मेचीनगरमा ४८ नयाँ क्षयरोगी फेला

१ पुष २०७८, बिहीबार मा प्रकाशित

लक्ष्मी उप्रेती/मेचीनगर,

झापाको मेचीनगरमा चालु आर्थिक वर्ष २०७८/०७९ को पाँचमहिनामा ४८ जना नयाँ क्षयरोगी थपिएका छन् । मेचीनगर नगपालिकाको स्वास्थ्य शाखाका अनुसार गत आर्थिक वर्ष २०७७÷०७८ को एकवर्षे अवधिमा १ सय ८७ जना क्षयरोगी फेला परेका थिए ।

नगरपालिकाभित्र रहेका स्वास्थ्य केन्द्रमा उपचारका लागि आएकाहरुको विभिन्न परीक्षणबाट नगरभित्र क्षयरोग पत्ता लाग्ने गरेको स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा ७५ महिला र १ सय १२ जन पुरुषमा क्षयरोग पत्ता लागेको थियो भने चालु आर्थिक वर्षको यो अवधिमा १७ महिला र ३१ पुरुषमा क्षयरोग पत्ता लागेको हो ।

नगरमा महिलाको तुलनामा पुरुषमा क्षयरोग बढी देखिएको छ । काँकरभिट्टा स्वास्थ्यकेन्द्रमा मात्र चालु आर्थिक वर्ष २०७८÷०७९ को पाँचमहिनामा २४ जना नयाँ क्षयरोगी फेला परेको स्वास्थ्य केन्द्र प्रमुख लेखनाथ खतिवडाले जानकारी दिनुभयो । ‘क्षयरोग अहिले जनस्तरमा निक्कै जटिल समस्याका रुपमा देखिएको छ ’ केन्द्र प्रमुख खतिवडाले भन्नुभयो—‘यो धेरै पुरानो रोग भए पनि अझै नियन्त्रण गर्न सकिएको छैन् नियन्त्रण बाहिर छ । ’

अहिले पनि समाजमा निक्कै क्षयरोगी छन् । उनीहरु खुलेर उपचारका लागि आउने गरेका छैनन् । यो स्वास्थ्य केन्द्रमा मेचीनगरका ५,६,७ र ८ नम्बर वडाबाट उपचारका लागि आउने सर्वसाधारण आउने गरेका छन् । त्यसकोक्षेत्रभित्र १ सय ३ जना क्षयरोगी अझै खोज्न बाकी छ । ६८ जना फेला परे पनि ३५ जना लुकेरै बसेको केन्द्रले जनाएकोछ ।

अनुसार तौल घटनु , छाती दुख्नु, राती राती ज्वरो आउनु, खकारमा रगत देखिनु, श्वासप्रशवासमा समस्या हुनु दुईहप्ता सम्म लगातार खोकी लागि रहनु लगायत क्षयरोगका लक्षण भएको प्रमुख खतिवडाको भनाई छ । चालु आर्थिक वर्ष २०७८÷०७९ को बजेट बक्तव्यको बुँदा नम्बर ३ मा आगामी २ वर्ष भित्र सवै स्थानीय तहलाई क्षयरोग मुक्त घोषणा गरिने उल्लेख भए अनुसार चालु आर्थिक वर्ष भित्र मेचीनगर नगरपालिकालाई क्षयरोग मुक्त घोषणा अभियान सञ्चालन गर्न नगरपालिकाले विभिन्न समिति गठन गरेको छ ।

चालु आर्थिक वर्षमा मेचीनगरसहित २२ वटा स्थानीय तहमा क्षयरोग मुक्त घोषणा अभियान सञ्चालन गर्ने सरकारको योजना छ । क्षयरोग मुक्त घोषणा अभियान सञ्चालनका लागि स्वीकृत निर्देशिकामा उल्लेख भए अनुसार नगरपालिकामा नगरप्रमुख विमल आचार्यको अध्यक्षतामा नगर स्तरीय समिति र वडाअध्यक्षहरुको अध्यक्षतामा वडा स्तरीय समिति गठन गरिने नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाले जानकारी दिनुभयो ।

सन २०५० सम्ममा नेपाललाई क्षयरोग मुक्त बनाउने लक्ष्य अनुरुप “दुईहप्ते खोकी क्षयरोग पो हो की” भन्ने मुलनाराका साथ स्वास्थ्य मन्त्रालय स्वास्थ्य विभागले विभिन्न अभियान सञ्चालन गरिरहेको भएपनि हरेक वर्ष क्षयरोगी थपिरहेका कारण समस्या हुने गरेको छ ।

सन् २०५० सम्ममा क्षयरोगलाई पूर्ण रुपमा निवारण गर्ने योजना अन्तर्गत नेपाल सरकारले २०५९ देखि २०६९ सालसम्म दशबर्षे दीर्घकालिन योजना अघि सारेको थियो । विसं २०२१ सालमा नेपाल सरकार, विश्व स्वास्थ्य संगठन र यूनिसेफबीच क्षयरोग नियन्त्रणका लागि त्रिपक्षीय सम्झौता भएको थियो । तर, यी अभियान खासै प्रभावकारी बनेका छैनन् ।

सरकारले यहि नारा साकार र लक्ष्य पुरा गर्न प्रत्यक्ष स्वास्थयकर्मीको निगरानीमा क्षयरोगको औषधी सेवन गर्ने “डष्ट प्रोग्राम” पनि अघि सारेको छ । तर, पनि कार्यक्रम खासै प्रभावकारी बन्न सकेको छैन् ।

विश्व सवास्थ्य संगठन २०१५ को प्रतिवेदन हेर्ने हो भने विश्वभर करिब एक कारेड मानिसमा क्षयरोगका कारण ग्रसित छन् । क्षयरोगका कारण १५ लाख मनिसको मृत्यू भएको प्रतिवेदनमा उल्लेख छ । त्यसैका कारण नेपालबाट क्षयरोग क्रमस नियन्त्रण हुदै गईरहेका बेला विदेशबाट फर्किने नेपालीहरुबाट यो रोग नसरोस भन्नका लागि क्यानडा सरकारले नेपाल सरकार संग मिलेर विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोगमा टिबी रीच परियोजना समेत शुरु गरेको थियो ।

राष्ट्रिय क्षयरोग कार्यक्रम अन्र्तगत भारतमा बसोबास गरि नेपाल फर्किने श्रमिक, संभावित यौनकर्मी, लागूऔषध प्रयोगकर्ता, तथा अन्य संभावित क्षयरोगीहरुको खोज पडताल गरि उपचारमा राख्न टिबी रिच कार्यक्रम झापासहित मोरङ्ग, पर्सा, कास्की, रुपन्देही, कैलाली र कन्चनपुरमा यो अभियान शुरु गरिएको थियो ।

डाक्टर पिताम्बर ठाकुरका अनुसार नेपालमा करिब ६० प्रतिशत बयस्क र ४५ प्रतिशत अन्य समूहका व्यक्ति क्षयरोगबाट संक्रमित छन् । डा ठाकुरका अनुसार कमजोर प्रतिरोधात्मक क्षमताका कारण शारीरिक दृष्टिकोणले कमजोर व्यक्ति क्षयरोगी संग बढी हेलमेल गरे सहजरुपमा यो रोग सर्न सक्छ । खकार, छाला तथा एक्स–रे बाट क्षयरोगका किटाणु पत्ता लाग्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यकर्मीका अनुसार क्षयरोगको सबैभन्दा खतरा फोक्सोमा किटाणु फेला पर्नु हो । यसबाट पत्ता लागेका क्षयरोगीले समयमै उपचार नपाए एकबर्ष भित्रमा उस्ले १० देखि १५ जना निःरोगीलाई यो रोग सार्न सक्छ । फोक्सोमा तथा खकार परिक्षणमा किटाणु नदेखिने भए पनि बिशेषज्ञहरुले मात्र शरिरका अन्य भागमा क्षयरोगका किटाणु फेला पार्ने गरेकाछन् ।

यस्ता किटाणु बिशेषज्ञ बाहेक अन्य स्वास्थयकर्मीले चाडै पत्ता लगाउन नसक्ने स्वास्थ्यकर्मीको दाबी छ । हरेक बर्ष क्षयरोगका कारण हुने मानिसको मृत्यु र नयाँ रोगीको संख्यामा कमि गर्न सरकारले बिभिन्न दातृ संस्थाको सहयोगमा बर्षेनी करोडौ रुपैयाँ खर्च गर्ने गरेको छ । अन्य गैरसरकारी संघ संस्थाहरुले समेत संयुक्तरुपमा सचेतना अभियान सञ्चालन गर्ने गरेको छ । शुरुमा क्षयरोगको लक्षण देखिने वित्तिकै उपचारका लागि रोगी नआउँनु नै सबै भन्दा ठुलो चुनौती रहेको कार्यालयले जनाएको छ ।

खकार वा अन्य परीक्षणबाट फेला परेका सबैमा क्षयरोगका रोगीलाई स्वास्थ्यकर्मीको निगरानीमा राख्ने र डष्ट कार्यक्रम अन्तर्गत सबैको उपचार गर्ने गरिएको छ । राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत भारतमा बसोबास गरि नेपाल फर्किने श्रमिक, संभावित यौनकर्मी, लागूऔषध प्रयोगकर्ता, तथा अन्य संभावित क्षयरोगीहरुको खोज पडताल गरि उपचारमा राख्न टिबी रिच कार्यक्रम शुरु गरिएको थियो ।

यसका लागि भारतसंग सिमा जोडिएका र खुल्लाम खुल्ला नेपाल भारत आवत जावत गर्न सकिने सीमामा आउटरिच कार्यकर्ता परिचालन गरिएको थियो । अभियान अन्तर्गत भारत लगायत अन्य मुलुकमा काम गरि स्वदेश फर्किएका सेना र प्रहरी बाहेकका नेपालीलाई सातवटा प्रशन सोध्ने र सात मध्ये कुनै एउटा प्रशनको जवाफ छ भन्ने आएमा उनीहरुको खकार संकलन गर्ने गरिएको थियो । संकलित खकार परियोजाले सञ्चालन गरेको प्रयोगशालामा लगेर परिक्षण गर्ने गरेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here