वासिङ्टन,

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने घोषणा गरेका छन्।
बहुचर्चित सामाजिक सञ्जालहरू ट्विटर र फेसबुकले आफ्ना आधिकारिक ‘एकाउन्ट’ हटाइदिएपछि ट्रम्पले नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने घोषणा गरेका हुन्।
अमेरिकामा गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनका वेला तत्कालीन राष्ट्रपति ट्रम्पले आफै‚ भ्रम फैलाएको, सामाजिक सद्भाव बिगारेको लगायतका आरोप लगाउँदै ती सामाजिक सञ्जालले उनको एकाउन्ट हटाइदिएका हुन्।
विशेष गरी ट्रम्पका समर्थकहरूको भीड अमेरिकी संसद् भवनमा प्रवेश गरेको घटनापछि उनलाई ट्विटर र फेसबुकले आफ्ना सञ्जालबाट हटाएका थिए। उनीहरूले हटाएपछि पूर्वराष्ट्रपति ट्रम्पले आफ्ना अपडेट सार्वजनिक गर्न छुट्टै ब्लग जस्तै अनलाइन सञ्चालन गरेका थिए। केही समयपछि त्यो पनि बन्द भएको छ।
सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा पनि उम्मेदवारी दिने तयारीमा रहेका ट्रम्पले त्यसैलाई लक्षित गरेर नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्न लागेको जनाइएको छ।
उनले सञ्चालन गर्न लागेको सामाजिक सञ्जालको नाम ‘ट्रुथ सोसियल’ राख्ने पनि तय भइसकेको उनको सचिवालयले जनाएको छ। ट्रुथ सामाजिक सञ्जालको सञ्चालन ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुप (टीएमटीजी)ले गर्ने भएको छ। ग्रुपको अध्यक्ष ट्रम्प आफै रहेका छन्।
ट्रम्पले उक्त सामाजिक सञ्जाल प्रविधिसम्बन्धी ठूला कम्पनीहरूका अत्याचारविरुद्ध उभिने बताएका छन्। अहिले प्रभावशाली रहेका सामाजिक सञ्जालहरूले अमेरिकाका विद्रोही आवाजलाई स्थान नदिएको ट्रम्पको आरोप छ।
ट्रुथ सामाजिक सञ्जालमा भिडिओ प्रसारण सेवा पनि समावेश गरिने भएको छ। भिडिओ सेवामा समाचार, पोडकास्टलगायतका धेरै सुविधा उपलब्ध गराइने टीएमटीजीले जानकारी दिएको छ।
उक्त सामाजिक सञ्जाल आगामी महिनादेखि केही आमन्त्रित प्रयोगकर्ताका लागि तयार हुनेछ भने सन् २०२२ को पहिलो तीन महिना अमेरिकामा मात्रै उपलब्ध हुनेछ।































