दमकमा तीन बालिका बलात्कृत

६ मंसिर २०७५, बिहीबार मा प्रकाशित

दमक, झापाको दमकमा एकसाताको अवधिमा एक अपाङ्ता भएकी बालिकासहित तीन जना बलात्कृत भएका छन् । तीनै जना १५ बर्षमुनिका रहेको बताइएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार एक १३ बर्षीय बालिकाको पेटमा ५ महिनाको बच्चा समेत रहेको छ ।
एकै परिवारका ३ जनासहित ४ जनाले राम्रोसँग बोल्न नसक्ने अपाङ्गता भएकी १५ बर्षीया बालिका बलात्कृत भएको उजुरी परेको र चार जनालाई सोमबार पक्राउ गरेर आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक खगेन्द्र येक्तेनले जानकारी दिए । कसैले घरमा नै आएर, कसैले बाँसझाङमा र कसैले घरमा लगेर बेग्लाबेग्लै समयमा बलात्कार गरेको पीडितले बयान दिएको यक्तेनले बताए ।
गौरादह चप्रामारीका ५७ बर्षीय खड्गप्रसाद बराइली, बराइलीका छोराहरु २८ बर्षीय प्रविण र २४ बर्षीय छत्रमान पक्राउ परेको यक्तेनले बताए । अर्का छिमेकी पुरुषोत्तम बराइली पनि पक्राउ परेको जनाइएको छ । अति बिपन्न ती बालिकाका बुबा समेत घरमा नरहेको र ५ बर्षदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
बालिकाले पीडा सहन नसकेर बारम्बार आमालाई प्रहरी कार्यालय जान भने पनि सुस्तश्रवण भएकी आमाले वास्ता नगरेपछि आफै बालिकाले आमालाई ठानामा ल्याएर उजुरी गरेको येक्तेनले जानकारी दिएका छन् । बालिका कात्तिक १० गतेदेखि यता चारपटक बलात्कृत भएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताइएको छ ।
यसैगरी सोमबार बेलुका ८ बजे दमकमा सुन ब्यवसाय गर्दै आएका दीपक धमाललाई १२ बर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । स्थानीय हम्सेदुम्से बनभित्र बलात्कार गरिरहेको अवस्थामा स्थानीयहरुले उनलाई रंगेहात पक्राउ गरेर प्रहरीलाइ बुझाएको स्थानीयहरुले बताएका छन् । छिमेकी बालिकालाई स्कुटीमा रखेर जंगलतर्फ लगेर ललाइफकाइ जबरजस्ती करणी गरेको जाहेरी परेको प्रहरीले जनाएको छ ।
यसभन्दा अगाडि शनिबार एक १३ बर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कमल गाउँपालिका वडा नं. ६का सञ्जीव राईलाई प्रहरीले पक्राउ गरेको थियो । बालिकाको पेटमा ५ महिनाको गर्भ रहेको समेत रहस्य खुलेको छ । बालिका अहिले आफन्तको शरणमा रहेको प्रहरी निरक्ष्ीाक यक्तेनले बताए ।
जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका सबै विवाहित रहेका छन् । बलात्कृत हुनेहरु चिनजान र छिमेकी बालिकाहरु रहेको समेत प्रहरीले जनाएको छ । आर्थिक प्रलोभन देखाएर जबरजस्ती करणी गर्ने गरेको पाइएको पनि बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here