
टङ्क विकल्प,
कविता लेखेर
भोटो र कट्टु लगाइदिएँ
छेलिएन नाङ्गोपन
टिसर्ट र हाफ्पेन्ट लगाइदिएँ
फेरि पनि छेलिएन नाङ्गोपन
कविता बढ्दै गयो , लाज बढ्दै गयो
सर्टपेन्ट लगाइदिएँ
कुर्तासलवार लगाइदिएँ
सारीचोलो लगाइदिएँ
छोपिने सङ्केत नै देखिएन
झनझन लाज बाहिर चियाउन थाल्यो
कविताले उग्ररुप लियो
छिमेकीहरूले कुरीकुरी भन्न थाले
पाङ्देन ,हाकुपटासी लहगाइदिएँ भएन
बख्खुकिरा लगाइ दिएँ भएन
धोतीकुर्ता लगाइदिएँ हुँदै भएन
दौरासुरुवाल ,चौबन्धी फरिया लगाइदिएँ
अहँ !
छोपिंदै छोपिएन वयस्क नाङ्गोपन
छोपिंदै छोपिएन छिप्पिएको लाज
कुनै प्रयत्नले पनि किन छोप्न सकिएन ?
कविताको नाङ्गोपन
किन ढाक्न सकिएन ?
कविताको छाडापन भनेर
गम्भीर दृष्टिले हेरेको त
देश हाँक्ने सारथीहरू नै
सर्वाङ्ग नाङ्गा भएर
देशलाई नै नङ्ग्याउँदै रहेछन् ।
अनि …. ! . . पो . . ?



























