लोकसेवा आयोगको कर्मचारी भन्दै ठगी गर्ने एक जना धरानबाट पक्राउ

0
669

सुनसरी ।

आफुलाई लोकसेवा आयोगको कर्मचारीकोरुपमा चिनाउदै सरकारी जागिर लगाइदिने प्रलोभनमा ठगी गर्दै हिड्ने एक व्यक्ति सुनसरीको धरानबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरीको पशुपतिनगर ४ घर भई हाल धरान ५ देउरालीमा डेरा गरि बस्ने ५२ बर्षीय कुमार थापा मगर रहेका छन् । उनलाई कुमार थापा भनेर चिनिए पनि वास्तविक नाम भने अमरबहादुर लामिछाने हो ।

उनलाई किटानी जाहेरीको आधारमा बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले लोक सेवा आयोगको परीक्षाको प्रवेश पत्रसमेत वितरण गर्ने र त्यसबापत मोटो रकम लिने गरेको खुलेको छ । रकम लिएपछि भने लेनदेन प्रकृतिको कागज बनाएर झुक्याई ठगी गरेको उजुरी प्रहरीमा परेपछि उनी पक्राउ परेका हुन् ।

उनको डेरा कोठामा प्रहरीले खान तलासी गर्दा सर्वोच्च आदलत काठमाण्डौं लेखिएको डिजिटल छाप, लोकसेवा आयोग कमल पोखरी काठमाण्डौं लेखिएको डिजिटल छाप, गोप्य लेखेको रबरको छाप, जिबछ लामिछाने लेखेको रबरको छाप, नेपाल सरकार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय काठमाण्डौं लेखेको रबरको छाप वरामद भएको छ ।

यस्तै, प्रहरी निरीक्षक लेखेको रबरको छाप, उपसचिव लेखेको रबरको छाप, राष्ट्रिय बाणिज्य बैंक उल्टो भएको छाप,लोक सेवा आयोगको कार्यालय लेखिएको डिजिटल स्टाम्प छाप, शाखा अधिकृत लेखेको छापलगायत विभिन्न कागजात वरामद भएको प्रहरीले जनाएको छ । उनलाई सरकारी छाप दस्तखत किर्ते तथा ठगी कसुरमा जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here