कथा

‘ऊ क्यात ! टटुवाले नेपालबाट राजासित मिलेर नगरा निशान लिएर आएछन् । बेलुका डंकोट गाउँमै बास बसे । उनले राजासित बस्ती बसाउने, रैती राख्ने हक लिएर आका’रछन् । बेलुका कुरा हुँदा हाम्रा रामेका बा र उसका साइँला बडीबा र जेठी बडीमा पनि पो लिम्बुवानमा टटुवासितै जाने भए । मलाई भर्खर बिहे गरेर ल्याएको थियो । मलाई सोध्नेपुछ्ने कामै के थियो र ? त्यतिखेर रामे पनि जन्मेको थिएन । बिहान साइँला जेठाजुले पो लौ सुब्बा टटुवासितै जाउँ । उता ठाउँ पनि हेरिने । ‘टटुवाले लालमोहर देखाए । ठूलै मान्छे र’छन् । उनलाई ‘साहु लगेर राख्नू, त्यसो गर्दा नगद कारोबार गर्दा सजिलो हुन्छ’ भनेर राजाले भनेका र’छन् । उनी साहु खोज्दै यता पसेछन् । हामी पनि लादुङे खड्कासित कति झगडा गर्नु ! जेठा बडीबाका सन्तानले नै झगडा गरुन् ।’ ए कान्छा ! जेठी भाउजू पनि जान्छु भन्छिन् । तयार होओ । जानुपर्छ भनेँ ‘हाम्रा जाहान त के दाजुले भनेपछि पुगिहाल्यो । हाम्रो बीचमा राम्रो बोलचाल पनि खुलेको थिएन । उनले इशारा गरे, मैले पनि जान्छु भन्ने इशारा गरेर आइयो । अहिले यहाँ पाउनुसम्मको दुःख पाइयो ।’ सुलक्षणाले साइँली भोटेनीसित होडाको भस्मेमा आगो लाउँदै भनिन् ।
होडाका ओली–परिवारहरू मल्लकालमै सल्यान पाल्पाबाट आएर दोलखाको दुमकोट र मल्दुङ विर्ता पाएर बसेका रहेछन् । त्यहाँ कति वर्षसम्म बसे, त्यो त इतिहासको विषय भएको छ । तर, यता आठराई होडामा आएर बसेको चाहिँ प्रस्ट छ । नेपालका राजासित टटुवाहाङ् कन्दङ्वाले जुन दिन लालमोहर लिएर लिम्बुवानको ठेक्का थितिको थप नगरा लिएर आए त्यही तिथिमितिदेखि आठराई ईवा–होडामा ओलीहरू आएर खुर्पाठ्याक लगाएर जङ्गल फाँडेर बसेका हुन् । उता निगुरादिनका ओलीहरु अलि पछि आएका हुन् । कन्दङ्वाहरूका पहिला साहु उप्रेतीहरू (कालुका सन्तानहरू) भनिए पनि ऐतिहासिक दस्तावेजका आधारमा ईवाका र होडाका ओलीहरू नै हुन् । सुलक्षणाको भनाइ, साँहिली भोटेनीसितको बात मराइले यही कुरो जनाउँछ ।
‘उता डङ्कोटमा विर्तावालको कान्छी बुहारी भएर कत्रो सुख थियो, त्याँ भातभान्छाबाट बाहिर निस्कनु पर्दैन थियो । । सबै चाकरले गर्थे । घर्ती घर्तेना थिए । यहाँ आएर अझ ठूलो सुख होला भनेको त– खोइ साइँली चार–चार भाइ छोरा र दुई बहिनी छोरी जन्मिए । हाम्रा लोग्नेहरूको चाल उही हो, उही विर्तावालका छोराहरूको जस्तो । यहाँ भने छोराछोरीलाई पेट नै भर्न मुस्किल प¥यो । यी हेर न आज रामेले भातै खाएन । उ तल गुन्जे भोटेहरू भोलि दोर्जेलिङ जाने अरे बाटो खन्न । ऊ पनि जान्छु भन्छ । भरखर १२ बाट १३ मात्र टेकेको छ । यस्ता कलिला केटाहरूले के बाटो खन्लान् र ?’ साइँली भोटेनी नलिनीसँग सुलक्षणा यसरी बात मार्दै थिइन् । गुन्जे र उनको छोरो राम आइपुगे । उसका अरु भाइहरू, बैजे, काशे, लक्षे लालपाते फूलको हाँगो भाँचेर घोडा कुदाउने खेल खेल्दै थिए ।
‘ए गुन्जे नानी, तिमीहरू उता दोर्जेलिङ जाने अरे हो ?’
‘हो किन मुखिनी ?’
‘यो रामे पनि जान्छु भन्छ । यसले के काम गर्ला र त्यहाँ ? सानै छ । उही हलक्क बडेको तुम्बे बाँसको तामा जस्तो मात्रै छ यो ।’
‘हुन त हो नि मुखिनी । मैले पनि तिमी यसपाली नजाऊ, अर्को पाला लैजाउँला भनेको मान्दै मान्दैन ठूले । त्यसैले ठूलेले (रामे) ढिपी गरेर आमालाई भन्देऊ न साइलाउ भनेर दिक्क लाएर आएको । सल्लाह भनेर पठाइ दि हाल । हामी बाटो खनौँला । ऊ सानै छ, उसलाई हाम्रो भात पकाउन लाउँला ।’
‘आमा ! हुन्छ भन त । हाम्रा गुन्जे साइलाउको सल्लाह मान त ।’ रामे उफ्रियो । सुलक्षणाले नाइनास्ती गर्न सकिनन् । लोग्ने परलोक भएकै साल सुलक्षणाले छोरो रामेलाई ज्यालादारी खेतालमा दोर्जेलिङ पठाउने निधो गरिन् । यो निर्णय होडाका ओली परिवारको भाग्य निर्माणको घडी थियो ।
‘होडामा रामचन्द्र ओली सुनका पैसा दोर्जेलिङबाट लिएर आएको छ’ भन्ने हल्ला आठराई भरि फैलियो । कालीकाका धनपति विमली त हेर्नै भनेर झरेछन् । दस ओटा असर्फी ल्याएका थिए उनले । त्यो बेला सुनकै रुपैयाँ चल्थ्यो, तर सबैतिर होइन ।
‘ओहो कस्ता चम्किने हुँदा र’छन् त सुनका रुप’ धनपति विमलीले हाँस्दै हातमा लिँदै भने– रामचन्द्र ओली हाम्रो बालककालको साथी तँ सारै भाग्यमानी र’छस् । अझ पनि तैंले के–के गर्छस् । १३ वर्षकै उमेरमा असर्फी कमाइस् ।’
धनपतिले भने– ‘यो मैले कमाएको होइन । यो त हाम्रा गुन्जे साइँलाउले कमाइ दिएको हो । गुन्जे साइलाउ साह्रै असल मान्छे ।’
‘को गुन्जे ?’
‘यही हाम्रा गाउँका लालमोहरिया गुन्जे साइँलाउ क्या त । उनैले मलाई साथमा लगाएर लगेका दोर्जेलिङ ।’
‘ए त्यो भोटे साइँलो, हो तिम्रो साइँलाउ ?’
‘त्यो भोटे तेरो भावी र छ । त्यसलाई नछोड्नू, त्यसले भनेको मान्नू ।’ धनपतिले रामचन्द्रको हात समात्दै भन्यो । रामचन्द्रका भाइहरू, सुलक्षणा, धनपति सबैले सिकुवाको परालको गुन्द्रीमा रामचन्द्रले आमालाई थैलीबाट झिकेर देखाउन लाएका सुनका रुपे हेरे । सुन टलल टल्क्यो, सबैका आँखा सुनका मुद्रामा परे । ‘एकदम काँचो सुनका रुपे र’छन् । ‘यो कुइरेले पनि मुङ्लानमा थुप्रै काम गरेछ । काम गर्ने खेतालालाई त यस्ता सुनका रुपे दिन्छ भने उसले कति सुख गरेको होला’ –धनपतिले पहिले मनमनै भने अनि सुनिने गरी भने ।
सुलक्षणाले बिस्तारै भनिन्– ‘त्यो सबै टटुवाहाङ्ले गर्दा भएको हो । उनले नै यहाँ जाउँ भनेर ल्याएर यी सबै यहीँ जन्मेर त्यसपछि यस गाउँका तामाङहरूको राम्रो मद्दत छ । गुन्जे नानीले दोर्जेलिङ लगेर यो काम गराए ।’ सुलक्षणाले भनिसकेकै थिइनन्, गुन्जे साइँलो आइपुगे । उनले हाँस्तै भने– ‘यो त केही होइन मुखिनी । यो रामेले त गोरा सावलाई रिझाएको छ । यसपालि त दशवटा मात्र सुनका रुपे ल्यायो । अर्को पालि यसले एक धोक्रै सुनको रुपे ल्याउँछ । यो त मेरो छोराभन्दा प्यारो भएको छ ।’
‘साइँलाउ पनि’ भन्दै रामचन्द्रले भने । सुलक्षणाले सुनका रुपे थैलीमा हालिन् । काशे र लक्षेले थैली हेरे । तर, त्यतिखेर त्यो भेगमा किनेर खाने केही पनि पाइँदैनथ्यो । त्यो बेला किन्ने बेच्ने भनेको जमीन, पशु र अन्नमात्र थियो । कपडा अन्नले साट्ने चलन थियो । रुपियाँ पैसा जे भेटे पनि हेर्नु र खेलाउनु मात्रै थियो केटाकेटीहरूका लागि ।
सुलक्षणाका चारभाइ छोरा र दुईबहिनी छोरी थिए । सुलक्षणा आज ८० वर्षको आयुमा मृत्युशय्यामा छिन् । लोग्ने हृदयानन्द मरेको ३० वर्ष पछिको यो घटना हो । उनले साना लालाबालाहरूको लिम्बुवानमा लालनपालन गरिन् एक्लै बिहेदान गरिन् एक्लै । आजसम्म उनलाई सबैले इज्जतै गरे । कसैले पनि ठाडो शिर उठाएर उनलाई हेरेनन् विधवा जीवनमा पनि । लिम्बुवानका कन्दङ्वाहरू, इनाम्फेहरू, मिश्र पुरेतहरू, उप्रेतीहरू, प्रसाईंहरू, संग्रौलाहरू, सिटौलाहरू, बिमलीहरू, थपलियाहरू सबैले होडाका ओलीहरू भनेर मानै गरे, इज्जतै गरे । सुलक्षणा जीउभरी सुनका गहना लाएर पँहेलपुर छिन् । चारै भाइ छोराहरू लप्टन, मुखिया, सुवेदारको पद पगरी पाएर सुन झैँ चम्किला छन् ।
छोरीहरू पनि असल कुटुम्बहरूका रेखदेखमा राम्रिएकै छन् । उनका सामु अहिले उनका पतिमात्र छैनन्, अरु सबै छन् । मुख्य कुरो टटुवाकै सन्तानहरूको मितेरी नाता छ । इनाम्फेहरूको हितेरीमितेरी गाँठोमा कसिएको छ उनीहरूको व्यवहार । अझ गहिरिएर विचार गर्दा गुन्जे तामाङहरूकै पाखुरे बलबाट उनका छोराहरू पनि पाखुरी बलका बलवान भएका हुन् । सुलक्षणाको अन्तिम अवस्था आइसकेको थियो । उनले रामचन्द्रका हात उनका दाहिने हातले समाउँदै विस्तारै भनिन्, ‘रामु…छोरा… अब मेरो जाने दिन आयो । तैँले यी साना भाइहरू हुर्काइस्, बढाइस्, राम्रो पारिस् । तर, यी अझै केही जान्दैनन् । यिनलाई मान्छे बनाउनु ल । अरु गाउँघर, वरपर, तलमाथि (माथि याकुम्बा गढीदेखि तल प्याँगे दोभानसम्म) सबैको राम्रो गर्नु । टटुवा र मार्कण्डका सन्तानसँग मिलेर बस्नु, मिलेरै खानु । ए… रामे… मिल्नुभन्दा ठूलो संसारमा ठूलो कुरो केही छैन । तिमीहरू सबैसित मिलेर बस्नु, पाखुरी बजारेर काम गर्नु । पाखुरीको पौरख खानु । अर्काको भनेपछि एउटा सियोसम्म पनि नछुनु ।’ उनले प्याक्क मुख बाइन् । रामचन्द्रले पञ्चरत्न आमाको मुखमा ख्वाए ।
आजसम्म होडाका ओलीको कूललाई सुलक्षणाको कुल भन्छन् । अहिलेसम्म पनि सुलक्षणाको अर्ती मानेर होला होडाका ओलीहरू पाखुरीको बलमा विश्वास गर्छन् । उनीहरू अर्काको सित्तैमा एउटा सियोसम्म पनि लिँदैनन् । मान्छेहरू भन्छन्– आमा हुनु त सुलक्षणा जस्तो पो हुनु– जसका सन्तानहरू सदासर्वदा दाँते पाखुरीको बलमा बाँचेका छन् ।



























