बेनी अस्पतालमा इन्डोस्कोपी सेवा

0
658

गलेश्वर,

म्याग्दीको बेनी अस्पतालमा इन्डोस्कोपी सेवा सञ्चालनको तयारी अन्तिम अवस्थामा पुगेको छ । एकसाता भित्र सञ्चालनमा ल्याउने गरी आवश्यक उपकरणहरु जडान गर्न लागिएको अस्पताल विकास समितिले जनाएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ३० लाख रुपियाँ बजेटबाट उपकरण खरिद गरी सेवा सञ्चालन गर्न लागिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । “यो सेवा म्याग्दीका लागि अतिनै आवश्यक हो”, उहाँले भन्नुभयो,“सेवा सञ्चालनमा आएपछि धेरै बिरामीले राहत महशुस गर्ने छन् ।”

निवर्तमान सांसद भुपेन्द्रबहादुर थापाको पहलमा धौलागिरि गाउँपालिकालाई विनियोजन गरेको उक्त बजेट गाउँपालिकाले अस्पतालमा इन्डोस्कोपी मेसिन खरिद गर्न सहयोग गरेको अध्यक्ष कटुवालले बताउनुभयो ।

अस्पतालमै सेवा सञ्चालन भएपछि इन्डोस्कोपी सेवा लिन पोखरा जानुपर्ने बाध्यता हट्ने अध्यक्ष कटुवालले जानकारी दिनुभयो । “सवै उपकरणहरु आइपुगेका छन्”, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले भन्नुभयो, “एकहप्ता भित्र सेवा सञ्चालनको तयारी गरेका छौं । यो बेनी अस्पतालको नयाँ सेवा हो ।”

इन्डोस्कोपी सञ्चालनका लागि दक्ष जनशक्ति पनि भएकाले सेवा सञ्चालन गर्न कुनै कठिनाई नभएको उहाँले बताउनुभयो । यस प्रविधिबाट अल्सर, क्यान्सर भएको समेत सहजै थाहा पाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here