उमानाथ भण्डारी
कमल।

झापाको कमल गाउँपलिका–२ले बालमैत्री स्थानीय शासन प्रवद्र्धनका लागि सरोकारवालाहरुबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
‘कमल गाउँपालिकाको रहर बालमैत्री गाउँ बालमैत्री शहर’ भन्ने नाराका साथ विहीवार २ नम्वर वडाबाट अभिमुखीकरण कार्यक्रम शुरु गरिएको हो । आगामी आर्थिक वर्ष २०७८ साल फागुन मसान्तसम्ममा कमल गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने गरी तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।
कमल गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि सबै वडाको उत्तिकै भूमिका रहे पनि जुन वडाले पहिला बालमैत्री स्थानीय शासन घोषणा गर्नसक्छ, त्यसलाई गाउँपालिकाको विकास बजेटबाट १० लाख रुपैयाँसहित पुरस्कृत गरिने गाउँपलिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन् । अवका दिनमा राज्यको नीति निर्माण तह सम्म बालबालिकाको पहँुच पुग्नुपर्ने हुन्छ, जसका लागि न्यूनतम् मापदण्ड पूरा गर्ने गरी कार्यक्रम शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले बताए ।
कार्यक्रममा जनप्रतिनिधि, स्थानीय टोल विकास संस्थाका प्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य स्वयम्सेविका, बाल क्लवका प्रतिनिधि, सहकारी, खानेपानी, पार्टी प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सहभागीलाई सहजकर्ता सुमन ढकालले सहजीकरण गरेका थिए ।






























