जोखिममा बालबालिका

0
913

स्वास्थ्य तथा जनसंख्या मन्त्रीले बालबालिका घरभन्दा विद्यालयमै सुरक्षित हुन्छन् भन्दै कोरोना जोखिमका निहुँमा बन्द नगर्ने बताएको केही दिनमै सरकारले शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उपत्यकाका तीन जिल्ला लगायत कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई उच्च जोखिमको सूचीमा राखेको छ । यस बाहेक केही जिल्लाका केही पालिकाहरुलाई उच्च जोखिमको क्षेत्र भन्दै त्यहाँका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । उक्त निर्णय अनुसार झापाका मेचीनगर, बिर्तामोड र दमक नगरपालिका क्षेत्रका शिक्षण संस्थाहरु वैकल्पिक विधिबाट मात्र खोल्न पाउने निर्णय भएको छ । तर, सरकारको यस्तो निर्णयलाई स्थानीय सरकारले अवज्ञा गर्दा कोरोना भाइरसको विस्तारको दरलाई अझै उच्च बिन्दुमा पुग्ने खतरा बढेको छ ।

मन्त्रि परिषद्को बैठकले स्वास्थ्यविद्हरु र सीसीएमसीको सिफारिसका आधारमा गरेको शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय हाल दिनहुँ बढ्दो क्रममा रहेको भाइरसको विस्तारको सिक्री छिनाउनका लागि हो । तर, स्थानीय तह स्वतन्त्र र अधिकारसम्पन्न रहेको दम्भले संघीय सरकारको निर्देशन र निर्णय अवज्ञा गरिरहेको छ । सरकारले भाइरस नियन्त्रणका लागि भन्दै सार्वजनिक स्थल र कार्यालयमा मास्क नलगाए जरिवाना गर्ने, कुनै पनि ठाउँमा पच्चीस जनाभन्दा बढी जम्मा हुन नपाइने, होटलहरु बेलुका ८ बजेसम्म मात्र खोल्न पाइने, सार्वजनिक सवारीहरुमा सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने, हवाई उडानमा मास्क र भाइजरको प्रयोग गर्नुपर्ने, सिनेमा हल, हेल्थ क्लव, पार्टी प्यालेस, जिमखाना, स्विमिङ पुल, सभा, जुलुस, हाट रंगशाला बन्द गर्ने निर्णय गरिसकेको छ ।

कोरोना भाइरसका कारण सिर्जना भएको मानवीय संकट तत्काल अन्त्य हुने अवस्था छैन । अझ सरकार लगायत सर्वसाधारणको अति बुझाइले यो संकट झनै त्रासदी बन्न थालेको छ । यसले महामारीको रुप नलियोस् त्यसतर्फ आवश्यक सजगता, सतर्कता, सावधानी र प्रतिरक्षाका उपायहरुको पालनामा न स्थानीय, न त संघीय सरकार नै गम्भीर छ । विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको जनस्वास्थ्यको मापदण्डको पालनामा सरकारहरु नै चुकेका छन् । यही समय कामका लागि भारत गएका नेपालीहरु धमाधम घर फिर्दै छन् । भारत त्यसै पनि एशियामा कोरोना विस्तार उच्च रहेको देश हो, यस्तोमा त्यहाँबाट आउने जोसुकैलाई उच्च निगरानीमा राखेर सुरक्षाका मापदण्डको कठोर पालना गर्नुपर्नेमा सीमानाकहरुमा कडाइ गर्न थालिएकै छैन ।

मन्त्री स्वयम् विज्ञ बनेर विज्ञान र विज्ञलाई चुनौति दिने देशमा जन्मिएका नेपालीले आगतलाई नियति ठान्नु बाहेक के गर्न सक्छ र ? अनि पनि व्यक्तिगत स्वास्थ्य रक्षाका निमित्त हामी प्रत्येकले सावधानी अपनाउनै पर्छ । त्यस्तो सावधानी भनेको दूरी कायम गर्ने, भीडभाडमा नजाने, मास्क लगाउने, सफाईमा ध्यान दिने र प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने हो । उच्च जोखिमको वर्गमा रहेका विद्यालय उमेर समूहका बालबालिकाहरु प्रति अभिभावक नै सचेत रहनु पर्दछ । जीवनभन्दा ठूलो सम्पत्ति केही हुँदैन भन्ने सत्यलाई मनन् गरी वैकल्पिक विधिको प्रयोग गर्न÷गराउन अभिभावक लाग्नु पर्दछ । आफ्नो जीवनको रक्षा आफैंले गर्नुपर्छ त्यसप्रति सचेत होऔं र त्यसतर्फ अग्रसर रहौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here