अर्जुनधारामा दलित नगर समन्वय समितिद्वारा मेसिन तथा छात्रवृत्ति वितरण

0
825

अर्जुनधारा ।

दलित समुदायको परम्परागत सीपको प्रबद्र्धन तथा संरक्षण गर्दै उनीहरुको आर्थिक जीवनस्तर उकास्ने उद्धेश्यले दलित नगर समन्वय समिति अर्जुनधाराले आइतबार मेसिन तथा उच्च शिक्षा अध्धयनरत् विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।

चालु आर्थिक वर्ष ०७७/०७८मा लक्षित कार्यक्रमअन्र्तगत अर्जुनधारा नगरपालिकाबाट विनियोजित सात लाख रुपैयाँबाट ११ जनालाई सिलाई मेसिन, ११ जनालाई कृषि औजार निर्माण तथा मर्मत मेसिन(भाटी), समिति अन्र्तगत रहेको समूहलाई एक सेट नौमती बाजा, एक जनालाई छाला सिलाउने मेसिन वितरण गरिएको समिति अन्र्तगत रहेको दलित उपभोक्ता समितिका अध्यक्ष डिबी दर्नालले जानकारी दिए ।

त्यसैगरी सोही कार्यक्रममार्फत् कक्षा ११ र १२मा अध्धयनरत् १९ जना, स्नातकमा अध्धयनरत् ११ जना, स्नातकोत्तरमा अध्धयनरत् तीन जना र प्राविद्यिक विषय अध्धयनरत् एक जना गरि जम्मा ३४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको दलित नगर समन्वय समितिका सचिव नरेश खातीले जानकारी दिए ।

उनको अनुसार कक्षा ११ र १२ अध्धयनरत् विद्यार्थीलाई जनही पाँच हजार रुपैयाँ, स्नातक अध्धयनरत् विद्यार्थीलाई जनही छ हजार रुपैयाँ, स्नाकोत्तर अध्धयनरत् विद्यार्थीलाई जनही नौ हजार रुपैयाँ र प्राविद्यिक विषय अध्धयनरत् विद्यार्थीलाई सात हजार रुपैयाँ प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा शनिश्चरे अस्पतालका डा.जोनसन विश्वकर्मा र अघिल्लो शैक्षिक वर्ष २०७६मा सम्पन्न भएको कक्षा १२ को परीक्षामा दलित समुदायबाट उत्कृष्ट हुने विद्यार्थी निकिता नेपालीलाई सम्मानित गरिएको थियो । डा. विश्वकर्मालाई सम्मान पत्रसहित दोसल्ला ओढाई र उत्कृष्ट हुने विद्यार्थी नेपालीलाई प्रशंसा पत्रसहित नगद पुरस्कार दुई हजार रुपैयाँबाट सम्मानित गरिएको थियो ।

नगर समन्वय समितिका अध्यक्ष मोहन पौड्यालीको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उपप्रमुख कमला खतिवडा आचार्य, सम्मानित व्यक्तित्व डा. विश्वकर्मा, दलित आयोगका पूर्व सदस्य राजकुमार बराइली, नेपाल दलित संघका केन्द्रीय सदस्य हस्त परियार, उत्पीडीत जातिय मुक्ति समाज झापाका अध्यक्ष भोला परियारलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

समितिकी सदस्य पम्फा विश्वकर्माले कार्यक्रमको औचित्सहित स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा नगर बोर्ड सदस्य रमेश त्रिखत्रीले सचेतना गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन दलित उपभोक्ता समितिका अध्यक्ष दर्नालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here