मैले बुझेको युएईमा नेपाली व्यावसाय

0
958

वैदेशिक रोजगारीको सिलसिलामा विगत सात वर्षदेखि म युएईमा छु । नेपाल पत्रकार महासंघको युएई शाखामा आवद्ध भएकाले यहाँको नेपाली सामाजिक, आर्थिक गतिविधिमा स्वाभाविक रूपमा केही अनुभव बटुलेको छु । सामाजिक र आर्थिक बिटमा अलि रुची भएकाले अहिलेको प्रसङ्गमा व्यावसायिक बिटमा आफ्नो अनुभव र अनुभूति प्रस्तुत गर्न चाहन्छु ।

विगत सात वर्षमा युएईका सातै वटा इमिरेट्समा काम गरेकोले मसँग यी इमिरेट्समा भएका र हुने गरेका आर्थिक सामाजिक गतिविधिबारे केही जानकारीहरु छन् । केही नकारात्मक जानकारीहरु पनि छन् । तर, यो प्रसङ्गमा सकारात्मकतालाई नै प्राथमिकता दिने कोसिस मेरो रहनेछ । युएईमा रोजगारी गर्ने नेपालीहरु करिब तीन लाख रहेको तथ्यांक सार्वजनिक भए पनि भिजिट भिसा, नातेदार भिसा, अध्ययन भिसा, इन्भेस्टर भिसा आदिका कारण करिब चार लाख नेपालीहरु रहेको अनुमान गरिन्छ । यसमध्ये युएईमा करिब तीन सय ५० जना नेपालीहरुले व्यावसाय गरेका छन् । विगत छ÷सात वर्षको अन्तरालमा केही नेपाली मित्रहरू, अग्रजहरुको व्यावसायिक सफलता र विफलतालाई नजिकबाट नियालिरहेको छु । व्यावसाय गर्नु आफैमा एक चुनौतिपूर्ण काम हो । सानोतिनो लगानीले यहाँ व्यावसाय गर्न सकिन्न । व्यावसाय गर्दा स्थानीय एक नागरिकले स्पोन्सर गर्नुपर्ने वा ५१ प्रतिशत शेयर स्थानीयलाई दिनुपर्ने, वा निश्चित रकम लिएर स्पोन्सरको लागि स्थानीय नागरिकसँग आपसी समझदारीमा व्यावसाय गर्नुपर्ने नीति रहेको छ ।

यस्ता विविध उल्झन भए पनि युएईमा नेपाल र नेपालीलाई लक्षित गर्दै धेरै नेपालीहरुले व्यावसाय गरेको पाइन्छ । रोजगारीमा आएका नेपालीहरुले यहाँको नीति–नियम र व्यावसायिक सम्भावना बुझेर करोडौं रुपैयाँ सम्म लगानी गरेका छन् । कामदारबाट मालिक बनेका छन् । केहीले उल्लेख प्रगति गरेका छन् । केही चाहिँ पत्तासाफ पनि भएका छन् । युएईमा नेपालीहरुलाई लक्षित गर्दै व्यापार–व्यासाय विस्तार हुनु एक सकारात्मक पक्ष पनि हो । नेपालीले व्यावसायमा सफलता हाँसिल गर्दा त्यसको लाभ नेपाल र नेपालीलाई नै हुन्छ । प्रतिफल नेपाल नै जान्छ । तर, युएईमा श्रम गर्न आएका आम नेपालीहरुले नेपालीको व्यावसाय प्रवद्र्धनमा सहयोगभन्दा असहयोग गरेको देखिन्छ ।

अनुभव र अनुभूति

नेपाली ट्राभलमा किन टिकट काट्नु र ?, नेपालीको रेस्टुरेन्टमा किन खाइदिनु बरु अन्य रेस्टुरेन्टमा जाउँ ?, नेपालीले चलाएको रियल स्टेटमा किन बस्ने ?, भन्ने केही नेपालीहरुको धारणाले नेपालीहरुद्वारा सञ्चालित व्यावसाय संकटमा छन् । नेपाली कामदारहरुले नेपाली व्यावसायीलाई हेर्न नजर त्यति सकारात्मक छैन । नेपालीले नेपालीलाई नै विश्वास नगर्ने भएका कारण अन्य मुलुकका व्यावसायीहरुलाई लाभ भएको देखिन्छ । व्यावसायीहरुले पनि आफ्नो सेवा र मूल्यमा पुनर्विचार गर्नुपर्ने देखिन्छ । समयमा गुणस्तरीय सेवा दिने र अन्य भन्दा थोरै सस्तो गरिदिने हो भने नेपाली ग्राहकहरु पनि नेपाली व्यावसायीप्रति सकारात्मक हुनेछन् । तर, व्यावसायीले पमि बल्ल एउटा मुर्गा पाइयो भनेर धेरै लाभ लिन खोज्दा त्यो दीर्घकालीन हुन सकेको छैन । नेपाली ग्राहक र व्यावसायीबीचको यो तालमेल नमिलेका कारण युएईका नेपाली व्यावसायी र नेपाली ग्राहकबीच एकता, सहयोग र सहकार्य हुन सकेको छैन । यो अस्तव्यस्तताले दुबै पक्ष समस्यामा छन्, पीडित छन्, प्रभावित छन् ।

मेरो मान्यता :मेरो विश्वास

म सकेसम्म नेपाली ग्राहक र व्यावसायीको हितको पक्षमा बोल्छु, लेख्छु र आफ्नो दैनिकीमा पनि यही नीति अवलम्बन गर्न चाहन्छु । म नेपाल आउनुपर्दा नेपाली व्यावसायी कै ट्राभलबाट टिकट लिन्छु । खानेकुरा खादा नेपाली रेस्टुरेन्टलाई नै प्राथमिकता दिन्छु । यसमा मेरो नेपालीपन र देशप्रेम पनि मिसिएको अनुभव गर्छु ।

महगा नेपाली रेस्टुरेन्ट

युएईमा धेरै नेपालीहरुले रोज्ने व्यापार भनेकै रेस्टुरेन्ट भएको छ । युएईको जुनसुकै इमिरेट्समा पनि नेपाली रेस्टुरेन्ट खोलिएका छन् । नेपाली खाना दाल, भात र तरकारी, अन्य नेपाली परिकार र मःमः लगायत खुबै बिक्छन् युएईमा । केही रेस्टुरेन्टका सर्भिस राम्रो पाइएको छ भने धेरै गुनासो पनि सुनिन्छ । सबैभन्दा महत्वपूर्ण गुनासो त महँगो भएको सुनिन्छ । गुणस्तर केही फरक होला, तर अन्य रेस्टुरेन्टहरुभन्दा नेपाली रेस्टुरेन्टमा धेरै महँगो र सर्भिस ढिलो भएको जनगुनासो छ ।

अबुधाबीमा नेपाली चुलो, भान्साघर, दुबईमा सिल्बर स्पुन, एभरेस्ट, लुम्बिनी गार्डन, युनियनमा नमस्ते नेपाली रेस्टुरेन्ट, राकका रोह अल इत्तेहद, फुजेरामा सिल्बर स्पुन क्याफ्टेरिया आदिले नेपाली ग्राहकहरुको मन जितेका छन् । अबुधाबीमा एकजना व्यावसायीले रेस्टुरेन्टको क्षेत्रमा कसरी सस्तोमा गुणस्तरीय सेवा दिन सकिन्छ भनेर आन्तरिक रूपमा ममको परीक्षण गरिरहेका छन् । अन्यमा १४ देखि १८ दिराममा पाइने मःमः १० दिराममा उपलब्ध गराउने उनको योजना छ । उनको अनुभवले के प्रमाणित भएको छ भने कि एक प्लेटमा मःमः १० दिराममा उपलब्ध गराउँदा पनि पाँच दिराम फाइदा हुने रहेछ । युएईका नेपाली व्यावसायीले आफ्नो मेनुमा र मूल्यमा समायोजन गर्नु जरुरी देखिन्छ ।

संकटमा ट्राभल एजेन्सी

युएईमा रेस्टुरेन्टपछि धेरै नेपाली व्यावसायीले टुर एण्ड ट्राभल कम्पनी चलाएका छन् । सस्तो दरमा टिकट उपलब्ध गराउने भनिए पनि अन्य ट्राभलहरुभन्दा केहीले झनै महँगोमा टिकट बेचेका भेटिन्छन् । अलि सोझो मानिसलाई बढी पैसा लिने गरेका र अनलाइनमा हेरेर टिकट लिन जाने बाठा नेपालीहरुले भने मोलमोलाई गरेर सस्तोमा नेपाली ट्राभलहरुबाट टिकट लिने गरेका उदाहरण पत्रकारिता गर्ने सिलसिलामा धेरै भेटिएका छन् ।

युएईमा भिजिट भिसामा आउने चाहनेहरुको संख्या अधिक भएका कारण धेरै ट्राभलहरुको मुख्य काम भिजिट भिसा उपलब्ध गराउनु पनि देखिन्छ । यद्यपि केही लोकप्रिय नेपाली ट्राभलहरुले राम्रो पैसा लिएर पनि गुणस्तरीय सेवा दिएका छन् । युएईका नामी नेपाली ट्राभलहरुमा नमस्ते, गृनलाईन, शुभयात्रा, एभरेस्ट, ट्वीङ्कल, कान्तिपुर ट्राभल आदि मानिन्छन् ।

प्रसंग कार्गोको

युएईबाट उल्लेख मानिसहरुले विभिन्न सामानहरु आफ्नो घरमा पठाउँछन् । यसका लागि कार्गो उत्तम विकल्प हो । कोरोनाको कारण समयमा घर जान नपाए पनि केही सामानहरु घरमा पठाउँदा परिवारका सदस्यहरुको मुहारमा आउने खुसीको लागि पनि कार्गो गर्दा रमाइलो अनुभव हुँदो रहेछ । एक वर्ष अघिसम्म पनि कार्गो गर्ने मेरो मनसाय थिएन । तर, नेपाली कामदारहरु धेरै भएको प्राइम कार्गोले राम्रो अफर दिन थालेपछि र त्यहाँ कार्यरत अस्मिता पोखरेल (अबुधाबी), अनुप्रिया (दुबई)को अनुरोध र आफ्नो पनि आवश्यकतालाई मध्यनजर गरेर एकपटक कार्गो गरेको थिएँ । सस्तो भएकोले केही समय त लाग्यो तर निर्धारण गरेकै दिन सामान पुग्यो । युएईबाट प्राइम कार्गोको सर्भिस धेरै ठीक लाग्यो । त्यही भएर पुनः कार्गो गरेको छु । आशा छ, अहिले पठाएको पनि समयमै पुग्नेछ ।

यो कार्गोको सञ्चालक नेपाली नभए पनि दुई जना नेपाली चेलीहरुको सक्रियता र राम्रो जनसम्पर्कले गर्दा प्राइम कार्गोले नेपालीहरुको विश्वास जित्न सफल भएको छ । बर दुबईमा भने रिलायबल स्टार कार्गोले पनि राम्रो सेवा दिएको प्रतिक्रिया सुनेको छु । पर्वतका मित्र ओम प्रकाश न्यौपानेले जिम्मेवार भएर व्यावसायलाई निरन्तर अगाडि बढाएको युएईको नेपाली व्यावसायिक वृत्तमा चर्चा हुने गरेको छ ।

फस्टाउदो इकमर्स व्यावसाय

युएईमा अनलाइन सर्भिस अर्थात् इकमर्स व्यावसाय फस्टाउन थालेको छ । कोरोना भाइरसको डरले पनि ग्राहकहरु अनलाइनतर्फ आकर्षित भएका छन् । गत असार २२ गते, (जुलाई ६) मेरी श्रीमतीको जन्मदिन थियो । जन्मदिनमा केक काट्ने पश्चिमी संस्कृति भए पनि छोराछोरीको खुसीको लागि केही सम्झौता त गर्नुपर्ने भयो । मैले केही दिन अगाडि युएईबाट अडर, नेपालमा डेलिभरी शीर्षकमा एक समाचार लेखेको थिएँ ।

युएईमा नर्सिङ पेसामा आवद्ध मित्र कल्पनाले आफ्नो इकमर्स बिज्नेस फेमकल स्टोर मार्फत् विभिन्न सामग्रीहरु युएईबाट पेमेन्ट गरे नेपालको घरघरमा डलिभरी दिने दाबी गरेकी थिइन् । मेरी श्रीमतीको जन्मदिन आउन लागेकोले केक अर्डर गरेको थिएँ । अन्ततः सहज तरिकाले समयमै अति स्वादिलो र तुलनात्मक रूपमा सस्तोमा मेरो घरमा केक निर्धारित समयमै उपलब्ध भएको छ । यस्तो सस्तो र गुणस्तरीय सेवा भयो भने मात्र गाहकहरुको मन जित्न सकिन्छ । म धेरै सन्तुष्ट छु फेमकलको सर्भिस, मूल्य, गुणस्तर र आत्मीय व्यावहारप्रति ।

राम्रो सम्भावना ब्युटीपार्लरमा

युएईमा महिला धेरै नेपाली दिदीबहिनीहरुले ब्युटीपार्लर संचालन गरेका छन् । आफ्नो पेसामा कुशल ब्युटीसियनहरुले राम्रो कमाएका पनि छन् । तर, पार्टनरहरुले धोका दिँदा केही चेलीबेटीहरुको लाखौं रुपैयाँ बालुवामा पानी हाले सरह भएको छ । केही नेपाली व्यावसायीहरुले क्लिनिङ कम्पनी खोलेर धेरै नेपाली युवायुवतीहरुलाई रोजगारी दिएका छन् । विभिन्न कम्पनी तथा घर–घरमा सरसफाई गर्ने क्लिनर उपलब्ध गराउने यो व्यावसाय फस्टाउँदै गएको छ । तर, धेरै नेपाली क्लिनिङ कम्पनी दुई–चार जना कामदारको भरमा चलेका छन् । देखाउनका लागि कम्पनी दर्ता छ, तर ठूलो मात्रामा व्यापार गर्न सकेका छैनन् । केही नेपाली कम्पनीहरुले समयमा तलब समेत दिन नसकेको अवस्था छ ।

अन्त्यमा, युएईमा व्यापार गरेर करोडौं कमाउने नेपाली पनि देखिन्छन् भने करोडौं डुबाउने नेपालीहरु पनि भेटिन्छन् । सरकारको उदार अर्थनीति, बिज्नेस हब, ग्लोबल सिटिजनको बसोबास, पाँच प्रतिशत मात्रै कर आदिका कारण युएईमा व्यापार सहज पनि छ, तर खर्चिलो र नीति–नियम नजान्दा जरिवाना लगायतका कारणले टाट पल्टिन पनि समय लाग्दैन । यस्तै सम्भावना र चुनौतिबीच कोरोनाको कहरबाट उठ्ने कोसिस गर्दैछ युएईको आर्थिक गतिविधि । यसमा नेपाली व्यावसायीहरु पनि व्यक्तिगत र संस्थागत रुपमा जाग्ने कोसिस गरिरहेका छन् ।

नेपाली बिजनेस काउन्सिल यहाँको सरकारी निकायमा दर्ता भएको नेपाली व्यापारीहरुको पहिलो संस्था हो । यो संस्थामा थोरै मात्र नेपाली व्यावासायी आवद्ध भएर व्यावसायिक हित र व्यापार प्रवद्र्धनका लागि यहाँको सरकारी निकायमा निरन्तर आवाज उठाइरहेका छन् । नेपाल र युएईबीच उपल्लो स्तरमा कसरी कारोबार गर्न सकिन्छ भन्नेमा नेपाली बिज्नेस काउन्सिल प्रयत्नशील रहेको महासचिव दिपकराज पौडेलले एक भेट्मा बताएका थिए । नेपाली बिजनेस काउन्सिलले नेपालका लागि युएईका राजदूत लगायत विभिन्न देशका काउन्सिलहरु र ठूला–ठूला लगानीकर्ताहरुसँग निरन्तर अन्तरक्रिया गरेर नेपाली व्यावसायीहरुको मनोबल बढाइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here