झापाका पाँचवटै निर्वाचन क्षेत्रमा विरोध प्रर्दशन

0
414

झापा,प्रधानमन्त्री के.पी. शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा भएको प्रतिनिधिसभा विगठनका विरुद्ध नेपाली कांग्रेसले देशभरका सबै निर्वाचन क्षेत्रमा सोमबार (आज) विरोध प्रदर्शन तथा विरोधसभा सम्पन्न गरेको छ ।
देशब्यापी कार्यक्रम अन्तर्गत आज झापाका पनि पाँचवटै निर्वाचन क्षेत्रमा क्षेत्रस्तरीय विरोध प्रदर्शन र विरोधसभा सम्पन्न भएको छ । विरोध प्रदर्शन तथा विरोधसभाका अधिकांश बक्ताहरुले नेपालको राजनीतिक इतिहासमा २०१७ साल पुस १ र २०७७ साल पुस ५ गतेलाई ‘कालो दिन’ को संज्ञा दिएका छन् ।


नेपाली कांग्रेस नेतृत्वको जननिर्वाचित सरकारलाई तत्कालीन राजा महेन्द्रले अपदस्त गर्दै २०१७ साल पुस १ गते प्रजातन्त्रमाथि ‘कू’ गरेका थिए । सो दिनलाई नेपाली जनताले अझै कालोदिनको रुपमा मनाउँदै आएका छन् ।
नेकपाको आन्तरिक विवाद ब्यवस्थापन गर्न नसक्दा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री के.पी. शर्मा ओलीले संविधानको अपब्याख्या गर्दै गत पुस ५ गते प्रतिनिधिसभा भङ्ग गर्ने निर्णय मन्त्रीपरिषदबाट गरेका थिए । मन्त्रीपरिषदको उक्त निर्णयलाई राजनीतिक दलका प्रमुख तथा संविधानविद, कानूनविदसँग छलफल नै नगरी तत्कालै राष्ट्रपतिले हस्ताक्षर गरेपछि उक्त असंवैधानिक कदमका विरुद्ध देशभर विरोध प्रदर्शन भइरहेको छ । प्रधानमन्त्रीको उक्त असंवैधानिक र अलोकतान्त्रिक कदम फिर्ता लिएर संविधानको रक्षा गर्न माग गर्दै नेपाली कांग्रेसले देशब्यापी प्रदर्शन गरेको हो ।
नेपाली कांग्रेस क्षेत्र नं २ को आयोजनामा झापाको अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बजार, क्षेत्र नं–१ अन्तरगत मेचीनगरको धुलाबारी, क्षेत्र नं–३ मा कचनकवलको बनियानी, क्षेत्र नं–४ मा शिवसताक्षीस्थित दुधे बजार र क्षेत्र नं–५ को दमकमा बृहद विरोध प्रदर्शन तथा विरोधसभा सम्पन्न भएको छ ।
झापा क्षेत्र नं–५ मा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले संविधानको संरक्षण अहिलेको प्रमुख दायित्व रहेको बताउँदै संविधानको रक्षापछि लोकतान्त्रिक विधि र पद्धतिबाटै ओलीलाई पाखा लगाउने धारणा राख्नुभयो ।
‘के.पी. शर्मा ओली नेतृत्वको सरकारले निर्वाचन अघि बाडेका कुन चाहिं सपना पूरा गरे ?’–नेता रिजालले प्रश्न गर्नुुभयो–‘समृद्ध नेपाल र सुखि नेपालीको नारा के भयो ? झापा क्षेत्र नं–५ बाट जितेर गएपछि उहाँ फर्कनुभएको छ ? मावा र रतुवा खोलामा पूल बन्यो ? उहाँले रेल, ग्यासको पाइप लाइनको सपना बाँड्नुभयो तर यहाँका जनताको दुःख देख्नुभएको छ ?’ झुटा आश्वासनमा पछि नलाग्न उहाँले जनतालाई सुझाव समेत दिनुभयो ।
नेकपा विवादकै कारण नेपाल दुई शक्ति राष्ट्रको चलखेल गर्ने भूमि बनेको बताउँदै उहाँले यसले नेपालको सार्वभौमसत्ता संकटमा परेको धारणा राख्नुभयो ।
५ नं क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य दिलिप राईले पनि मन्तब्य राख्नुभएको थियो । दमक नगर सभापति रोशन विष्टले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन चुरेन्द्र खड्का, धर्मानन्द भटराई, सूर्यभक्त सिटौलाले संयुक्त रुपमा गर्नुभएको थियो ।
यता झापा क्षेत्र नं–२ को विरोधसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले नेकपाभित्रको आन्तरिक विवाद ब्यवस्थापन गर्न नसक्दा प्रधानमन्त्री के.पी. शर्मा ओलीले देश, जनता र लोकतान्त्रिक पद्धतिमाथि नै प्रहार गरेको बताउँदै उक्त असंवैधानिक कदम अस्वीकार्य रहेको बताउनुभयो ।
‘संविधानको तोडमोड गरेर धेरैबर्ष शासन गर्ने ज्ञानेन्द्रको शपना धेरै समय टिकेन’–नेता शिवाकोटीले भन्नुभयो–‘के.पी. ओलीले पनि यस्तै शपना देखेका हुन सक्छन्, यो केवल शपना मात्रै हुनेछ ।’ कम्युनिष्ट तानाशाह लाद्ने अभ्यास नगर्न प्रधानमन्त्रीलाई चुनौति दिदै नेता शिवाकोटीले भन्नुभयो–‘अहिलेको सडक संघर्ष असंवैधानिक कदमका विरुद्ध हो, निर्वाचनका लागि पनि कांग्रेस तयार छ । कांग्रेस नेतृत्वकै सरकारले संविधान निर्माण गरेको हो, यसको संरक्षणको दायित्व पनि कांग्रेसकै काँधमा छ।’
कार्यक्रमका विशेष अतिथि नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले सरकारको असंवैधानिक कदम र कम्युनिष्ट नेतृत्वको सरकारले गरेको भ्रष्टाचारका विरुद्ध कांग्रेस सडकमा आएको बताउँदै भ्रष्टाचारको सबै हिसाव किताव सडकबाटै माग्ने उद्घोष गर्नुभयो ।
‘संविधानमाथिको कू, जनविश्वासमाथिको अपमान, भ्रष्टाचारका काण्डैकाण्डको छानवीन, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, कोरोना महामारी नियन्त्रणमा भएको ८ अर्ब भ्रष्टाचारको हिसावकिताव माग्न कांग्रेस सडकमा आएको हो’–सभापति थापाले प्रश्न गर्नुुभयो–‘बालुवाटार जग्गा प्रकरणका दोषीलाई कारबाही गर्नुपर्दैन ? भ्रष्टाचारका काण्डैकाण्डको छानवीन गर्नुपर्दैन ?भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नुपर्दैन ?’ निर्वाचनको नाटक गरेर कम्युनिष्ट अधिनायकबाद र सर्वसत्ताबाद लाद्ने षडयन्त्रमा ओली लागेको सभापति थापाको आरोप थियो ।
२ नं क्षेत्रीय सभापति खगेन्द्र मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासमिति सदस्य सिता पौडेल र नगर सभापति हेमराज खरेलले सम्बोधन गर्नुभएको थियो भने स्वागत धर्म लक्सम्बा र सञ्चालन किरण श्रेष्ठले गर्नुभएको थियो ।
यसैगरी झापा क्षेत्र नं–१ को धुलाबारीमा आयोजित विरोधसभालाई प्रमुख बक्ताको रुपमा सम्बोधन गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईले वर्तमान सरकार भ्रष्टाचारका काण्डैकाण्डमा फसेको आरोप लगाउँदै असंवैधानिक काम गरेर जनमतको घोर अपमान गरेको आरोप लगाउनुभयो ।
क्षेत्रीय सभापति मणिकुमार उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेल, नगर सभापति इन्द्र बुढाथोकी लगायतले मन्तब्य राख्नुभएको थियो । हर्क फियाकले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन खड्ग धिमालले गर्नुभएको थियो ।
यसैगरी झापा क्षेत्र नं–३ कचनकबलको बनियानीमा विरोधसभा तथा प्रदर्शन सम्पन्न भएको छ । केन्द्रीय सदस्य भारतेन्दुकुमार मल्लिकले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुभएको विरोधसभामा महासमिति सदस्यद्वय भगिरथ पोद्धार र भुमीप्रसाद राजवंशी, नेपाल महिला संघ झापा सभापति सुशिला ढकाल आचार्य, प्रदेश सभापति चिन्तामणि खरेल लगायतले बोल्नुभएको थियो ।
३ नं क्षेत्रीय सभापति गणेश पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत कालेन्द्रप्रसाद राजवंशीले गर्नुभएको थियो भने सञ्चालन क्षेत्रीय सचिव गिताप्रसाद भटराईले गर्नुभएको थियो ।
यता झापा दुधेबजारमा ४ नं क्षेत्रस्तरीय प्रदर्शन र विरोधसभा सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी प्रमुख अतिथि तथा प्रमुख बक्ता रहनुभएको कार्यक्रम क्षेत्रीय सभापति जयनारायण शाहको सभापतित्वमा सम्पन्न भएको थियो ।
नेपाली कांग्रेस झापाका संगठन विभाग प्रमुख देउमान थेवे, पूर्व सचिव भक्ति सिटौला, महिला संघ क्षेत्रीय सभापति कविता बस्नेत लगायतले मन्तब्य राखेको कार्यक्रममा स्वागत शिवसताक्षी नगर सभापति पर्शुराम ढुङ्गाना र सञ्चालन क्षेत्रीय सचिव शिव कडेलले गर्नुभएको थियो ।
अधिकांस क्षेत्रमा आयोजित विरोधसभाका बक्ताहरुले प्रधानमन्त्रीलाई प्रतिगामी कदम सच्याउन माग गर्दै प्रतिनिधिसभा विगठनको असंवैधानिक कदमले मुलुकलाई ७५ बर्ष अगाडिको अवस्थामा लैजान खोजेको आरोप लगाएका थिए ।
नेपालको राजनीतिक इतिहासमा कांग्रेसकै नेतृत्वमा सडक संघर्षबाटै ठूल– ठूला परिवर्तन भएको बताउँदै बक्ताहरुले ओलीको असंवैधानिक कदम पनि सडकबाटै सच्याउने तागत नेपाली जनता र कांग्रेसमा रहेको उद्घोष गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here