झापा ।

नयाँ भेरियन्टसहितको कोभिड महामारीको त्रास अझै ताजै छ । नेपालमा पनि नयाँ भेरियन्टको कोभिड संक्रमण देखिएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकार पुनः आवश्यक तयारीमा जुटेको छ ।
नेपाल आएका दुईजनामा कोभिडको ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि भएसँगै प्रदेश १ सरकार रोकथाम तथा प्रतिकार्यको पूर्वतयारीमा जुटेको हो । कोभिडको ओमिक्रोन भेरियन्टबाट आम नागरिकलाई सुरक्षित राख्न सरकारले कोभिड बिशेष अस्पताल, आइशोलेसन तथा होल्डिङ सेन्टरको व्यवस्थापन र आवश्यक स्वास्थ्य सामग्री तथा जनशक्तिको पुनः परिचालन लगायतका कार्यमा आवश्यक गृहकार्य थालेको छ ।
‘म्युटेन्ट भेरियन्ट’ सहितको दोश्रो लहरबाट पाठ सिक्दै विभिन्न जिल्ला अस्पताल र आइसोलेसन सेन्टरहरुलाई समेत दुरुस्त अवस्थामा राख्न निर्देशन गरिसकिएको प्रदेश सरकारका सामाजिक विकासमन्त्री जयराम यादवले बताए ।
कोभिडको जोखिमलाई दृष्टिगत गर्दैै प्रदेश सरकारले सीमा क्षेत्रहरुमा समेत आवश्यक कडाइ गर्ने तयारी गरेको छ । विदेशबाट आउने नागरिकको हकमा हेल्थ स्क्रीनिङ तथा एन्टिजेन परीक्षण गरेर मात्र नेपाल प्रवेश दिने बिषयमा पनि आवश्यक छलफल र तयारी भइरहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपाल सरकारको निर्णय अनुसार विभिन्न जिल्लाहरुमा निर्माण भइरहेको होल्डिङ सेन्टरको कार्यलाई पनि यथाशीघ्र सम्पन्न गर्न निर्देशन गरिएको छ । प्रदेश नं. १को राजधानी विराटनगरको हकमा रानीको जुट मिल्समा नेपाली सेनाले निर्माण गरिरहेको १ हजार क्षमताको होल्डिङ सेन्टरलाई समेत चाँडै सम्पन्न गर्न निर्देशन गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । उनले ४० प्रतिशत भौतिक प्रगति भएको होल्डिङ सेन्टर अबको २ महिनाभित्र सञ्चालनमा आउने जानकारी दिए ।
यस्तै, सघन प्रकृतिका कोभिड संक्रमित बिरामीको उपचारका लागि प्रदेश सरकारले सञ्चालन गरेको कोभिड–१९ उपचार केन्द्रलाई समेत तयारी अवस्थामा निर्देशन गरिएको जनाइएको छ । हाल उपचार केन्द्रको पूर्वपट्टि अक्सिजनसहित आइसीयु र एचडियु गरी ९६ बेड क्षमताको बिशिष्टिकृत कोभिड अस्पताल सञ्चालनमा छ ।
८० बेड क्षमताको पुरानो अस्पताल पनि दुरुस्त अवस्थामा छ । यसका अतिरिक्त नयाँ ब्लक छेउमै दक्षिणपट्टिको खाली संरचनामा अक्सिजन प्लान्टसहित ७६ बेड क्षमताको अर्को अस्पताल निर्माणको कार्य समेत धमाधम भइरहेको छ । २४ आईसियु र ५२ एचडियु गरी कूल ३ करोड ९ सय ६१ रुँपैयाँको लागतमा अस्पताल निर्माणको कार्य भइरहेको कोभिड–१९ उपचार केन्द्रका संयोजक बैजनाथ साहले बताए ।
अस्पतालमा अक्सिजन आपूर्तिलाई सहज बनाउन प्रदेश सरकारले कोभिड अस्पतालको नयाँ ब्लकका लागि आफ्नै अक्सिजन प्लान्ट निर्माणको कार्यलाई समेत तीव्रता दिएको छ ।
निर्माणाधीन रहेको प्लान्टले दैनिक १५० सिलिण्डर अक्सिजन उत्पादन गर्ने जनाइएको छ । यसका अतिरिक्त उत्तरपट्टिको ब्लकका लागि पनि अक्सिजन प्लान्ट निर्माण गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले मुख्यमन्त्री कार्यालयलाई फायल पठाइसकेको छ । अस्पतालको पूर्वपट्टिको दुवै ब्लकमा प्लान्ट निर्माण भइसकेपछि अस्पतालले दैनिक ३०० सिलिण्डर अक्सिजन उत्पादन गर्ने जानकारी दिइएको छ ।






























