आगलागीको घटनापछि मेचीनगर नगरपालिकाको चासो विपद् व्यवस्थापनको प्रतिबद्धता

0
369

झापा ।

विपद् व्यवस्थापनका लागि आवश्यक औजार उपकरण भए पनि चुस्त राख्न नसकेको चौतर्फी आलोचना खेपिरहेको मेचीनगर नगरपालिकाले विपद् व्यवस्थापन सम्बन्धी कार्यविधि पारदर्शी ढंगले पालना गराउने प्रतिबद्धता जनाएको छ ।

गत माघ २० गते मेचीनगर–६स्थित एसएस फुटवेयर जुत्ता उद्योगमा आगलागी भएसँगै नगरपालिकाले विपद् व्यवस्थापनका लागि कार्यविधि पारदर्शी ढंगले कार्यान्वयन गर्न लागेको हो ।
नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५को दफा ३को उपदफा २ बमोजिम गठित विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा नगर प्रमुख बिमल आचार्यले स्थानीय सरकारलाई विपद् व्यवस्थापन सम्वन्धि ठोस कानून बनाएर कार्यान्वयनमा लैजाने बताए । नगरमा दुई वटा वारुणयन्त्र रहेपनि चुस्त नहुँदा आगलागी तथा विपद्का समयमा वारुणयन्त्र प्रयोगमा नआएपछि स्थानीयले नगरपालिकाको चर्काे विरोध गर्दै आएका थिए ।

मेचीनगरमा भएको आगलागीमा नगरकै दमकल प्रयोगमा नआएको भन्दै विपद् व्यवस्थापनमा नगरपालिका उदाशीन रहेको टिप्पणी हुँन थालेसंगै नगरले नगरस्तरीय विपद् व्यवस्थापन समितिको वैठक बोलाएको हो । नगरले मेचीनगरको धुलावारी, इँटाभट्टा काँकरभिट्टा क्षेत्रमा विपदको समयमा पानीको आपूर्तिलाई थप सहज बनाउन पानी पोखरी निर्माणका लागि आवश्यक सहकार्य एवम् समन्वय गर्ने, आगलागीबाट हुने विपद् जोखिम न्यूनीकरण गर्न वारुणयन्त्रलाई सहज रुपमा पानी आवश्यकपर्ने ‘आयर हाइड्रेन्ट’ को सञ्चालन तथा प्रयोग सम्बन्धी थप जानकारी गराउन खानेपानी उपभोक्ता समूहहरुले प्राविधिक सहयोग एवम् समन्वय गर्ने भएको छ ।

विपद् जोखिम न्यूनीकरणका लागि विपद् व्यवस्थापन समितिमार्फत मेची उद्योग वाणिज्य संघ, स्थानीय सुरक्षा निकाय एवम् सरोकारवाला निकायसँग समन्वय गरी अनुगमन गर्ने, विपद् व्यवस्थापन सम्बन्धी कार्ययोजना बनाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, वारुणयन्त्रलाई थप चुस्तदुरुस्त राख्ने, जोखिम न्यूनीकरण पूर्व तयारीका लागि सबै सरोकारवाला निकायबीच आवश्यक समन्वय गर्र्ने नगरपालिकाले निर्णय समेत गरेको छ ।

बैठकमा मेचीनगरका छुट्टाछुट्टै दुई अलग–अलग स्थानमा भएका आगलागीका घटनाबाट भएको जनधनको क्षतिका विषयमा मेचीनगर नगरपालिकाले दुःख व्यक्त गरेको छ । नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा घटनाप्रति दुःख व्यक्त गर्दै आगलागीमा परी ज्यान गुमाएकाप्रति श्रद्घाञ्जली र शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

नगरले एसएस फुट्वेयर जुत्ता उद्योगमा भएको आगलागीको घटनामा आगो नियन्त्रणमा सहयोग पु¥याउने काँकरभिट्टा खानेपानी तथा सरसफाई समिति, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना, छिमेकी नगर तथा गाउँपालिका, मित्रराष्ट्र भारत, वारुणयन्त्र, स्थानीय नगरवासीलगायत सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

बैठकमा सरोकारवाला निकायहरुबीच सहकार्य समन्वय गरी अनुगमन तथा निरीक्षण गर्ने, विपद् व्यवस्थापन सम्बन्धी कार्ययोजना बनाई सचेतनामूलक कार्यक्रम सञ्चालनको व्यवस्था मिलाउने, वारुणयन्त्र सञ्चालन व्यवस्थापनलाई अझ चुस्तदुरुस्त राख्ने तथा थप वारुणयन्त्रको व्यवस्थापन गर्ने, विपद् जोखिम न्यूनीकरणका लागि पूर्व तयारीमा सबै सरोकारवाला निकायहरुबीच भइरहेको सहकार्य एवम् समन्वयलाई थप प्रभावकारी बनाउने वैठकले निर्णय गरेको नगरका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।

वैठकमा नगर प्रमुख आचार्यले आयावारीमा भएको आगलागीका घटनामा परी घाइते भएकाहरुको उपचार विभिन्न अस्पतालमा गरिएको र उनीहरुको खर्च नगरपालिकाले गरेको तथा मृतकलाई राहत स्वरुप रकम उपलब्ध गराएको जानकारी गराएका थिए ।

आगलागीबाट क्षति पुगेको उद्योगलाई नगरपालिकाको तर्फबाट गर्नुपर्ने साथ सहयोगका बारेमा कार्यपालिकाको वैठकमा छलफल गरी सवै विषय अध्ययन गरी उपलब्ध गराउने सोच रहेको नगरप्रमुख आचार्यले बताए । नगरप्रमुख आचार्यले विपद् व्यवस्थापन सम्बन्धी ठोस् कानून र उद्योग सञ्चालन ऐन र कार्यविधि मापदण्ड कार्यान्वयन गर्न आग्रह गर्दै कार्यान्वयन भए÷नभएको अनुगमन गर्ने बताएका छन् । नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरपालिकाको दमकल खराव भएर मर्मत सम्भारका लागि पठाएको बताएकी छिन् ।

नगरपालिकाको दमकल नभए पनि नगरप्रमुख उपप्रमुखले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर तत्काल मित्रराष्ट्र भारतका विभिन्न स्थानबाट समेत दमकल बोलाइएको बताए । साथै छिमेकी नगरपालिका, गाउँपालिका लगायत मोरङ र इलाम जिल्लाका नगरपालिका र गाउँपालिकाबाट समेत दमकल बोलाइएको जानकारी दिइन् ।

बैठकमा नेकपा एमाले मेचीनगर अध्यक्ष खेमराज (राजु) पोखरेल, जनता समाजवादी पार्टी नेपालका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्ग, नेकपा माओवादी केन्द्रका मेचीनगर सचिव ज्ञानेन्द्रकुमार घिमिरे, मेची उद्योग बणिज्य संघ मेचीनगरका अध्यक्ष ऋषिराज तिम्सिना, उद्योग उपाध्यक्ष कपिल क्षेत्री, सचिव रवि नेपाल सहभागी थिए ।

त्यस्तै काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष राजकुमार पराजुली, खानेपानी उपभोक्ता तथा सरसफाई समितिका धुलावारीका अध्यक्ष अजय घिमिरे, खानेपानी उपभोक्ता तथा सरसफाई समिति चारआलीका अध्यक्ष मधु निरौला, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिल दाहाल, नेपाल रेडक्रस सोसाइटी उपशाखा मेचीनगर अध्यक्ष कुसुम कोइराला, नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इञ्जिनियर कमल कोइराला, पूर्वाधार विकास समिति संयोजक कृष्ण कनाल, आर्थिक विकास शाखा प्रमुख दीपेन्द्र कार्की, विधेयक समिति संयोजक कुसुम चौधरी, सुशासन तथा क्षमता विकास समिति संयोजक बिन्दा प्रसाईलगायतको बैठकमा सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here