चामल गाडेपछि नगरपालिका घेराउ

0
1287

 

युवराज रेग्मी
झापा, गौरादह नागरपलिकाले सोमबार करिब ३ हजार केजी चामल नगरपरिसरमा खाल्डो खनेर गाडेको छ । ठूलो परिमाणमा खाद्यान्न गाडेको थाहा पाउना साथ सोमबार बेलुकै स्थानीयहरु उक्त स्थानमा पुगेका थिए ।

गतबर्ष कोरोना बिपत्तिको समयमा दैनिक ज्याला मजदुरी गरी जीवन गुजारा गर्ने बिपन्न तथा निमुखा बर्गलाई राहत बितरण गर्न भनी नगरको बिपद् व्यवस्थापन कोषको रकम खर्च गरी नगरपालिकाले चामल, दाल, नुन, तेल खरिद गरेको थियो । गतबर्ष राहत बितरण गर्न खरिद गरेको, विभिन्न संस्थाबाट सहयोग स्वरुप आएको खाद्यान्नमध्ये सोही समयमा राहत बितरण गरी मौज्दात रहेको करिब ५ हजार केजी चामल, दाल र भुजा लगायतका खाद्यान्न मौज्दात रहेको भण्डार शाखाका कर्मचारी अर्जुन दाहालले बताएका छन् ।

अत्यावश्यक खाद्यान्न सामग्रीहरु अव्यवस्थित तबरबाट वडा नं. १ स्थित जीर्ण रहेको सहकारीको गोदाममा करिब १ बर्षसम्म भण्डारण गरी राखिएकोले उक्त परिमाणको चामलसहितका खाद्यान्नहरु बिग्रिएर प्रयोग गर्न अयोग्य हुनपुगेको थियो । बिग्रिएर अखाद्य बनेको चामल, दाल र भुजामध्ये करिब २ हजार केजी चामल लगायत दाल केही हप्ता अघि कोरोना बिपत्तिको दोस्रो लहरमा राहत स्वरुप स्थानीय गरीब तथा बिपन्नबर्गलाई नगरपालिकाले बितरण गरेको थियो । अखाद्य बनिसकेको खाद्यान्न गरीब तथा निमुखा बर्गलाई बितरण गरेपछि नगरको उक्त गलत कार्यको नागरिकस्तरबाट व्यापक बिरोध भएको थियो । गरीब तथा निमुखा बर्गको स्वास्थ्यमाथि नगरपालिकाले गम्भीर खेलबाड गरेको भनी नागरिकस्तरबाट निरन्तर खबरदारी भएपछि विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएको थियो । समाचार प्रकाशन पश्चात् सामाजिक सञ्जालमा विभिन्न किसिमका टीकाटिप्पणी आएपछि बिबादित गौरादहले पुनः सोमबार बाँकी रहेको ३ हजार केजी चामल, दाल तथा भुजा लगायतका खाद्यान्नहरु नगरपरिसरमा ल्याएर खाल्डो खनी गाडेको थियो ।

जेष्ठ ६ गते नगरपालिकाले प्रयोग गर्न अयोग्य रहेको ३१२१ केजी चामल नस्ट गर्ने गरिएको गोप्य निर्णय बाहिरिए पश्चात यदि बिग्रिएरै अखाद्य बनेको उक्त खाद्यान्न कुनै गौशालामा लगेर पशु तथा चौपायालाई खुवाउन हुने भन्दै खबरदारी साथ सुझाब आएको थियो । नागरिकस्तरबाट आएको सुझाबको बेवास्ता गर्दै नगरपालिकाले नगर परिसरमा खाल्डो खनी उक्त खाद्यान्न गाडेको थियो । विभिन्न सन्दर्भमा पटक– पटक बिबादित बन्दै आएको गौरादह नगरपालिका यसपटक चामल काण्डको नामले थप बिबादित बनेको छ । खाद्यान्न कुहाएर गाडिएको बिषय निन्दनीय रहेको भन्दै गरीबलाई भोकभोकै राखेर यसरी चामल गाडिएको देख्दा आफूलाई नराम्रो महशुस भएको स्थानीय मीना आचार्यले बताइन् । यस बिषयमा जिज्ञासा राख्दा नगर उपप्रमुख गीता भेटवालले उक्त बचत रहेको खाद्यान्नमध्ये ३ हजार १ सय २१ केजी चामल खाल्डो खनी गाड्ने नगरको निर्णय भएको जानकारी दिएकी छिन् । विग्रिएको खाद्यान्न पशुचौपायालाई दिन सुझाब दिँदै आएका स्थानीय खेमराज तिम्सिनाले नगरको यो कार्य निन्दनीय रहेको बताए । यसैबीच गुपचुप रुपमा गाडिएको चामल लगायतका खाद्यान्न के– कस्तो अवस्था र के कति परिमाणमा गाडिएको हो ? भनी मंगलबार बिहान स्थानीयहरुले खाद्यान्न गाडिएको स्थान उत्खनन् गरी हेर्न खोज्दा प्रहरी प्रशासनले अबरोध गरेको थियो । प्रहरीको अबरोधपछि आक्रोशित स्थानीयहरुले जनप्रतिनिधिको गैरजिम्मेवार पूर्ण कामप्रति दुःख प्रकट गरेको छ ।

उनीहरुले सञ्चारकर्मीहरुको अगुवाइमा जनप्रतिनिधिलाई सो स्थानमा अनिबार्य उपस्थित हुन अनुरोध गरेपश्चात् ढिलोगरी जनप्रतिनिधिको प्रतिनिधित्व गर्दै उपस्थित भएका नगर प्रबक्ता नगेन्द्र भण्डारीले नगरपालिकाले चामल लगायत खाद्यान्नहरु अव्यवस्थित भण्डारण गरी बिगार्नु नगरपालिकाको गल्ती भएको स्वीकार गरेका थिए । नगरपालिकाको तर्फबाट गल्ती स्वीकार्दै उनले आगामी दिनमा यस्ता किसिमका गल्ती हुनबाट सजग रहने भन्दै घटनाको सत्यतथ्य सार्बजनिक गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

प्रवक्ताको आश्वासन पश्चात् उक्त स्थानमा भेला भएका आक्रोशित स्थानीयहरु पर्ख र हेरको स्थितिमा रहेको सो उत्खनन् अभियानका अगुवा खेमराज तिम्सिनाले बताए । सञ्चारकर्मीहरुले निरन्तर खबरदारी गरेपश्चात् सर्बसाधारणहरुले यस बिषय बारे सार्बजनिक सुनुवाइ गरी सत्यतथ्य प्रस्तुत गर्न माग गरिरहँदा ढाकछोप गर्ने मनसायले र प्रशासनको आडमा निषेधाज्ञाको समयमा शक्ति प्रयोग गरेकोप्रति अधिकारकर्मीहरुले गम्भीरतापूर्वक लिएको अधिकारकर्मी श्याम पोखेरेल बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here