झापा ।

गत वर्षको भदौ महिनाबाट झापाको कनकाईस्थित कोटीहोममा सञ्चालनमा ल्याइएको पीसीआर ल्यावको प्रभावकारिता बढ्दै गएको छ ।
‘एकका लागि एक अभियान’ सञ्चालन गर्दै शुभारम्भ गरेको ल्यावको प्रभावकारिता कोरोना संक्रमितको संख्या थपिएसँगै बढेको हो । सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीको परिकल्पना र अगुवाईमा झापाका संघ–संस्थाले नागरिकस्तरबाट मुलुकमै पहिलोपटक ल्याब स्थापना गरी मेची प्रादेशिक अस्पतालको मातहतमा रहने गरी सरकारलाई हस्तान्तरण गरेका थिए । भारतसहित नेपालमा समेत दोस्रो चरणमा देखा परेको कोभिड–१९का कारण झापा पनि त्यसबाट अछुतो छैन ।
झापामा कोरोना संक्रमितको संख्या थपिँदै गएपछि स्थानीय पालिकाले समेत कोभिड–१९को परीक्षणको दायरा बढाएका छन् । अहिले हरेकजसो पालिकामा कोभिड १९का बिरामी फेला पर्न थालेका छन् । जिल्लामा कोरोना संक्रमितको संख्या थपिएसँगै मेची प्रादेशिक अस्पताल भद्रपुरको स्वामित्वमा रहेको यो ल्यावमा समेत परीक्षणको दायरा बढाइएको छ ।
गत वर्षको भदौ २१ गतेबाट सञ्चालनमा आएको ल्यावमा हालसम्म ११ हजार ४ सय ८० जनामा कोभिड १९को संक्रमण भए नभएको परीक्षण गरिएको छ । जसमा एक हजार ३ सय ६५ जनाको पीसीआर रिपोर्ट पोजेटिभ पुष्टि भएको आएको छ । झापासहित विभिन्न ३३ वटा पालिकाबाट यो ल्यावमा कोभिड १९को परीक्षणका लागि स्वाव आउने गरेको छ । स्थानीय पालिकाहरुसँग सहकार्य गर्दै ‘एकका लागि एक अभियान ‘अन्तर्गत ३३ वटा पालिकाले यो ल्यावमा कोरोना संक्रमण भए नभएको पत्ता लगाउन पीसीआर परीक्षण गर्ने गरेका छन् । जसका लागि हरेक पालिकाले कोभिड–१९ भए नभएको परीक्षणका लागि सेम्पल स्वरुप स्वाव पठाउँदै आएका छन् । अहिले बिर्तामोडसहितका केही अस्पताल र स्थानीय स्तरका स्वास्थ्य संस्थाबाट समेत पीसीआर परीक्षणका लागि स्वाव आउने गरेको छ ।
बिर्तामोडस्थित वीएण्डसी अस्पताल, बिर्तासिटी, अस्पताल, कनकाई अस्पताल, दमकस्थित लाइफलाइन अस्पतालबाट समेत स्वाव आउने गरेको छ । अस्पतालबाट मात्रै एक हजार दुई सय ९६ वटा स्वावको सेम्पल आएको कनकाईस्थित पीसीआर ल्यावका इन्द्रहरि भट्टराईले बताए । उनका अनुसार यो सहित बाह्रदशी, उर्लावारी, मिक्लाजुङ, माङ्सेवुङ, देउमाई, हिलिहाङ, कुम्वेयाक, याङ्वरक, शिवसताक्षी, चुलाचुली, गौरादह, वेलवारी, कमल, पथरी शनिश्चरे, गौरीगञ्ज, मानसरोवर, बिर्तामोड, दमक, मेची, सूर्योदय, अर्जुनधारा, हल्दिवारीसहित ३३ पालिकाबाट कोरोना परीक्षणका लागि नियमित स्वाव आइरहेको छ । परीक्षणका क्रममा हालसम्म १० हजार एक सय १५ जनाको रिपोर्ट नेगेटिभ आएको भट्टराईको भनाइ छ । मेची प्रादेशिक अस्पतालको मातहतमा सञ्चालनमा रहेको ल्यावमा अहिले सात जना कर्मचारीले सेवा दिँदै आएका छन् । जनस्तरबाट संकलित एक करोड रुपैयाँबाट ल्याव सञ्चालनमा ल्याइएको र मेची प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिएको थियो ।
यसअघि ल्याव सञ्चालनका लागि झापाका १५ वटै स्थानीय तहले सहयोग गर्ने घोषणा गरेका थिए । तर, अहिले एक दुई वटा पालिका बाहेक अन्य पालिकाले सहयोग नगरेको बताइएको छ । नगरपालिकाले १० लाख रुपैयाँ र गाउँपालिकाले पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे पनि हल्दिवारी, झापा, कनकाई बिर्तामोड बाहेक अन्य स्थानीय तहले ल्याव सञ्चालनका लागि सहयोग नगरेको बताइएको छ ।
झापा गाउँपालिकाले जिन्सी सहयोग अन्तर्गत किट उपलब्ध गराएको थियो भने हल्दिवारी गाउँपालिकाले दुई लाख रुपैयाँ सहयोग गरेको थियो । त्यस्तै बिर्तामोड नगरपालिकले पाँच लाख रपैयाँ सहयोग गरेको थियो भने कनकाई नगरपालिकाले ल्यावका कर्मचारी र जिन्सी सामग्री सहयोग गरेको छ । अन्य पालिकाले सहयोग नगरेको ल्याव सञ्चालन सहयोगी भट्टराईले बताएका छन् ।
ल्यावका लागि केमिकल रिएजेन्ट आवश्यक पर्ने बताउँदै भट्टराईले भने– पछिल्लो समय मेची प्रादेशिक अस्पतालले माघ महिनाबाटै स्वास्थ्य सामग्री उपलब्ध गराएको छैन, जसका कारण समस्या हुने गरेको छ ।
दुई हजार रुपैयाँ तिरेर जो कोहीले पीसीआर परीक्षण गराउन सक्ने भनिए पनि अहिले एक हजार रुपैयाँमा नै सर्वसाधारणको कोरोना जाँच हुँदै आएको छ । जनस्तरबाटै खरिद गरिएको ल्यावमा किट अभाव हुन नदिन मेची प्रादेशिक अस्पतालसहित संघीय सरकारसंग समेत कोरोना परीक्षणका लागि आवश्यक पर्ने केमिकल रिएजेन्ट माग गरिएको भट्टराईले बताए । जनस्तरबाटै ल्याव सञ्चालनका लागि अभियानमार्फत १ करोड २० लाख रुपैयाँ संकलन गरेको थियो ।
ल्याब स्थापनाका लागि अन्तर्राष्ट्रिय झापाली समाज र झापा जिल्ला सहकारी संघको समन्वयमा २५–२५ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो । त्यस्तै विभिन्न वित्तीय संस्था तथा व्यक्तिगत र संस्थागत रुपमा सामाजिक संघ–संस्थाले रकम सहयोग गरेका थिए । अहिले मेची अस्पतालमा रहेको ल्याबमा परीक्षण रोकिएको बेला पनि कनकाई–४ कोटीहोममा रहेको ल्याबले काम गरिरहेको छ ।
शुरुका दिनमा प्रयोगशालाबाट ३ सय जनाको कोरोना परीक्षण हुँदै आएको थियो – ल्याबका माइक्रोबायोलोजिष्ट शान्तिराम पोखरेलले भने । अहिले पनि कोरोना संक्रमतिको संख्या बढेसँगै परीक्षण बढेको उनको भनाइ छ ।
‘एकका लागि एक अभियान’का अभियन्ता कुमारमणि पोखरेलले अहिले कोटीहोममा राखिएको ल्यावमा परीक्षण गरिएको पीसीआर रिपोर्टमा ५० प्रतिशत रिपोर्ट पोजेटिभ आउन थालेको बताएका छन् । योसँगै उनले झापामा कोरोना संक्रमणको दर उच्च रहेको बताए । उनले भने– केही समय अघिसम्म संक्रमितको रेसियो कम थियो तर, अहिले परीक्षणको रिपोर्ट हेर्दा संक्रमितको संख्या झण्डै ५०को रेसियोमा छ । यसले के देखाउँछ भने झापामा कोरोना संक्रमण भित्रभित्रै फेरि फैलियो । संक्रमण रोकथामका लागि नागरिक सचेत हुनु पर्ने बताउँदै उनले भने– कोरोना संक्रमणको दर उच्च देखियो अब सबै सचेत हुन जरुरी छ ।
कनकाई निवासी सामाजिक अभियन्ता शिव कँडेलले समेत कोरोना संक्रमणबाट जोगिन सबैलाई आग्रह गरेका छन् । उनले हिजोका दिनमा कोरोना रोगको संक्रमण फैलन नदिन जुन हिसावले संघ संस्थाले प्रभावकारी भूमिका निर्वाह गरेका थिए अहिले पनि सोही अनुसार काम गर्नुपर्ने बताएका छन् । स्थानीय तहले पनि साप्ताहि रुपमा लाग्दै आएका हाटबजार तत्काल बन्द गर्दै मानिसको भीडभाड कम गर्न सबैलाई आग्रह गर्नुपर्ने बताएका छन् । उनले कोरोनाको दोस्रो प्रहारमा सचेतनाको खाँचो रहेको बताउँदै सबैलाई सचेत रहन आग्रह गरे ।
कनकाई नगरपालिकाका कोभिड व्यवस्थापन फोकल पर्सन लक्ष्मी अधिकारीले कोभिडका बिरामी कनकाई नगरपालिकामा समेत बढेको बताएका छन् । कोरोना संक्रमणको दर उच्च रहेसँगै फेरि कनकाई नगरपालिकलो कोभिड–१९को परीक्षणका लागि संस्थागत र सामुदायिक विद्यालयका बिद्यार्थी र शिक्षकको स्वाव परीक्षण गर्न शुरु गरेको बताए ।
उनले दोस्रो चरणमा कोरोनाको संक्रमण देखिएसंगै कनकाईमा पुनः क्वारेन्टाइनको व्यवस्थापन गर्दै परीक्षणलाई समेत तीव्र बनाएको बताएका छन् । भारत गएकाहरु घर फर्कनेको परिवारमा कोरोना संक्रमणको दर उच्च पाइएको छ– अधिकारीले भने– अहिले भारतबाट फर्कने मानिसको विवरण समेत संकलन गर्दै परीक्षणलाई तीव्र पारिएको छ ।






























