झापा ।
आगामी पुस १० गतेदेखि सिनेमा घरहरु खुल्ने भएका छन् । सरकारले सुरक्षा सतर्कता अपनाएर सिनेमा घर संचालन गर्न नदिए स्वस्फूर्त रुपमा आफूहरुले पुसदेखि सिनेमा घर संचालन गर्ने चेतावनी नेपाल चलचित्र संघले दिएको छ।
संघद्वारा सोमबार जारी विज्ञप्तीमा भनिएको छ, ‘ सरकारले चलचित्र घर संचालन गर्न तर्फ चासो नदेखाएकोले संघले बाध्य भएर पुस १० गते शुक्रवारबाट सुरक्षा मापदण्ड पालना गरी चलचित्र घर संचालन गरिनेछ।’ कोरोना भाइरसको संक्रमणका कारण करिब ९ महिनादेखि सिनेमा घरहरु बन्द रहेका छन् ।
हाल सरकारले प्राय सबै क्षेत्र खोल्न अनुमति दिइसकेको अवस्थामा सिनेमा घर संचालनका लागिका लागि भने अनुमति दिएको छैन। जसकारण यस क्षेत्रसँग प्रत्यक्ष र अप्रत्यक्षरुपमा संलग्न व्यक्तिहरु प्रभावित भइरहेका छन्। सरकारले चलचित्र क्षेत्रलाई अहिले नै संचालन गर्न दिने मनस्थिति नदेखाएपछि सरोकारवाला संघहरुले चलचित्र क्षेत्रलाई खुला नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ।
करिब ९ महिनादेखि सिनेमा घर र चलचित्र छायांकन ठप्प हुँदा सिनेमा क्षेत्र धराशायी बनेको संघले जनाएको छ। त्यसैले स्वास्थय मापदण्ड पालना गरी चलचित्र क्षेत्र खुला गर्न संघले चलचित्र विकास बोर्डमार्फत संचार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह समेत गरेको अध्यक्ष मधुसुदन प्रधानले बताए।
यस्तै, संघले सरकारसमक्ष ९ बुँदे माग समेत राखेको छ। चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्रका रुपमा सम्बोधन हुनुपर्ने, हल बन्द भएको समयको विद्युत महसुल मिनाहा हुनुपर्ने, मनोरञ्जन कर र चलचित्र विकास कर खारेज हुनुपर्ने लगायतका माग राख्दै संघले माग पूरा गर्न सरकारले चासो नदिएमा चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।





























