प्रवेशिकाः चित्त बुझाउने ठाउ“ छैन

0
404

पूर्वाञ्चल विकास क्षेत्रमा २०७०को प्रवेशिका (एसएलसी) परीक्षामा सामेल भएका मध्ये नियमिततर्फ ३३.७४ प्रतिशत सफल भएका छन् । सफल भएका विद्यार्थीहरुको संख्या गत बर्षको तुलनामा २.३० प्रतिशतले बढी हो । गत बर्ष पूर्वाञ्चलबाट ३१.४४ प्रतिशत मात्र विद्यार्थी सफल भएका थिए । यस बर्ष पूर्वाञ्चलका १६ जिल्लाबाट ८६ हजार एक सय ५१ जना सहभागी रहेकोमा २९ हजार ७३  जना सफल भएको क्षेत्रीय शिक्षा निर्देशनालयले जनाएको छ । प्रकाशित नतिजा अनुसार यस बर्ष पूर्वाञ्चलका तीन जिल्ला झापा, मोरङ र सुनसरीले भने समग्रमा राष्ट्रिय उत्तीर्ण प्रतिशत भन्दा बढी प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । यसका लागि भने सम्बन्धित पक्षमा हर्क बढाइ छ ।
क्षेत्रीय स्तरमा राष्ट्रिय प्रतिशतलाई जितेपनि झापामा यस बर्ष पनि सामुदायिक विद्यालयको नतिजा भने खस्किएको देखिएको छ । सामुदायिक विद्यालयबाट छ हजार ७ सय ९८ जनाले प्रवेशिका परीक्षा दिएकोमा एक हजार ८ सय ८६ जना विद्यार्थी मात्र सफल भएकोले नतिजा खस्किएको हो । सफल हुने विद्यार्थीहरुमा छ जना विशिष्ठ, चार सय ७४ प्रथम, एक हजार २ सय ९१ द्वितीय र एक सय ४२ तृतीय श्रेणीमा उत्तीर्ण भएका हुन् । जिल्ला शिक्षा कर्यालयबाट प्राप्त जानकारी अनुसार झापामा यस बर्ष २७.७४ प्रतिशत मात्र विद्यार्थीले प्रवेशिका छिचोल्न सफलता पाएका हुन् । गत बर्षको तुलनामा यस बर्ष उत्तीर्ण दर केही प्रतिशत बढेको देखिएको छ ।
यस बर्ष झापाका सामुदायिक विद्यालयहरु मध्येबाट वर्तमान विर्तामोड नगरपालिका अन्तर्गत चारपानेस्थित साङ्गवेद संस्कृत विद्यालय ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर जिल्ला मै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । परीक्षामा सामेल थोरै संख्याका विद्यार्थी भएतापनि धेरै जना सफल हुन सकेकोमा सांगवेदप्रति पनि हाम्रो हर्क बढाइ छ । त्यसैगरी चारपानेकै मोहनमाया उच्च माविबाट ७७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । झापामा एक सय आठ सामुदायिक, एक सय ५० संस्थागत, दुई खुला, दुई भुटानी शरणर्थी र एक प्राइभेट गरी जम्मा दुई सय ६३ विद्यालयका १२ हजार दुई सय ३३ जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । जिल्लाको मेचीनगरको मेची शिक्षा निकेतन विद्यालयको नतिजा शुन्य भएको छ भने मेचीनगर कै नर्थ प्वाइन्ट अंग्रेजी उच्च माविकी एलिसा सुवेदी ७४ अंक (९०.१२ प्रतिशत) प्राप्त गरी जिल्लामा प्रथम भएकी छन् ।
समग्रमा भन्नु पर्दा धेरै विद्यार्थीको भविष्यको लागि सुनौलो ढोका भनिनु पर्ने एसएलसी परीणाम हेर्दा फलामे ढोका नै सावित भइरहेको छ । यो सुखद् कुरो होइन । यसतर्फ जिम्मेवार पक्षले गम्भीर भएर सोच्ने कि नसोच्ने ? प्रश्न उठेको छ । एसएलसीको विगतदेखि अहिलेसम्म कै परिणम हेर्दा चित्त बुझाउने ठाउँ कहीं–कतै देखिएको छैन । अर्थात् वर्तमान परीक्षा प्रणाली असफल भएको नै हो कि ? भन्ने प्रश्न उठ्न थालेको यस बेला हामीले त शिक्षा प्रदान गर्ने व्यवस्था नै असफल भएको ठानेका छौं । शिक्षा नसपारिएसम्म मुलुकको कुनै पनि व्यवस्था र अवस्था सप्रिने ठाउँ छैन । शिक्षामा गरिएको लगानी बालुवामा खन्याएको पानी सरह हुनेछ ।  index

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here