इतिहास रच्दै नेपाल साफ च्याम्पियनसीपको फाइनलमा: नेपाली फुटबल टिमलाई प्रधानमन्त्री देउवाको बधाई

२७ आश्विन २०७८, बुधबार मा प्रकाशित

झापा,
प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई ज्ञापन गर्नुभएको छ ।

बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो ।

बुधबार साँझ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटमार्फत नेपाली टिमलाई बधाई दिनुभएको हो । उहाँले आगामी खेलका लागि शुभेच्छासहित नेपाली टिमलाई प्रोत्साहन पनि प्रदान गर्नुभएको छ ।

ट्वीटमा उहाँले लेख्नुुभएको छ ‘‘साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु ।’’

बंगलादेशविरुद्ध बराबरी खेल्दै नेपालले साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ ।

नेपाल पहिलोपटक साफ च्याम्पियन च्याम्पियनसीपको फाइनलमा पुगेको हो । आजको खेलमा नेपाललाई कम्तिमा बराबरी नतिजा आवश्यक थियो भने बंगलादेश जितको खोजीमा थियो । बंगलादेशले ९ मिनेटमै अग्रता लिएपछि नेपाल दवावमा परेको थियो ।

अन्ततः खेलको ८८ औं मिनेटमा अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गर्न सफल भए । नेपालले गोलका लागि बनाएको क्लियर चान्समा पेनाल्टी एरिया बाहिर आएर फाउल गरेसँगै बंगलादेशका गोलकिपर रहमान जिकोले रातो कार्ड पाएका थिए । त्यससँगै १० जनामा सीमित भएको बंगलादेशका खेलाडीले १८ यार्ड बक्समा अञ्जनमाथि फाउल गरेसँगै नेपालले पेनाल्टी पाएको थियो ।

मालेस्थित नेसनल फुटबल स्टेडियममा जारी खेलको आठौं मिनेटमा नेपाली डिफेन्डर गौतम श्रेष्ठले विपक्षी खेलाडीमाथि खराब ट्याकले गरेसँगै बंगलादेशले फ्रि–किक पाएको थियो । सोही फ्रि–किकमा कप्तान जमल भुयाको पासमा सुमन रेजाले हेडरमार्फत गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।

खेलको सुरुआतदेखि नै गोलका लागि प्रयासरत नेपालले केही मौका सृजना गरे पनि सदुपयोग गर्न सकेको थिएन । पहिलो हाफको इन्जुरी समयमा रोहित चन्दको क्रसमा आयुष घलानको सुन्दर हेडर फ्रेममा नपर्दा नेपाल बराबरी गर्न दुर्भाग्यशाली रह्यो । त्यसअघि रोहित चन्दले पनि सुन्दर मौका गुमाएका थिए । प्रतियोगिताको पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १–० ले पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३–२ गोलको नतिजामा हराएको थियो ।

त्यस्तै, तेस्रो खेममा भारतसँग १–० ले पराजित नेपालले बंगलादेशविरुद्ध महत्त्वपूर्ण १ अंक हासिल गर्दै शीर्ष दुईमा स्थान बनाएको हो । राउन्ड रोबिन लिग पद्धतिमा जारी प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । आजै हुने माल्दिभ्स र भारतबीचको विजेताले फाइनलमा नेपालसँग खेल्ने छ । प्रतियोगिता १३औं संस्करण सम्म आइपुग्दा नेपाल भने एकपटक पनि फाइनल पुग्न सकेको थिएन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here