म्यादी प्रहरी आवेदनको सन्देश

११ चैत्र २०७८, शुक्रबार मा प्रकाशित

नयाँ संविधान जारी भएपछिको स्थानीय तहको दोस्रो निर्वाचनको चहलपहल बढेको छ । आउँदो वैशाख ३० गते हुने निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी तीब्र गतिमा भइरहेको निर्वाचन आयोगले पनि जनाइसकेको छ । आन्तरिक व्यवस्थापनदेखि प्राविधिक विषयहरु निरन्तर भइरहेको र निर्वाचनको आन्तरिक सुरक्षाका लागि अस्थायी प्रहरी व्यवस्थापन सम्बन्धी काम पनि जिल्ला–जिल्लामा सञ्चालन भइरहेको छ । यसक्रममा निर्वाचन आयोगको कार्यनिर्देशन अनुसार सतहत्तर वटै जिल्लामा म्यादी प्रहरीका लागि आवेदन खुल्ला गरिएको छ । करिब चालीस दिनका लागि खुलाइएको म्यादी प्रहरी सेवाका लागि हालसम्म डेढ लाखभन्दा बढीले आवेदन दिइसकेका छन् ।

निवेदन खुल्ला गरेको तीन दिनमै आवश्यक संख्याभन्दा दुई गुणा बढी आवेदन परेको छ । भद्रपुरको प्रदेश प्रहरी कार्यालय विपद् व्यवस्थापन गुल्ममा यतिखेर निवेदन दिन आउनेहरुको उल्लेख्य सहभागिता छ । झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले अहिले सयौंको संख्यामा निवेदन दर्ता भइरहेको बताउँदै पचास वर्ष उमेरसम्मका व्यक्ति अल्पकालीन प्रहरी सेवामा आउन इच्छुक रहेको जानकारी दिए । झापामा दुई हजार सात सय चौसठ्ठी जनाले म्यादी प्रहरी सेवामा सहभागी हुन पाउनेछन् । तर, आवेदन खुलेको तीन दिनमै त्यसको दोब्बर अर्थात् चार हजार जनाको निवेदन परिसकेको छ ।

निर्वाचनलाई लक्षित गर्दै देशभरका लागि एक लाख म्यादी प्रहरीको माग भएको छ । एक हप्ताको म्याद राखेर खुल्ला गरिएको विज्ञापन अनुसार उम्मेद्वारको छनौट स्वास्थ्य परीक्षण, लिखित, प्रयोगात्मक परीक्षा र अन्तरवार्ता विधिबाट गरिन्छ । यसका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालयका प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी बल, अनुसन्धान विभाग र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सम्मिलित छनौट समिति गठन गरिएको छ । सामान्य लेखपढ गर्न सक्नेले समेत आवेदन गर्न पाउने म्यादी प्रहरीमा भर्ना हुन स्नातकोत्तर गरेका युवाले समेत आवेदन दिइरहेका छन् । यसले हाम्रो वेरोजगारी र गरिबीको अवस्थाको चित्र उतारेको छ । त्यसैले अब बन्ने सरकारको प्राथमिकता पनि रोजगारीको सृजना गर्नेतर्फ उन्मुख हुनुपर्छ भन्ने सन्देश म्यादी प्रहरी सेवाका लागि इच्छुकहरुको संख्या र भीडले दिएको छ । यतातर्फ सम्बद्ध पक्षको गहिरो ध्यानाकर्षण हुनुपर्दछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here