टेलिफोन र इन्टरनेटको पैसा तिरेको बिल पाउँदैनन् ग्राहक

३ जेष्ठ २०७८, सोमबार मा प्रकाशित

झापा,

कुनै पनि सेवाको शुल्क तिरेपछि ग्राहकले बिल पाउनुपर्ने कानूनी व्यवस्था छ तर, सरकारी कार्यालयमै बिल पाउन मुस्किल हुन थालेको छ ।

कोभिड–१९ बाट बच्न जारी निषेधाज्ञाका बेला अत्यावश्यक सेवामा पर्ने दूर सञ्चार प्रदायक नेपाल टेलिकमको इन्द्रायणी शाखामा प्रिन्टरले बिल प्रिन्ट गर्दैन । राजधानीको उत्तरपूर्वी भेगमा रहेको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ को यो शाखामा टेलिफोन, एडिएसएलको पैसा तिर्न आउने ग्राहकले प्रिन्टर बिग्रिएकै कारण बिल पाउन नसकेका हुन् । यो समस्या आएको वर्षौ हुँदासमेत समाधान हुन सकेको छैन ।

शङ्खरापुर नगरपालिका वडा नं ९ खुलालटारका बलराम थापा गत वर्ष पनि बन्दाबन्दीका बेला टेलिफोन र एडिएसएलको पैसा तिर्न आउँदा प्रिन्टर बिग्रिएर बिल नपाएको स्मरण गर्नुहुन्छ । त्यही प्रिन्टर बिग्रिएका कारण थापाले आइतबार पनि टेलिफोन र एडिएसएलको पैसा तिरेको बिल पाउनुभएन । टेलिकमको इन्द्रायणी कार्यालयमा धेरैजसो समय पैसा तिर्न आउँदा बिल पाउन नसकिएको उहाँ सुनाउनुहुन्छ । काउन्टरमा कार्यरत सुनिता बाँस्कोटा पोखरेल बिल प्रिन्ट गर्न खोज्दा भित्रै जाम भएको बताउनुहुन्छ । यस्तो पहिलोपटक भएको उहाँको दावी छ । नजिक पर्ने कार्यालय भएकाले गोकर्णेश्वर नगरपालिका वडा नं २ बाट पोष्टपेड मोबाइल फोनको शुल्क तिर्न जानुभएका विश्वनाथ बास्कोटाले पनि प्रिन्टर बिग्रिएकै कारण बिल पाउन सक्नुभएन । बिल लिनकै लागि करिब एक घण्टा कुरे पनि प्रिन्ट हुने छाँटकाँट नदेखेपछि कार्यालयबाट हिँडेको उहाँले बताउनुभयो । कर्मचारीले बिल लिनकै लागि अर्को दिन बोलाएको पनि बाँस्कोटाले सुनाउनुभयो । कार्यालयका सहायक लेखा अधिकृत भक्तबहादुर विष्ट टेलिकमको क्षेत्रीय निर्देशनालय सुन्धाराबाट आएको प्रिन्टर, कम्प्युटरलगायत उपकरणले राम्रोसँग काम नगर्दा सेवा प्रवाहमा अप्ठ्यारो भएको स्वीकार्नुहुन्छ । “गुणस्तरहीन सामान आएकाले काममा असहज भएको हाम्रो अनुभव छ” – उहाँले भन्नुभयो ।

टेलिफोन र इन्टरनेटको तार जोड्न प्रयोग हुने ‘यु आई कनेक्टर’ कम गुणस्तरको आउँदा टेलिकमको सेवाले अन्य निजी कम्पनीसँग प्रतिष्पर्धा गर्न नसकेको कर्मचारीकै स्वीकारोक्ति छ । काठमाडौँ उपत्यकामा रहेका टेलिकमका शाखामा आवश्यक धेरैजसो यन्त्र प्रादेशिक निर्देशनालय सुन्धाराले उपलब्ध गराउने गर्छ । टेलिकमका प्रवक्ता राजेश जोशी साना कार्यालयमा कम यन्त्र हुने भएकाले बिग्रिएका बेला ग्राहकले बिल पाउन नसकेको बताउनुहुन्छ । यन्त्र छिटो मर्मत गरेर सेवा दिने प्रतिबद्धता उहाँ जनाउनुहुन्छ । ‘टेलिकमका सेवामा समस्या’ टेलिकमले राखेका तार धेरै वर्ष पुराना भएकाले ल्याण्डलाइन टेलिफोन र इन्टरनेट सेवा गुणस्तरीय छैन । कतिपय ग्राहकले मूलतारबाट जोडेर लगेको तारसमेत पुरानो भएपछि गुणस्तरीय सेवा पाउन सकेका छैनन् । इन्द्रायणी शाखा कार्यालयको क्षेत्र शङ्खरापुर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १ देखि ७ सम्म तोकिएको छ । यो क्षेत्रमा दुई हजार ६१९ लाइन ल्याण्डलाइन टेलिफोन छन् । एडिएसएल सेवा लिने ग्राहकको भने कार्यालयसँग तथ्याङ्क नै नभएको प्रशासन शाखा प्रमुख पुष्पराज अधिकारीले बताउनुभयो । वैशाख महिनामा भने करिब १५० ग्राहकले एडिएसएल सेवा जोडेका छन् । गुणस्तर कमजोर भएकाले एकपटक एडिएसएल सेवा लिएका ग्राहक फेरि नवीकरण गर्न नआउने गरेकाले वास्तविक तथ्याङ्क दिन नसकिएको उहाँले स्वीकार्नुभयो । शाखा कार्यालयको नजिकै निवास भएका रञ्जन पुडासैनी टेलिफोन र एडिएसएल बिग्रिएकाले बनाउने अनुरोध गर्न निषेधाज्ञा तोड्दै आउन बाध्य हुनुपरेको गुनासो गर्नुहुन्छ । स्नातक तहको कक्षा अनलाइनबाट नै पढिरहनुभएका पुडासैनी पटकपटक एडिएसएल नेटले धोका दिँदा समस्या भएको गुनासो गर्नुहुन्छ । एफटिटिएच सेवामा ढिलाइ ‘फाइबर टु दि होम’ अर्थात् एफटिटिएच सेवा दिन शाखा कार्यालयले दुई वर्षदेखि छावनी शाखामा ताकेता गर्दै आए पनि अझैसम्म सफलता पाएको छैन ।

पहिलो चरणमा साँखुस्थित इलाका प्रशासन कार्यालय, मालपोत, नापी, बैङ्कजस्ता कार्यालय रहेको क्षेत्रबाट एफटिटिएच सेवा शुरु गर्न लागेपनि गत वर्षको बन्दाबन्दी र यस वर्षको निषेधाज्ञाले प्रभावित बनाएको कार्यालय प्रमुख पञ्चकुमार साहुको भनाइ छ । तार खरिद सहज नभएकाले एफटिटिएच सेवा विस्तार गर्न समस्या भएको हो । सरकारी कम्पनीमा खरिद प्रक्रिया लामो हुने गरेकाले पनि निजी क्षेत्रका दूर सञ्चार प्रदायक कम्पनीसँग प्रतिष्पर्धामा तार लिएर काम गर्न नसकिएको कार्यालयका कर्मचारीको गुनासो छ । काठमाडौँ उपत्यकामा वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयमार्फत् तीन आर्थिक वर्षमा एफटिटिएच सेवा जडान गरिसक्ने लक्ष्यका साथ आर्थिक वर्ष २०७६÷७७ देखि काम शुरु भएको थियो । पैंतीस वर्ष लगाएर जडान गरेको तामाको तारको नेटवर्कलाई तीन वर्षमा फाइबरले विस्थापित गर्न कार्यक्रम शुरु गरिएको दुई वर्ष बित्न लागे पनि बन्दाबन्दी र निषेधाज्ञाले काममा ढिलाइ भएको जनाइएको छ । हालसम्म देशभर डेढ लाख एफटिटिएच सेवा वितरण भएको छ । करिब दुई लाख ५० हजारको सङ्ख्यामा वितरणका लागि तयारी अवस्थामा रहेको बताइन्छ । तार, बक्सलगायत १५ देखि २० प्रकारका उपकरण एफटिटिएच सेवा विस्तारमा प्रयोग हुन्छ । गत वर्ष छ महिना बन्दाबन्दी भएकाले ती सामान आयात गर्न सकिएन ।

यस वर्ष पनि एक महिनाअघिदेखि निषेधाज्ञा लागेकाले काममा ढिलाइ हुने देखिएको छ । टेलिकमका प्रवक्ता जोशी गत वर्ष कोरोनाबाट बच्न बन्दाबन्दी गर्नुपरेकाले एफटिटिएच सेवा विस्तारमा ढिलाइ भएको बताउनुहुन्छ । “बन्दाबन्दी सकिएपछि कामले तीव्रता पाएका बेला फेरि कोरोनाको दोस्रो लहर तीव्र रुपमा फैलिएर केही समस्या भएको हो” – उहाँले भन्नुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here