काँकरभिट्टा ।

दुबै मृगौला खराब भई उपचारको क्रममा रहेका काँकरभिट्टाका मानबहादुर सुवेदी (राकेश) को जीवन बचाईदिन अपिल गरिएको छ ।
प्रेस क्लब मेचीनगरको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा करिब ४ महिनाअघिबाट दुबै मृगौलाले काम गर्न नसक्ने अवस्थामा पुगेका वडा नम्बर ६ लक्ष्मी टोल निवासी ४१ बर्षीय सुवेदीको मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोग गरिदिन सार्वजनिक अपिल गरिएको हो ।
सो अवसरमा सुवेदीकी पत्नी बबिता सुवेदीले आर्थिक अवस्था कमजोर भएको र परिवारमा श्रीमान्को अस्वस्थतासँगै आय–आर्जनको पाटो नै बन्द भएकाले आफूहरु संकटमा परेको बताइन् । उनका अनुसार मृगौला रोगी सुवेदी लामो समयदेखि चालकको रुपमा काम गर्दै थिए । उनी बिरामी परेसँगै परिवार धान्नै मुस्किल भएको उनले दुखेको पोखिन् ।
‘उहाँकै कमाईले हामी पाँच सदस्यीय परिवारको जीविकोपार्जन हुँदै आएको थियो’– उनले भनिन्– श्रीमान् थला परेसँगै परिवार गम्भीर संकटमा छ, सबैले सकेको सहयोग गरिदिनु हुनेछ भन्ने विश्वास लिएका छौं ।’
सुवेदीलाई उनका बुवा ललितबहादुर सुवेदीले मृगौला प्रत्यारोपण गर्ने तयारी गरिएको परिवारले जनाएको छ । सोको लागि २० लाखभन्दा बढी रकम आवश्यक छ जुन २ महिनाभित्रमा जुटाउनुपर्ने सुवेदी परिवारको दायित्वमा छ । हाल उनको मेची अञ्चल अस्पताल भद्रपुरमा हप्ताको दुईपटक डायलासिस भइरहेको छ ।
उनलाई आर्थिक सहयोग गर्न चाहने देश विदेशमा रहेका सबै सहयोगीहरुमा मानबहादुर सुवेदीको नाममा रहेको सिद्धार्थ बैंकको खाता नम्बर ०२२१५२०८७०१मा रकम जम्मा गरिदिन परिवारले सबैमा सार्वजनिक अपिल गरेको छ । सुवेदीका दुई छोरी र एक छोरा छन् ।
परिवारको तर्फबाट मानबहादुर बचाउ अभियान सञ्चालन गर्दै आर्थिक संकलन गर्न आर्थिक सहयोग संकलन समिति बनाउने तयारी गरेको र सोको लागि सहयोग गरिदिन समेत सामाजिक अभियन्ता तथा सहयोगीहरुमा अनुरोध गरेको छ । पत्रकार सम्मेलनमा मेचीनगरका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।






























