
‘कुनै पनि विश्वविद्यालय वा कलेजले स्थापना गरेको अथवा व्यवस्थापन गरेको यस्तो क्षेत्र जहाँ विज्ञानका विद्यार्थी वा जिज्ञासा राख्नेले प्राविधिक या वैज्ञानिक कार्य गर्ने गर्दछन्’ भनेर साइन्स पार्कलाई अक्स्फोर्ड अंग्रेजÞी डिक्स्नरीले परिभाषित गरेको छ । साइन्स पार्कको परिभाषामा पनि एकरुपता देखिन्न । साइन्स पार्क भनेको यस्तो एउटा संस्था हो जसलाई निश्चित प्राविधिक ज्ञान भएका मानिसहरूले व्यवस्थापन गर्दछन् । उक्त संस्थाले स्थानीय समुदायको ज्ञान सीप, अनुभव र व्यापारको उन्नती तथा प्रतिस्पर्धाको वातावरण सृजना गरी समुदायलाई गतिशील बनाइ राख्न सक्छ ।
विश्वको इतिहासमा साइन्स पार्कको कुरो त्यति पुरानो होइन । सन् १९७० मा क्याम्ब्रिज विश्व विद्यालयले स्थापना गरेको साइन्स पार्कलाई पहिलो साइन्स पार्क मानिन्छ । साइन्स पार्कहरु ठूलो बजारको होहल्लाभन्दा अलि पर एकान्त स्थानहरूमा, विश्वविद्यालयहरुको छेउमा विश्वविद्यालयकै अध्ययनसँग जोडेर, अनुसन्धान केन्द्रलाई सहयोग पुग्ने हिसाबले अनुसन्धान केन्द्रकै अङ्गको रुपमा रहने गरी स्थापना गरिन्छ । पछिल्लो समयमा आएर साइन्स पार्कहरु एक प्रकारले ‘बिजनेस पार्क’ जस्ता देखिन थालेका छन् । साइन्स पार्कले नितान्त विज्ञानकर्मी वा विज्ञानका बिद्यार्थी तथा जिज्ञासु मात्र होइन यसले सबै उमेर समूहका मानिसहरुलाई आकर्षण गर्न सक्नुपर्छ भन्ने भावनाहरु विकास हुन थाले । त्यसपछि साइन्स पार्कभित्रै ‘चिल्ड्रेन पार्क, टेक्नोलोजी पार्क, इनोभेसन पार्क, वनस्पति उद्यानको व्यवस्थापन हुन थालेको पाइन्छ ।
नेपालको सन्दर्भमा भन्ने हो भने ललितपुरस्थित गोदावरीमा स्थापना गरिएको वनस्पति उद्यानलाई राष्ट्रिय वनस्पति उद्यान अर्थात् नेशनल बोटानिकल गार्डेनको रुपमा मानिन्छ । सन् १९६२ मा तत्कालीन राजा महेन्द्रले देशका वनस्पतिहरुको अध्ययन तथा अनुसन्धान अनि संरक्षण गर्ने उद्देश्यले ‘शाही वनस्पति उद्यान’ स्थापना गर्न लगाएका थिए । त्यसबेला यो मेडिसिनल प्लान्ट डिपार्न्टमेन्ट अन्तर्गत रहेको थियो । पछि यो ‘राष्ट्रिय वनस्पति प्रयोगशाला’ हुँदै हाल ‘राष्ट्रिय वनस्पति उद्यान’को रुपमा आइपुगेको छ । झण्डै १५५० देखि २००० मिटर उचाईमा रहेको यो उद्यानले नेपालको समशितोष्ण–शितोष्ण इकोलोजिकल क्षेत्रको प्रतिनिधित्व गर्दछ । नेपालमा तराई क्षेत्रको उष्ण हावापानीमा कुनै पनि वनस्पति उद्यान नभएको अवस्था रहिआएको छ । अन्य गार्डेन र बोटानिकल गार्डेनको बीचमा धेरै फरक पाइन्छ । बोटानीकल गार्डेन एउटा संस्था हो । यसले वैज्ञानिक अनुसन्धान गर्दछ । यसले वनस्पति संरक्षण, अध्ययन तथा प्रदर्शन गर्दछ ।
पूर्वी नेपालका साइन्स पार्कमा सुनसरी जिल्लाको सीतागञ्जमा स्थापना गरिएको एभरेस्ट साइन्स सेन्ट÷पार्क साच्चै भन्ने हो भने एउटा कोषेढुंगा नै हो । नेपाल सरकारको मातहतमा रहने गरी निजी क्षेत्रमा वि. सं. २०५८÷०५९ मा खुलेको नेपाल कै पहिलो साइन्स सेन्टर हो । दिलिप अधिकारीको अग्रसरतामा स्थापना भएको उक्त संस्थाले चन्द्रमाको पत्थरलाई प्रदर्शनीमा राखेपछि नासासँग पनि यसको सामिप्यता स्थापना भएको भनिएको छ ।
संघीयतासहितको संविधानको निर्माणपश्चात ठूलो अधिकारसहितको स्थानीय सरकारहरुको गठनपछि समुदायहरु आफ्नो समुदाय र स्थानको उन्नतिको लागि जुर्मुराएको अवस्था छ । यस प्रसङ्गमा झापाको लगभग बीच भागमा अवस्थित कनकाई नगरपालिकाले व्यवस्थित साइन्स पार्क तथा वनस्पति उद्यान निर्माणमा अग्रसरता लिएको छ ।
नगर प्रमुख राजेन्द्र पोखरेल विकासलाई बहुआयामिक आँखाले हेर्छन् । व्यवस्थित साइन्स पार्क तथा वनस्पति उद्यान आफ्नो एक सपना भएको बताउँछन् । २०७७ को चैत्र महिनाको अन्त्यतिर कनकाई नगरपालिकाको आयोजनामा परियोजना निर्माणका लागि विज्ञ परामर्श एवम् सहजीकरण कार्यक्रमको आयोजना गरियो । सो कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टका विज्ञ एवम् प्रवक्ता डा. सुरेशकुमार ढुंगेल र प्राविधिक अधिकृत डा. राजेन्द्र ढकालको समेत उपस्थिति रहेको थियो । झापा जिल्लाका विज्ञान बिषयका शिक्षक प्राध्यापकहरुको उपस्थितिमा भएको उक्त कार्यक्रम परियोजनाले तयार पारेको डिपीआरमा थपघट गर्न सकिने पक्षहरुको पहिचान गर्दै समापन गरिएको थियो । सामुदायिक वनको साढे सात बिगाह क्षेत्रमा निर्माण हुने उक्त परियोजनाको लागत १७ करोड ५३ लाख रुपैयाँ रहेको छ । पहिलो चरणमा छ करोड ९० लाख खर्च हुने बताइएको छ । पार्कभित्र प्रदर्शनी हल, चिल्ड्रेन पार्क, बोटानीकल गार्डेन, अफिस ब्लक निर्माण हुनेछ ।
नाष्टका विज्ञ डा. ढुंगेल साइन्स पार्क, टेक्नोलोजी पार्क, इनोभेसन पार्क फरक–फरक कुराहरु भएका र योजना कहाँसम्म पुग्ने भन्ने निक्र्याेल गरिनुपर्ने बताउँछन् । आफूले देखेका केही साइन्स पार्कहरु हाल आएर इनोभेसन पार्कमा बदलिएको र तिनिहरु इन्भेन्सन र कमर्सियल भ्याल्लुसँग जोडिन पुगेको बताउँछन् । इन्कुबेसन सेन्टर, पोलिसी सर्भिस, मौसम विज्ञान केन्द्र, दीगोपन, मौलिक तथा परम्परागत सीप तथा मान्यताको जगेर्ना, इलेक्ट्रोनिक डाटाबेस, विज्ञान प्रविधि म्युजिअम, सबै उमेर समूहका मानिसलाई आकर्षक गर्न सक्ने, आइसिटी तथा आर्टिफिसियल इन्टिलिजेन्ट, मेकर स्पेस, नवीकरणीय ऊर्जाको अवयवहरु आदिलाई साइन्स पार्कका कम्पोनेन्टको रुपमा लिनुपर्ने ढुंगेलको निष्कर्ष रहेको बुझिन्छ ।
वनस्पति उद्यानमा उष्ण–समशितोष्ण हावापानीमा पाइने औषधिजन्य वनस्पतिहरुको वृक्षरोपण, हिमाली र लेकाली क्षेत्रमा पाइने महत्वपूर्ण वनस्पतिहरुका नमूना संकलन गरी तिनीहरुको ड्राई या वेट प्रिजर्भेसन गरी संग्रह गर्न सकिन्छ । जनावरहरुका स्पेसिमेन नमूनाहरु प्रोटोजोवादेखि फाइलम कर्देटासम्म क्रम मिलाएर राख्न सकेमा स्कूल कलेजका विद्यार्थीहरुको आकर्षणको अर्को तरिका बनाउन सकिन्छ । सामान्यतया नेपालको हावापानीमा सजिलै बाच्न सक्ने गार्डेन प्लान्ट, च्याउ, झ्याउ, लेउ, काइजन्य वनस्पतिका नमूना राख्नु अर्को महत्वपूर्ण कार्य हो । यसले धेरै जना लाभान्वित हुन सक्छन् । जुझारु नगर प्रमुख र नागरिक समाज पाएको कनकाई नगरपालिका नेपाल कै बन्द निषेधित क्षेत्र तथा नमूना नगरपालिकाको रुपमा पुरस्कृत समेत भएको नगरपालिका हो । कनकाई नदीको किनारमा रहेको सामुदायिक वनभित्र चुरे पर्वतको काखको सो क्षेत्रमा स्थापना हुन लागेको उद्यान नेपालकै उष्ण समशितोस्ण हावापानीको नमूना वनस्पति उद्यान हुने कुरा पक्का छ ।


























