उर्वर भूमिको उपयोग गर

१४ श्रावण २०७८, बिहीबार मा प्रकाशित
  • 418
  •  
  •  
  •  
  •  
  •  
    418
    Shares

वैदेशिक रोजगारीको आवेदन माग गरिएको सूचना नेपाली युवाका लागि सुखद् बनिने गरेको छ । आफ्नै देशमा परिश्रम गर्ने र जीवन निर्वाह गर्ने चाहना त नयाँ पिढीमा हुनै छाडेको छ । अपवाद बाहेक सबैको ध्यान, इच्छा, चाहना र जाँगर विदेश मोहमै टुङ्गिने गरेको छ । यद्यपि विदेशको भोगाइ सबैको उस्तै हुँदैन र जहिल्यै सुखद् हुन्छ भन्ने पनि छैन । अभिलेखित तथ्याङ्कले रोजगारीमा गएका मध्ये दैनिक सरदर तीन जना बाकसमा आउने गरेका छन् । अवैध बाटोबाट जानेहरुको बेग्लै कथा छ । सक्षम युवाशक्ति विदेश पलायन हुनुले देशमा भएका स्रोतसाधनहरु बिना उपयोग खेर गइरहेका छन् । नेपालको हावा, पानी र माटो अनुकूलको व्यवसाय गरेर व्यक्ति तथा राष्ट्रको समृद्धिमा सहयोग पु¥याउनु आजको आवश्यकता हो ।

पूर्वी सीमान्त झापा धान खेतीका लागि प्रशिद्ध जिल्ला हो । यहाँ धान बाहेक मकैको पनि उल्लेख्य खेती गरिन्छ । अझ सरकारले सुपरजोन घोषणा गरी मुख्य बाली धान र मकै उत्पादनका लागि विशेष कार्यक्रम नै लागू गरेको छ । आधुनिक उपकरण र प्रविधिसँगै उन्नत बीऊबिजन लगायतका सेवा प्रवाह गर्दै उत्पादकत्व बढाउन अनुदान समेत दिन थालिएको छ । तर, उत्पादित कृषिवस्तुले लागतको अनुपातमा मूल्य नपाउने र कतै कृषि उत्पादन बिक्री नै नहुने कारणले कृषक कृषिकर्मप्रति उत्साहित भइरहेका छैनन् । उत्पादनका दृष्टिले अन्नको भण्डार भनिने झापामै भारतबाट अन्न नआए भोकै बस्नुपर्ने अवस्था छ, जो हाम्रा लागि दुर्भाग्यपूर्ण हो । परम्परागत कृषिकर्ममा जनशक्ति र लागत बढी हुने कारणले आधुनिक खेती प्रणालीको उपयोग गर्न थालियो । यसो हुनु कृषक, कृषिकर्म र सरकारको पक्षमै हुन्छ पनि तर, त्यसलाई व्यवस्थित गर्न सकिएन भने यो पेशा नै विस्थापन हुने अवस्था आउँछ ।

झापा भारतसँग खुल्ला सीमाना भएको जिल्ला हो । यहाँका कचनकवल, बाह्रदशी, झापा र गौरीगञ्ज गाउँपालिकका भारतसँग जोडिएका नेपाली भू–भागमा आज पनि भारतीयले खेती गर्दै आएका छन् । त्यस क्षेत्रका नेपाली जमिन भारतीयले खेती गरिदिएका कारण आवाद छन् । सीमापारीबाट आएका भारतीय किसानले नेपालीसँग ठेक्का लिएर खेती गरेका छन् । दुई देशबीच समय असमय उत्पन्न विवादले उनीहरू निष्प्रभावी छन् । तर, गत वर्ष विश्वलाई आक्रान्त पारेको कोरोना भाइरसको कहरले सीमान्त क्षेत्रका किसान प्रभावित भए । संक्रमण बिस्तार रोक्नकै लागि सीमा सिल गरियो, मानिसको आवागमन ठप्प भयो । त्यसकै परिणाम सीमा क्षेत्रमा खेती गरेका भारतीय किसानले बाली उठाउन पाएनन् । नेपालतर्फबाट सशस्त्र र जनपद प्रहरीको नियमित गस्तीले रोकिएका भारतीय किसानलाई यो वर्ष भने स्थानीय प्रशासनले समन्वय गरेर खेती गर्न सहज भएको छ । भूगोलको सीमाले अलग गरेको भए पनि मन र भावनाले हार्दिकतापूर्वक जोडिएको दुबैतर्फका मानिसको नाता अविच्छिन्न रहनु पर्दछ । तर, हाम्रो सरकारले भने आफ्नो भूमिको सदुपयोग गर्नेतर्फ विशेष ध्यान दिन जरूरी छ । सक्षम जनशक्तिको पलायन रोकेर स्वदेशमै सम्भावनाको ढोका खोल्न प्रेरीत गर्नुपर्छ । किनकि पराधीनता र परनिर्भरताले राष्ट्रको समृद्धि सम्भव छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here