तुत गरिएको छ । प्रायः विद्यालयहरुमा लेखाइने बहुप्रचलित शिर्षकहरुमाथिका निबन्धले विद्यार्थीलाई थप सिर्जनशील बनाउने छ । पुस्तकमा निबन्ध लेखन प्रतियोगिता आयोजना गर्दा ख्याल गर्नुपर्ने मूल्याङ्कनका आधारहरु, निबन्ध शिक्षण विधि र प्रक्रिया आदिका बारेका जानकारीहरु समेत समावेश छ । यसले शिक्षकहरुलाई निबन्ध शिक्षणमा समेत मद्दत पु¥याउने छ । यो पुस्तक पढेपछि निबन्ध लेख्ने कुरा विद्यार्थीका लागि बोझको विषय बन्दैन भन्नेमा लेखक र प्रकाशक ढुक्क रहेका पुस्तकमा उल्लेख गरिएका छन् ।

(४) नेपाली डायस्पोरा र अन्य सिर्जना
यस कृतिभित्र नेपाल बाहिरबाट नेपाली साहित्यमा भइरहेका प्रयोग, वाद, विचार, र शैलीमाथिको गहिरो विश्लेषण छ । यस कृतिबाट नेपाल बाहिरका प्रयोगशील स्रष्टा, तिनका कृति र विचारलाई चिन्न मद्दत पुग्ने छ ।
नेपाली साहित्यमा हङकङको योगदान विषयमा त्रिभूवन विश्व विद्यालयबाट २०६७ मा सोध पूरा गरी डायस्पोरा साहित्यको अध्ययनमा होमिएका लेखक सुवेदीको यो कृति डायस्पोराका बारे भइरहेका बहसका बारेमा बुझ्न र त्यसबारेमा सोध गर्न चाहनेका लागि यो अति उपयोगी कृति बनेर आएको छ ।
‘डायस्पोरा र नेपाली डायस्पोरिकता’, ‘परदेशीका कथाहरुमा नारीवादी दृष्टिकोण’, ‘नियात्रामा डायस्पोरिक नोस्टाल्जिया’, ‘ग्रिनबीचबाट उठेको चेतना’, ‘दार्जिलिङ्ग कमेस्ट्रीमा चार विधा चौध चतु¥याइँ’, ‘माइत जाने बाटोबाट देखिएका घामकिरीहरु’ जस्ता रोचक शिर्षकहरुमा लेखिएका र अन्य धेरै डायस्पोरिक सिर्जनाहरुले पुस्तक भरिएका छन् । जसबाट पाठकवर्गले निकै नै स्वादिला साहित्यिक खुराक पाउनेछन् । यी चारै कृतिहरु मञ्जरी पब्लिकेशन, पुतलीसडक काठमाडांैले प्रकाशन गरेको हो ।

लेखक तथा स्रष्टा दीपक सुवेदीको संक्षिप्त परिचय

                                       दीपक सुवेदी

शिक्षा ः एम. ए., एम. एड. (नेपाली) शिक्षा हासिल गरेका दीपक सुवेदी गौरादह नगरपालिका वडा नं. ३ झापा निवासी हुन् ।
लेखकका अरु कृतिहरु ः (१) उडिरहेका परेवाहरु (कविता २०६१), (२) दीपक बलेपछि (गजल २०६१) ।
प्रकाशोन्मुख कृति ः (१) नेपाली साहित्यमा हङकङको योगदान, त्रिविवि–२०६७, (२) युरेशियाको स्पर्शमा सङ्कथन विश्लेषण, कन्काई बहुमुखी क्याम्पस–२०७५ ।
सेमिनारमा सहभागिता ः (१) इन्टरनेशनल सेमिनार अन चार्यपद एण्ड कन्टेम्पोरेरी ल्याङ्ग्वेज लिटरेचर कल्चर, आयोजक असम साहित्य सभा, गुहावटी भारत, मार्च १६, १७, २०१३, (२) भयवाद सेमिनार, आयोजक नेपाली राजदूतावास र ओईक्को पब्लिकेशन, ढाका बगलादेश, फागुन ४ देखि ७, २०७३ ।
सम्मान ः (१) नवरङ्ग साहित्य प्रतिष्ठान–२०६२, (२) जुही गजल रत्न–२०६८, (३) कसार सम्मान– २०६९, (४) नेपाली साहित्य परिषद्, मनिपुर–२०७५, (५) सिरोई सिर्जना, मनिपुर–२०७५, (६) भारतीय साहित्य प्रतिष्ठान, तेजपुर–२०७६, (७) अनुपम चिन्तन मञ्च, असम–२०७६ ।
संलग्नता ः (१) जनता माध्यमिक विद्यालय, गौरादह झापा, (२) भयवाद अध्ययन प्रतिष्ठान नेपाल, सचिव, (३) साहित्य कला संगम, सहसचिव, (४) डि. नरबहादुर बस्नेत स्मृति प्रतिष्ठान, सचिव, (५) देवीप्रसाद काफ्ले स्मृति प्रतिष्ठान, सदस्य र (४) नेपाल पत्रकार महासंघ झापा, सदस्य ।
सम्पादन ः बिहानी, प्रतिभा, गौरावाणी, गौरादहको परिचय, बिहानी हाइकु संग्रह, स्मृति, आमा अक्षरहरु र देश हाइकु संग्रह, दियालो, युनाइटेड स्मारिका, भयवाद चिन्तन र विमर्श, स्वर्ण महोत्सव स्मारिका, शैक्षिक बुलेटिन गौरादह नगरपालिका, सम्बन्धसूत्र सा.स. हाइकु विशेषाङ्क जस्ता प्रकाशनहरुको सम्पादन गरिसकेर अनुभवले खारिएका लेखक तथा स्रष्टा दीपक सुदेवी दर्जनौं संघ–संस्था, समूह र अभियानमा रही समाज सेवामा समर्पित रहेका छन् ।
यस्ता होनहार, बहुआयामिक प्रतिभा तथा देशका गहनाका कलम निरन्तर चलिरहुन् । सरल, उत्कृष्ट, उपयोगी र अविस्मरणीय सिर्जनाहरु आइरहुन् ।

1 COMMENT

  1. धेरै खुशी लाग्याे, यति धेरै किर्तीहरु प्रकाशित गरेकाेमा ।अवश्य नै यी किर्तीहरु सबैका लागि उपयाेगि छन् । भतिजलाई धेरै धेरै बधाई छ । अझै अगाडि बढ तिमीलाई हाम्राे शुभकामना र अाशिर्वाद छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here