राजनीतिमा संस्कारको कमी

0
1163

सम्पादकीय

गत निर्वाचनमा झण्डै दुईतिहाई मत प्राप्त गरी सरकार सञ्चालन गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले जनअपेक्षा र प्रतिबद्धता अनुरुप काम नगरेको टिप्पणीमा तर्क होलान्, प्रमाण पनि भेटिएलान् । देश र जनताको पक्षमा रहेको भनिने गरेको नेकपाको पछिल्लो गतिविधि र नेतृत्व वर्ग नै पद प्राप्तिका लागि मरिहत्ते गरेको सन्दर्भले सबैको अन्तर्यमा सत्ता र शक्ति नै हुँदोरहेछ भन्ने सावित भएको छ । आफूहरुद्वारा निर्मित संविधानको बर्खिलाप सत्ता र शक्तिको आडमा दौडिन सक्ने परिचय बनाउन थालेको सरकार सम्बद्ध दलको यस्तो क्रियाकलाप विधिको शासनविरुद्ध पनि छ । सत्तारुढ हुनासाथ संंवैधानिक भावना विपरीत जनताद्वारा पराजीत नेताहरुलाई सत्तामा पु¥याउने ‘खेलो’ अहिले फेरि चर्चाको शिखरमा छ । यसैले पनि ‘जोरवल’ नै राजनीति हो भन्ने आभाष गराएको छ र ऊ भित्र राजनीतिको परिस्कृत संस्कृतिले प्रवेश नपाएको पनि पुष्टि गरेको छ ।

प्रजातान्त्रिक परिपाटी अनुसार वालिग मताधिकारको आधारमा सर्वोच्च मत प्राप्त गर्ने व्यक्ति जनप्रतिनिधि चुनिन्छन् । कथम्कदाचित पराजीत भए दोस्रो चुनावसम्म मतदाताको हितमा काम गर्नुपर्छ र मतदाताको मन जितेर निर्वाचित हुने संस्कार नै राजनीतिक संस्कार हो । अर्थात् कुनै एक पराजीत उम्मेदवार त्यही कार्यकालका लागि कुनै विधिबाट चयन हुँदैन यो वर्तमान संविधानको प्रावधान पनि हो । तर, वर्तमान सरकार र सरकार सम्बद्ध दलले त्यसविरुद्ध एकपछि अर्को मनोनयन गर्दै संविधानको उपेक्षा गरेको छ । नेकपाले यसअघि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभामा लगिसकेको छ भने अहिले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई पनि प्रवेश गराउने प्रक्रिया जारी छ । निर्वाचनमा जनताद्वारा अस्वीकृत व्यक्तिलाई सत्ताको बलमा पद दिनु जनमतको अपमान हो, तर आन्तरिक शक्ति सन्तुलनका नाममा त्यही कर्म दोहोरिनु निर्वाचनको मर्ममाथिको प्रहार हो ।

एउटै समयावधिका लागि पराजीत उम्मेदवारलाई मनोनयन गर्नु प्रजातान्त्रिक अझ अहिलेको भाषामा लोकतान्त्रिक संस्कार हुन सक्दैन । निर्वाचनको आधा समय बितिसकेको छ । बचेको समयका लागि मनोनयन गर्दै मन्त्रिपरिषद्मा पु¥याउने सत्तारुढ दल र सरकारको रवैयाले शासन व्यवस्था माथि नै प्रश्न उब्जाएको छ । यसले राजनीतिमा नैतिकताको पनि खडेरी परेको संकेत गर्छ । राजनीतिमा लागेवापत पद र संवैधानिक जिम्मेवारी पाउनैपर्छ भन्ने गलत मानसिकताका कारण राजनीतिलाई ‘फोहोरी खेल’ भनिएको पनि हुनसक्छ । पदमा पुग्न कै लागि नैतिकता, आदर्श, निष्ठा गुमाउनै पर्छ भन्ने कु–संस्कार बलियो बनाउने यस्ता गलत पद्धतिले अन्ततः पार्टीकै अहित गर्छ भन्ने भुल्नु हुँदैन । अन्यथा जनता यस्तो कु–संस्कारको अन्त्य गर्न बाध्य हुन्छन् र राजनीतिका लागि जेल–नेल भोगेको भनिने विशेषता स्वतः झुठो सावित हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here