राजा वीरेन्द्रलाई सम्झँदा

0
615

unnamed–संगीता उप्रेती
नारायणहिटी राजदरबारमा २००२ साल पौष १४ गते वीरेन्द्रको महेन्द्र र इन्द्रराज्यलक्ष्मीदेवीको पहिलो सुपूत्रको रुपमा भएको थियो । एकीकरणपछिको उनी ११ औं राजाको रुपमा नेपालका प्रमुख शासक बनेका वीरेन्द्र उदार स्वभावका राजाका रुपमा प्रसिद्ध थिए । २०२८ साल माघ १६ मा तत्कालीन राजा महेन्द्रको स्वर्गारोहण भएको थियो र माघ १७ गते राजाको रुपमा वीरेन्द्रको राज्यारोहण भएको थियो भने उनको राज्याभिषेक २०३१ साल फागुन १२ गते स्वदेशी तथा विदेशी पाहुनाहरु सम्मिलित भव्य समारोहका वीच भएको थियो ।

 

Birendra-Shaha

राजा वीरेन्द्रको अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रसिद्धि थियो । उनी नेपाली जनताले साँचो अर्थमा प्रजातान्त्रिक हकअधिकार पाउनुपर्छ भन्ने पक्षमा थिए भन्ने पुष्टि गर्ने धेरै आधारहरु छन् । जनताको मत अनुसार शासनव्यवस्थाको सञ्चालन हुनुपर्छ भन्ने उनको विचार थियो । सोही अनुरुप उनकै पहलमा २०३६ सालमा राष्ट्रिय जनमत संग्रह गरिएको थियो । उक्त जनमतसंग्रहमा सुधारिएको पञ्चायत व्यवस्था वा बहुदलीय व्यवस्था मध्ये एउटा चुन्न जनतालाई भनिएको थियो । त्यसैगरी प्रजातन्त्रको निम्ति भएको २०४६ सालको जनआन्दोलनको मर्मलाई बुझेर आन्तरिक प्रतिकुलता हुँदाहुँदै पनि उनी बहुदलीय संसदीय व्यवस्था र संवैधानिक राजतन्त्रको पक्षमा उभिए । देशविदेशका शासकहरुसँग उनी सदैव नेपालको विकास उन्नतिका बारेमा कुराहरु उठाइरहन्थे । राजपरिवारको सुखसयलमा हुर्केबढे पनि उनले नेपालका गाउँबस्ती, पाखापखेरा, हिमालपहाडका कुनाकन्दरामा आफैं पुगी जनताको दुःख बुझेका थिए । उनले धेरै दिनको पैदलयात्रा पनि गरेका थिए । पारिवारिक समस्याका वीचमा पनि उनी सदैव जनताको भावना के छ भनी बुझ्न चाहन्थे । उनी जनताका राजा थिए । जनताका मनका राजा थिए भन्ने कुरा आजपर्यन्त नेपाली जनता उनलाई सम्मानका साथ स्मरण गरेबाट पुष्टि हुन्छ । अहिले हाम्रो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ तर राजा वीरेन्द्रको मान सम्मानमा केही पनि कमी आएको छैन । उनी आज पनि नेपाली जनताको हृदयमा बाँचिरहेका छन् । देशलाई विकास क्षेत्रमा विभाजन गरी विकेन्द्रीकरणको नीति अनुरुप समानुपातिक विकास गर्नुपर्ने धारणा उनकै शासनकालमा उठेको थियो । हो, नेपाली जनताको सबै आशाअपेक्षाहरु उनको कार्यकालमा पुरा भएनन् तर नेपाली जनताका प्रति उनमा अत्यन्तै सम्मान थियो ।
उनी राष्ट्रियतालाई अत्यन्तै प्यारो गर्ने राजाका रुपमा रहेको कुरा २०४६ सालको जनआन्दोलन उत्कर्षमा पुगेका बेला भारतले पञ्चायती व्यवस्थाको रक्षाका लागि राष्ट्रियता स्वाधीनतालाई असर पु¥याउने शर्त राखेकोमा सो प्रस्तावलाई उनले अस्विकार गरेबाट पुष्टि हुन्छ । उनले भनेका थिए– भारतसँग झुक्नुभन्दा नेपाली जनतासँग झुक्नु बेस । उनको प्रजातान्त्रिक विचार पनि २०४६ सालको जनआन्दोलनको सफलताको एउटा कारण मान्न सकिन्छ । उनले जनताको विचारलाई समयमा चिन्न नसकेका थिए भने अझै धेरै रक्तपात हुनेथियो ।
वीरेन्द्रले दार्जिलिङको सेन्ट जोसेफमा आठ वर्ष अध्ययन गरेका थिए भने संयुक्त राज्य बेलायतको ईटन कलेजमा ५ वर्ष उच्च तहको अध्ययन गरेका थिए । टोकियो विश्वविद्यालयमा केही समय अध्ययन गरेका वीरेन्द्रले हार्वर्ड विश्वविद्यालयबाट राजनीतिशास्त्रमा उच्च शिक्षा ग्रहण गरेका थिए । २०५८ साल जेठ १९ गते तत्कालीन राजा वीरेन्द्रसहित उनको वंशविनाश हुने गरी दरबार हत्याकाण्ड भएको थियो, जसको रहस्य अझै गर्भमा रहेको छ । किन र कसले त्यस्तो भयंकर हत्याकाण्डको षडयन्त्र ग¥यो भन्ने कुरा स्पष्ट रुपमा आजसम्म कसैले भनेको छैन । सो हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र सहित लगभग १ दर्जनको हत्या भएको थियो भने आधा दर्जन घाइते भएका थिए ।
यात्रा गर्न मन पराउने राजा वीरेन्द्र देशविदेशका धेरै ठाउँको यात्रा गरेका थिए । देशविदेशको यात्राले उनलाई संसार बुझ्न सहयोग ग¥यो र यसै कारणले पनि उनी बढी प्रजातान्त्रिक र जनताको पक्षमा उभिने राजाको रुपमा आफूलाई उभ्याउन सफल भएका थिए । पञ्चायती व्यवस्था चरमोत्कर्षतिर पुगिरहेको समयमा उनी राजा भएका थिए । आन्तरिक र बाह्य दुवै प्रकारका चुनौतिसँग जुधेर नेपाली जनताको प्रजातन्त्रप्रतिको चाहनालाई सम्बोधन गर्नुपर्ने जटिल परिस्थितिबाट उनले गुज्रिन बाध्य हुनुपरेको थियो ।
राजा वीरेन्द्रले शान्तिप्रिय राजाको रुपमा रहेका थिए । नेपाललाई शान्तिक्षेत्र बनाउनुपर्छ भन्ने प्रस्ताव उनैले ल्याएका थिए । कुनै पनि देशमाथि नेपालले आक्रमण नगर्ने र कसैको पनि पक्ष नलिने प्रतिबद्धतासहित उनले आफ्नो राज्याभिषेकका दिन नेपाललाई शान्तिक्षेत्र बनाउने प्रस्ताव अघि सारे । सो प्रस्तावलाई क्रमशः ११६ देशहरुले समर्थन गरेका थिए । राजा वीरेन्द्रसहित वंश विनाशको सम्बन्धमा बाझिने प्रकारका तथ्यहरु सार्वजनिक गरिएका छन् । तत्कालीन युवराज दिपेन्द्रले नशाको सुरमा यो हत्याकाण्ड गरेका हुन् र अन्तिममा आफैले आफूलाई हत्या गरेको एउटा तथ्य बाहिर ल्याइएको छ भने वीरेन्द्रको परिवार मात्र छानेर हत्या अरु कसैले गरेको हो भन्ने अनुमान पनि नेपाली जनमानसमा सर्वत्र आजपर्यन्त गरिंदैछ । जे जसरी भए पनि उनको हत्या भएको हो । दरबारिया षडयन्त्रकै कारणले उनको वंश विनाश भएकोमा दुईमत छैन । उदारवादी, देशभक्त र सदैव जनताको हितका लागि चिन्तनशील राजा आज हामी समक्ष नरहे पनि उनी नेपाली जनताको ढुकढुकीमा बाँचिरहेका छन् र जुगजुगसम्म नेपालीको स्मृतिमा रहिरहनेछन् ।
सुरुङ्गा, झापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here