
यतिखेर हिन्दू समाजमा गतः माघ १५ गतेदेखि स्वस्थानी व्रतारम्भ भएसँगै घर–घरमा स्वस्थानी कथा वाचन तथा श्रवण गर्ने क्रम चलिरहेको छ । पौष शुक्ल पूर्णिमाबाट शुरु भएको यस व्रतोत्सवको समापन माघ शुक्ल पूर्णिमाका दिन (आगमी फागुन १५)मा हुनेछ । धार्मिक तथा सामाजिकरुपमा निकै महत्वपूर्ण मानिने यस अवसरमा प्रविधिको विकाससँगै विभिन्न सञ्चारमाध्यम, इन्टरनेट तथा सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्रीमार्फत पनि श्रृंखलाबद्ध कथा प्रसङ्ग उपलब्ध हुँदै आएका छन् ।
‘स्व’ र ‘स्थान’मा ई प्रत्यय लागेर बनेको स्वस्थानीको अर्थ आफ्नो स्थानमा बस्ने देवी भन्ने हुन्छ। अर्को शब्दमा स्वस्थानी भन्नाले आत्मज्ञानमा स्थित रहनु अर्थात् आफू आत्मस्वरुप वा आत्मज्ञानमा स्थित रहनु भन्ने बुझिन्छ । सबैलाई ‘स्व’ (आफू) र ‘स्थान’ (ठाउँ)मा बस्न वा आफ्नो स्थान वा कर्तव्यमा रहन प्रेरित गर्नु र शिक्षा दिनु नै स्वस्थानी व्रत कथाको मूल उद्देश्य हो । सदासर्वदा आफ्नो स्थानमा रहेर कर्तव्य गर्न प्रेरित गर्नु नै स्वस्थानी व्रतकथाको उद्देश्य रहेको छ । ३१ अध्याय रहेको स्वस्थानी ग्रन्थका अधिकांश कथा स्कन्द पुराणबाट लिइएका हुन् । हिमालय पर्वतकी पुत्री पार्वतीले यस व्रतबाट भगवान् शिवलाई स्वामीका रुपमा प्राप्त गरेपछि सबैको कल्याणको लागि स्वस्थानी व्रत लिने परम्परा रही आएको हो । पार्वती भनेको आत्मबुद्धि वा स्थिर बुद्धि र शिव भनेको आनन्द हो । आत्मबुद्धिद्वारा आनन्द प्राप्त गर्नु स्वस्थानी दर्शन वा व्रतको उद्देश्य हो ।
अतः स्वस्थानी व्रत लिन नसके पनि कथा श्रवण, पाठ र मननको माध्यमबाट स्व–कर्तव्यमा दृढ बन्न सक्दा नै भगवती जगजननी श्रीस्वस्थानी माताले मनोकामना पूरा गरिदिनुहुन्छ । स्वस्थानी मातामा पक्का विश्वास राखेर व्रतको पालना तथा कथा श्रवण गर्नाले सम्पूर्ण दुःख–कष्ट निवारण भई सुख–शान्ति प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । आजभोलि कथामा सीमित हुँदै आएको भए पनि यस व्रतकथाको माध्यमबाट अनेकौं धार्मिक ज्ञान तथा व्यवहारिक शिक्षा एवम् सन्देश प्रदान गरिएको छ ।
अहंकारबाट विनाश हुन्छ :
स्वस्थानी व्रतकथाको महत्वपूर्ण शिक्षा र सन्देश हो– अहंकारबाट विनाश हुन्छ । अभिमान वा अहंकारलाई आसुरी गुण मानिएको छ । अभिमानरहीत विनयी स्वभावलाई दैवी सम्पत्ति वा गुणका रुपमा पवित्र ग्रन्थ गीतामा समेत उल्लेख गरिएको छ । प्रजापतिहरुमा श्रेष्ठ दक्ष प्रजापति सबै कुराहरुबाट दक्ष (योग्य वा सक्षम) भएर पनि अहंकारका कारण विवेकहीन अदक्ष सावित भएको प्रसङ्ग अत्यन्त प्रभावकारी मानिएको छ । देवादीदेव महादेवलाई अमर्यादित र छुद्र वचनद्वारा निन्दा गरेर शिवप्रिया सतीदेवीलाई प्राण त्याग गर्न बाध्य तुल्याउने शिव निन्दक दक्षको विनासको एकमात्र कारण आफूलाई सर्वशक्तिमान ठान्ने दम्भ र अहंकार नै हो । तेत्तीस कोटी देवताहरुबाट सुरक्षित ठानेको उसको यज्ञ शिव सेनाबाट क्षणभरमा विनास भयो ।
अन्ततः उसले बोकाको टाउको ग्रहण गर्दै पशुरुपमा परिणत हुनु प¥यो । धर्म, ईश्वर, नैतिक मूल्य–मान्यताको अनादर गर्ने अहंकारी यथार्थमा पशुतुल्य हुने संकेत यस प्रसङ्गबाट गरिएको छ । त्यस्तै कथाका अर्का पात्र चन्द्रवतीले रानी बन्दाको उन्मादयुक्त अभिमानले अरुको धार्मिक निष्ठामाथि धावा बोल्ने तथा आद्यशक्ति स्वस्थानीको उपेक्षा, अनादर गरेका कारण महासंकट व्यहोर्नुपरेको देखिन्छ । यी दुई पात्र र अन्य दानव सम्बन्धी घटनाक्रमका प्रसङ्गबाट अहंकारबाट पतन निश्चित छ र उन्नति र कल्याणका लागि मानिसले ईश्वरीय शक्तिको आश्रय लिई अभिमानरहित भएर कर्म गर्नु अपरिहार्य छ भन्ने शिक्षा दिइएको पाइन्छ ।
आध्यात्मिक चिन्तनबाट लक्ष्य प्राप्त हुन्छ :
अध्यात्म र आध्यात्मिक भावनाले जीवन शान्त र स्थिरमय बन्दछ । जसरी सुखका लागि शान्ति अपरिहार्य छ, त्यसैगरी अध्यात्म बिना शान्ति सम्भव छैन । मनको मलिनता शुद्ध पार्न अध्यात्म आवश्यक पर्दछ । स्वस्थानी व्रत कथा अन्तर्गत शिवभट्ट ब्राह्मण र सती ब्राह्मणीलाई अध्यात्म मार्गका अनुयायी अर्थात् ईश्वर तथा धर्मप्रति निष्ठावान् पात्रका रुपमा वर्णन गरिको छ । उनीहरुले परब्रह्म गणेशको श्रद्धापूर्वक सेवा तथा पूजा–आराधना गरेर सम्पत्ति र सन्तान प्राप्त गर्दछन् । त्यस्तै उनका सन्तान गोमाले पनि संकष्टबीच ईश्वरप्रति परम् निष्ठा राखेर व्रतादिको पालनाद्वारा राज्य सुख प्राप्त गर्दछिन् । स्वस्थानीका अन्य धेरै पात्र अध्यात्म मार्गमा प्रवृत्त भएर सफल बनेको देखिन्छ ।
आध्यात्मिक चिन्तनले मानिसलाई सत्कर्म गर्ने प्रेरणा प्राप्त हुन्छ । जसबाट लक्ष्य प्राप्त हुन्छ । गोमाले गरेको स्वस्थानी व्रतका प्रभावले छोरा नवराज राजा भएको, नाग–नागिनीले पतिमिलनको अभिष्ठ प्राप्त गरेको र महाकष्टमा परेकी चन्द्रवतीले कपिल ब्राह्मणको उपदेश अनुसार अप्सराहरुका साथ स्वस्थानी व्रत, पूजा गरेर रानी बनेको प्रसङ्गका यी उदाहरणबाट अन्तरहृदयदेखि श्रद्धापूर्वक गरिएको आध्यात्मिक चिन्तनबाट लक्ष्य प्राप्त हुन्छ भन्ने सन्देश दिएको पाइन्छ ।
पति–पत्नीबीचको प्रेम नै सुखी जीवनको आधार :
स्वस्थानी व्रत कथामा पति–पत्नीको प्रेम सम्बन्धी धेरै मार्मिक तथा प्रेरणादायी प्रसङ्गहरु प्रशस्त रहेका छन् । सुखी जीवनको आधर पति–पत्नीबीचको प्रेमलाई मानिएको छ । स्वस्थानी व्रत कथाका मुख्य पात्रका रुपमा रहेका शिव–पार्वती वा शिव र सतीदेवीबीचको एकअर्कामा समर्पित भाव तथा प्रेमालापका अनेक चरित्र लीला वर्णन गरिएको पाइन्छ । व्रत कथामा वर्णित अन्य दम्पत्तिहरु गोमा–शिव शर्मा, रति–कामदेव, मेनका–हिमालय, नाग–नागिनी आदिको दाम्पत्य जीवन अति सुमधुर र प्रेमपूर्ण रहेको पाइन्छ । सतीदेवीले पतिले नखाई नखाने अनि पतिले खाने वस्तु संरक्षण गरिदिने र शिवले पनि पत्नी इच्छा अनुकूल प्रेमपूर्ण व्यवहार गरेका अनि आफ्नी प्राण प्यारी सती देवीको मृत्युपश्चात् पत्नी वियोगमा शिवले– ‘हा सती ! मलाई एक्लै छोडेर कहाँ गयौ, तिमी बिना अब मेरो चित्त कसरी दृढ होला’ भन्दै आँखाबाट अश्रुधारा बगाउँदै सतीदेवीको मृत शरीर कहिले छातीमा लगाउने, कहिले अंकमाल गर्ने गरेको विलाप हृदय विदारक छ ।
महादेवले सतीदेवीको मृत शरीर पीठमा बोकेर पागल झैं भएर पृथ्वी भ्रमण गरको देख्ने सबै प्राणी दुःखी भएको उल्लेख छ । यसबाट पति–पत्नीबीच प्रेम सम्बन्ध कस्तो हुनुपर्छ भन्ने शिक्षा पाइन्छ । जसको परिणाम स्वरुप सतीदेवी पर्वतराज हिमालयकी पुत्री पार्वतीका रुपमा जन्म लिई पुनर्मिलन भएर आजसम्म शिवशक्ति स्वरुपले रहनु भएको छ भन्ने विश्वास गरिन्छ । त्यसैले साँचो प्रेम भएका दम्पत्तिले यस जन्ममा सुख भोग गरी मृत्युपछि पनि पुनर्मिलन हुने वा पुनर्जन्ममा भेट भई एकसाथ रहने संकेत गरिएकोले प्रेमको अधिक महत्व रहेको हो ।
आफ्नो कर्तव्य एवम् दायित्वबोध गर्नु :
स्वस्थानी व्रतकथाको सबैभन्दा महत्वपूर्ण शिक्षा तथा सन्देश हो– आफ्नो कर्तव्य एवम् दायित्वबोध गर्नु । जीवनयापनका क्रममा जस्तैः दुःख र चुनौति आइपरे पनि मानिसले धैर्य नछोडी आफ्नो कर्तव्य पूरा गरेमा त्यसबाट सहजरुपमा मुक्त हुन सकिन्छ भन्ने शिक्षा तथा ज्ञान स्वस्थानीमा आधारित स्वर्ग, मत्र्य र पाताल तीनै लोकका विभिन्न कथा प्रसङ्गबाट बोध गर्न सकिन्छ । गोमाले जस्तै दुःख र विपत्तिको (पति वियोग, आर्थिक विपन्नता र छोरा विदेशिएको र बुहारी माइत गएर एक्लो जीवन व्यतित गर्नु परेको) अवस्थमा पनि धैर्य र ईश्वरको सहारा लिई कर्तव्य गर्दा सुख–सौभाग्यको उदय भएको र यता चन्द्रवती सासुलाई दुःखमा एक्लै छोडेर माइत गई बसेर कर्तव्यच्युत हुँदा राजा बनेका स्वामी भेट्ने क्रममा सन्ताप र दुःख भोग गर्नुपरेको प्रसंगबाट स्वस्थानी व्रत कथाको मूल सन्देश यही स्व–कर्तव्य र जिम्मेवारीबोध गर्न सके मात्र मनोकांक्षा पूर्ण हुन्छ, अर्थात् लक्षित उद्देश्य प्राप्त गर्न सकिन्छ भन्ने नै हो । जगदीश्वरी स्वस्थानीको शुद्ध भई एक महिनासम्म एकाग्रतापूर्वक गरिने व्रत, जप, तप, ध्यान, पूजाबाट प्राप्त हुने फल वा कामना सिद्धिको रहस्य तथा अन्तरसम्बन्ध पनि यही स्व–कर्तव्य र दृढ विचारसँग जोडिएको छ ।
पितृभक्ति वा मातापिताको सेवा नै सबैभन्दा ठूलो धर्म :
‘मातृदेवो भवः, पितृदेवो भवः’ अर्थात् मातापितालाई देवता समान मान भनेर मातापिताको सेवा सम्मान गर्नु सन्तानको सर्वोपरि कर्तव्य हो भनिएको छ । यस्तै स्वस्थानीका कतिपय प्रसङ्ग वा पात्रका माध्यमबाट पितृभक्ति वा जन्मदाता मातापिताको सेवा नै पुत्र(सन्तान)को सबैभन्दा ठूलो धर्म र कर्तव्य भएको स्पष्ट पारिएको पाइन्छ । आफू गर्भमा छँदै प्रदेश गएका बाबुबारे खोजखबर गर्न घबाट हिँडेका गोमापुत्र नवराज पितृभक्त पात्र रुपमा रहेका छन् । उनले गंगाको किनारमा वृक्षबाट लडेर बाबुको निधन भएको खबर पाएपछि त्यही दाहसंस्कार गरेको कथामा उल्लेख छ ।
जीवित आमाबाबुको सेवासुश्रुवा गर्नु र दिवंगत पितृको अन्त्येष्टि, श्राद्ध कर्म गर्नु सन्तानको कर्तव्य भएको पनि यहाँ सचेत गराइको छ । भनिएको छ– जुन पुत्र आफ्ना आमाबाबुको बेवास्ता गर्दै आफ्नो सुख–स्वार्थमा मात्र भुल्दछ, त्यो नरक–दुःख)मा पर्दछ । आमाबाबुको आज्ञापालन गर्नु र इच्छा विपरीत कार्य नगर्नु सबै सन्तानको कर्तव्य र दायित्व हो । आमाबाबु, जसले आफ्ना सन्तानलाई सबै किसिमबाट योग्य बनाउन सर्वस्व दिएका हुन्छन् उनीहरुप्रति कर्तव्य कति हुन्छ विचारणीय छ ।
परस्त्रीप्रति कुदृष्टि राख्नु हुँदैन :
स्वस्थानीका अनुसार अन्तपुरका जालन्धरले आफ्नो सुन्दर रुप भएकी पत्नी हुँदाहुँदै शिवपत्नी पार्वतीको रुपमा आकर्षित र आशक्त भएर कुदृष्टि राख्दछ । उसकी पत्नी वृन्दाले समेत सहयोग र साथ दिएपछि र पार्वतीलाई छल (आधुनिक भाषामा अपरण तथा बलात्कारको प्रयास) गर्ने दुष्सहास गर्दछ । तर, यता पार्वतीले उसको कुकृत्य थाहा पाएपछि विष्णुको सहायताले वृन्दाको पतिव्रता धर्म नष्ट गर्नुको साथै ऊ मारिएको र उक्साउने पत्नी वृन्दा पतिवियोगको पीडा भोग्न बाध्य हुनु परेको प्रसङ्ग छ । परस्त्रीप्रतिको कुदृष्टि पतनको कारण हो भन्ने छर्लङ्ग हुन्छ । स्वस्थानीकै एउटा अध्यायमा शिवले रावणको तपस्याबाट प्रशन्न भएर वर माग्न भनेपछि उसले पार्वतीलाई नै माग्छ ।
यद्यपि भगवान् विष्णुको चतुर्तापूर्ण सहयोगबाट पार्वतीलाई लैजान ऊ असफल हुन्छ । यस दृष्टान्तबाट बासनाद्वारा बशीभूत एउटा नीच व्यक्तिको दृष्टिकोण कति निकृष्ट हुन्छ भन्ने तर्फ इंगित गरिएको छ । एउटा खराब विचार भएको नीच व्यक्तिको दृष्टिकोण पहिले बाहिरी सुन्दरता तर्फ आकर्षित हुन्छ, तर बुद्धिमानहरु वाह्य रुपलाई सौन्दर्य ठान्दैनन् । उनीहरु आन्तरिक हृदयको भावना (स्वच्छ भाव) नै सुन्दरता मान्छन् । वास्तविक सुन्दरता भनेको आन्तरिक हृदयको पवित्र भावना हो । सीता हरण गर्ने रावणको यही परस्त्रीप्रति कुदृष्टि राखेकै कारण जीवनलीला समाप्त भएको सर्वविदितै छ । त्यसैले परस्त्रीप्रतिको कुदृष्टि, स्पर्श र सेवन पाप हो र यसबाट सधैं टाढा रहनु पर्दछ भन्ने शिक्षा स्वस्थानीले प्रदान गरेको छ ।


























